सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘घनश्याम दाइले मरुभूमिमा मूल फुटाउने सम्भावना छैन’

वामदेव कमरेड चाहेर पनि आउन सक्नुभएन : रामकुमारी झाँक्री
मङ्गलबार, १८ माघ २०७८, १० : ४१
मङ्गलबार, १८ माघ २०७८

नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपाललाई साथ दिएकी युवा नेतृ रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीकी केन्द्रीय पदाधिकारी (सचिव) हुन् । एमालेमा हुँदा घनश्याम भुसाल, योगेश भट्टराईहरूको समूहमा रहेकी झाँक्रीले अहिले एमालेमै रहेकी घनश्याम भुसालका बारेमा कस्तो विश्लेषण गर्लिन् ? यो निकै चासोको विषय हो ।

हाल शेरबहादुर देउवा नेतृत्वको सरकारमा शहरी विकास मन्त्री रहेकी झाँक्रीलाई रातोपाटीले केही राजनीतिक प्रश्न सोधेको छ । अब घनश्याम भुसाल एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा आउने सम्भावना छ कि छैन भन्ने प्रश्न पनि हामीले सोधेका छौं । र, एमालेको तेस्रो धारको भविष्यका बारेमा पनि झाँक्रीको विश्लेषण पाठकसमक्ष पस्केका छौं ।

माधव नेपाल नेतृत्वको पार्टीमा वामदेव गौतम प्रवेश गर्न नसक्नुको कारण ‘जबज’ रहेको झाँक्रीको  विश्लेषण छ । उनी भन्छिन्, ‘अलिकति हाम्रो केही तदर्थ कामहरू भए । यसले गर्दा जबज आदि–इत्यादिका कारण वामदेव कमरेड चाहेर पनि आउन सक्नुभएन ।’

अब घनश्याम भुसाल एमाले छाडेर समाजवादीमा आउने सम्भावना छ कि छैन ? यसमा झाँक्रीको जवाफ छ, ‘मैले अन्तिमसम्म आश गरेकी थिएँ तर हामी फरक बाटो लाग्यौं ।... उहाँ त्यहाँ रहने र आफ्नो राजनीतिक भविष्य बनाउने सम्भावना करिब–करिब जीरो नै हो । त्यो मरुभूमिमा मूल फुटाउँछु भनेजस्तै हो । तर, अहिले उहाँको जुन कण्डिसन छ, त्यही आधारमा सर्लक्कै यता आइहाल्नुहुन्छ भन्ने पनि लाग्दैन ।’

प्रस्तुत छ, एकीकृत समाजवादी पार्टीकी नेतृ झाँक्रीसँग पार्टीको अवस्था, सहरी विकास मन्त्रालयका उनले गरेका कामहरू र ‘पिर्के सलामी’ लगायतका विषयमा रातोपाटीले गरेको लामो भिडियो अन्तरवार्ताको एक अंश–

एमालेबाट विद्रोह गरेर माधव नेपाल नेतृत्वको पार्टीभित्र अहिले निराशा छ कि उत्साह ?

उत्साहप्रद नै छ । किनभने, एमालेको विधान सम्मेलन हेरौं, महाधिवेशन हेरौं भनेर पर्खनुभएका धेरै साथीहरू हुनुहुन्थ्यो, जसका कारण केही अलमलमा भएका साथीहरू अहिले फटाफट खुल्नुभएको छ । उदाहरणका लागि– मेरै गुल्मी जिल्लाबाट एकजना जनप्रतिनिधिले पनि नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिएनन् । अहिले जिसस सदस्यदेखि लिएर अरु साथीहरू क्रमशः खुल्नुभएको छ । अब चुनाव घोषणा गर्ने भएपछि त धेरै साथीहरू आउनुहुन्छ पनि होला ।

नेपालभरिमा सबैभन्दा कमजोर गण्डकी, लुम्बिनी । लुम्बिनीभित्रको गुल्मी, जहाँ समाजवादी आन्दोलनलाई कमजोर भनेर बाहिर जुन स्केच गरिराखेका थियौं, त्यहाँ पनि अहिले उत्साहप्रद अवस्था छ । पहिले एमालेको कार्यक्रममा हिँड्दा हामी जस्तो जनसहभागिता भेट्थ्यौं, जाजरकोट, दैलेख, सल्यान जहाँ जाँदा पनि हलहरू खचाखच हुने, माइकले नभ्याउने स्थिति अहिले पनि छ । माधव कमरेडले पनि आफैं फोटो खिचेर हालिरहनुभएको हुन्छ, पार्टीका केन्द्रीय सदस्य, पोलिटब्यूरोहरूको ग्रुपमा सेयर गरेका फोटोहरू हेर्दा पूर्वएमालेकै कार्यक्रममा हामी सहभागी हुँदाखेरिकै जस्तो सहभागिता देखिन्छ । यसले गर्दा पनि उत्साहप्रद नै छ ।

जब एजेण्डामा मिलेनौँ, त्यसपछि हामी आ–आफ्नो बाटो लाग्यौं, सैद्धान्तिक हिसाबले सक्कियो । भिन्नता छ भने त्यहाँ बहस गर्नुको अर्थै छैन । एकले अर्कोलाई आरोप लगाउनुको अर्थै छैन । योगेश दाइ धेरै पहिलेदेखि नै, चैतदेखि नै धेरै क्लियर हुनुहुन्थ्यो । योगेश दाइ आफ्नो एजेन्डामा क्लियर हुनुहुन्थ्यो । घनश्याम दाइका केही सैद्धान्तिक, केही राजनीतिक कुराहरू थिए ।

अलिकति हाम्रो ‘ल्याप्सेज’ चाहिँ कहाँनेर भएको छ भने विचार, राजनीतिको डकुमेन्टेसनका काम पनि भएका छन् तर त्यसमा केही तदर्थ कामहरू भए । जस्तो– विचारका बारेमा अर्को राष्ट्रिय सम्मेलनमा छलफल गर्ने भन्ने कुरा गर्यौं । यसले गर्दा जबज आदि इत्यादिका कारण वामदेव कमरेडलगायतका कारण केही मान्छेहरू यता चाहेर पनि आउन सक्नुभएन । वामदेव कमरेडसँगै केही कामरेडहरू त्यता रहँदा तल केही सक्रिय साथीहरू पनि बाँकी हुनुहुन्छ । यो ‘कम्पोनेन्ट’ लाई छिटो सम्वोधन गर्न खोजेजस्तो लाग्छ । अहिले विविधखालका वाम घटकहरूको धमाधम एकीकरण हुने कामचाहिँ भइराखेको छ । एकीकरण भएर आइरहनुभएको छ ।

एमाले भत्किने प्रक्रिया निरन्तर जारी छ र त्यहाँबाट पनि मान्छेहरू आइरहनुभएको छ । हाम्रो गुल्मीमा त लगभग दुईचोटि कमिटी पुनर्गठन भइसक्यो । सुरुमा सिनियर साथीहरू कोही आउनुभएन, जुनियर साथीहरूलाई नेतृत्वमा ल्यायौं । सिनियरहरू आइसकेपछि त्यस्तो अवस्था भयो ।

तपाईं नेकपा एमालेमा हुँदा घनश्याम भुसाल, योगेश भट्टराईहरूसँग वैचारिक हिसाबले पनि र आन्दोलन अनि पुस्ताको हिसाबले नजिक हुनुहुन्थ्यो । उहाँहरू एमालेमै रहनुभयो, तपाईंले विद्रोह गर्नुभयो । अहिले उहाँहरूसँग कुराकानी हुन्छ कि हुँदैन ? र, एमालेभित्र घनश्याम भुसालहरूको अवस्थालाई यहाँले कसरी नियालिरहनुभएको छ ? उहाँहरूले त रामकुमारीले गल्ती गरी भन्नुहुन्छ होला....

जब एजेण्डामा मिलेनौँ, त्यसपछि हामी आ–आफ्नो बाटो लाग्यौं, सैद्धान्तिक हिसाबले सक्कियो । भिन्नता छ भने त्यहाँ बहस गर्नुको अर्थै छैन । एकले अर्कोलाई आरोप लगाउनुको अर्थै छैन । योगेश दाइ धेरै पहिलेदेखि नै, चैतदेखि नै धेरै क्लियर हुनुहुन्थ्यो । योगेश दाइ आफ्नो एजेन्डामा क्लियर हुनुहुन्थ्यो । घनश्याम दाइका केही सैद्धान्तिक, केही राजनीतिक कुराहरू थिए ।

अन्तिमसम्म, भदौ ९ गतेको सनाखतका बेला पनि हामीले निर्वाचन आयोगमा धेरै रस्साकसी गर्यौं । केही मान्छे थपिने कुरा केही ओपन हुन्छ कि भनेर हामीले राख्यौं । पछि सोमप्रसाद पाण्डेले सनाखत त गर्न पाउनुभो, तर त्यो बाहेक पार्टी विभाजनमा सानाखत गर्न जाँदा निकै डिबेट भएको थियो । घनश्याम दाइको चाहिँ के थियो भने कि माधव नेपालसहितकै पार्टी एक हुन्छ, कि माधव नेपालसहित नै पार्टी विभाजन हुन्छ भन्ने कुरा उहाँले गर्दै गर्दा मैले अन्तिमसम्म आश गरेकी थिएँ । तर, हामी फरक बाटो लाग्यौं ।

त्यसपछि पोलिटिकल एजेण्डामा खास गफ भएन । व्यक्तिगत सञ्चो बिसञ्चोका मात्रै कुरा हुने नै भए । म मन्त्री भएपछि उहाँले फोन गर्नुभयो । बधाइ दिनुभयो । उहाँहरूसँग यदाकदा जम्काभेट हुन्छ । कहिले एयरपोर्टमा भेट हुन्छ । सामान्य हाइहेल्लो मात्रै हुन्छ, राजनीतिक गफचाहिँ गरेको छैन मैले ।

त्यतिबेला सच्याउन सम्भव हुन्थ्यो होला, जतिबेला हामीसहित एमालेमा रहन्थ्यौँ । तर, हामीबाहेकको तेस्रो धारलाई त ओलीले कहाँनेर गन्नुभयो त ? त्यो त कुनै अस्तित्वमै छैन त्यहाँ । ओली प्रवृत्तिलाई आत्मसाथ गर्नेहरू थोरथोरै ‘एडजस्ट’ हुँदै आए । तर, ओलीलाई पनि करेक्सन गर्दै एउटा लोकतान्त्रिक बाटोसम्म लैजाऔँ भन्नेहरूको त कहाँनेर स्पेस रह्यो त ?

नेकपा एमालेभित्र रहेको तेस्रो धारको भविष्य तपाईं कस्तो देख्नुहुन्छ ?

तेस्रो धार भैदिएको भए राम्रो हुन्थ्यो, तर उहाँहरूले स्थापित गर्न सक्नुभएन । सक्न पनि गाह्रो देख्छु म । किनभने, चितवनको महाधिवेशनमा वैचारिक–राजनीतिक स्पेस बनाउनुपर्थ्यो । कि चाहिँ  १० जनाले हामीसहित विद्रोह गर्नुपर्थ्यो । त्यसो गरेको भए यतातिर हामीले अर्को आकारको पार्टी बनाइसक्थ्यौँ । संख्याको हिसाबले त यस्तै हुँदोहोला, तर मनोवैज्ञानिक हिसाबले ठूलै म्यासेज हुन्थ्यो ।

एमालेमा रहेर उहाँहरूले तेस्रो धार अथवा आफ्नो फरकपनाबारे जे गफ गर्नुहुन्थ्यो, त्यो स्थापित गर्न सक्नुभएन । त्यसले गर्दा एमालेमा जुन नेतृत्व छ, त्यो रहिरहँदासम्म उहाँहरूले स्पेस बनाउनुहुन्छ जस्तो लाग्दैन ।  उहाँहरूले नेतृत्व फेर्नुभयो भनेचाहिँ अलग कुरा होला । प्रतिस्पर्धा भयो भने बेग्लै कुरा हो । किनभने, एमाले भन्ने पार्टीमा लोकतन्त्रको यस्तो उपहास भयो कि अध्यक्षले खल्तीबाट नाम पढेर सुनाउनुभो । तीनै नामहरूमा भजनमण्डलीले भोट हाले । उहाँहरूको फरक राजनीति भन्ने त एक–दुई प्रतिशत पनि स्वीकार भएन । जो ओलीसँग मिले, उनीहरूले अलिअलि स्पेस पाए । जसले केही फरकपन राख्नुहुन्थ्यो, उहाँहरूले केही पनि पाउनुभएन । ओली नेतृत्वमा रहुञ्जेलसम्म उहाँहरूले खासै केही पाउनुहुन्छ जस्तो पनि लाग्दैन ।

एमालेभित्रै अन्तरसंघर्ष गरेर पार्टीलाई सच्याउन सकिन्छ भन्ने भुसालजीहरूको लाइन थियो । तपाईंहरू चाहिँ केपी ओली नेतृत्वमा रहुञ्जेल यो काम असम्भव छ भनेर बाहिरिनुभयो । ओलीलाई सच्याउँछौं भनेर १० बुँदे सहमति गर्नेहरू असफल भएकै हुन् त ?

त्यतिबेला सच्याउन सम्भव हुन्थ्यो होला, जतिबेला हामीसहित एमालेमा रहन्थ्यौँ । तर, हामीबाहेकको तेस्रो धारलाई त ओलीले कहाँनेर गन्नुभयो त ? त्यो त कुनै अस्तित्वमै छैन त्यहाँ । ओली प्रवृत्तिलाई आत्मसाथ गर्नेहरू थोरथोरै ‘एडजस्ट’ हुँदै आए । तर, ओलीलाई पनि करेक्सन गर्दै एउटा लोकतान्त्रिक बाटोसम्म लैजाऔं भन्नेहरूको त कहाँनेर स्पेस रह्यो त ? त्यसकारण हामी सहित रहेको भए हुन सक्थ्यो होला । तर, हामी त त्यहाँ रहने स्थिति नै भएन ।

अब त्यो (एमाले) एउटा कठमुल्लावादी, संरचनावादी पार्टीमात्रै रहन्छ । उहाँहरूले बनाएको ड्रेडमार्क, अग्ला अग्ला पुत्ला, त्यसमुनि होचा मान्छेहरू ङिच्च हाँसेको.... यी जम्मै कुराले राजनीतिक वैचारिक कुरा कति सत्यनाश भयो भन्ने देखिन्छ । महाधिवेशनबाट त झन् देखियो । विधान महाधिवेशनका कुनै कुराहरू मानिएन । त्यसकारण एमालेमा तेस्रो धार, अर्को वैचारिक राजनीतिक मान्छे वा समूह त्यहाँ जिवित रहन्छ भन्ने लाग्दैन ।

किन ‘म्याच फिक्सिङ’ ? हाम्रो त घोषितै छ नि त । हामीले त संविधानका लागि । लोकतन्त्रलाई प्रवद्र्धन गर्नका लागि, यो प्रणाली र सिस्टमलाई बचाउनका लागि भनेरै त्यो पार्टीबाट विद्रोह गरेका थियौं नि । यो कारणले गठबन्धनमा हुनु त हाम्रो पहिलो शर्त हो ।

घनश्याम भुसाल एमाले छाडेर तपाईंहरूको नेकपा एकीकृत समाजवादीमा आउने सम्भावना छ ?

उहाँहरूले जतिसक्दो चाँडो त्यहाँबाट विद्रोह गरेर नयाँ ढंगले पार्टी बनाउनुपर्छ । मेरो उहाँ कुरा भएको छैन । अरु नेताहरूको कुरा भएको छ, छैन मलाई थाहा छैन । त्यसकारण म यो विषयमा भन्न सक्दिनँ । उहाँ त्यहाँ (एमालेमा) रहने र आफ्नो राजनीतिक भविश्य बनाउने सम्भावना करिब–करिब जिरो नै हो । त्यो मरुभूमिमा मूल फुटाउँछु भनेजस्तै हो । तर, अहिले उहाँको जुन कण्डिसन छ, त्यही आधारमा सर्लक्कै यता आइहाल्नुहुन्छ भन्ने पनि लाग्दैन ।

तपाईंले अघि एमालेको यो स्थिति खराब देखाउनुभयो, तर उहाँहरूले त आगामी चुनावमा एमाले झनै बलियो भएर आउँछ भनिराख्नुभएको छ त ? केपी ओलीको नेतृत्वमा फेरि सरकार बन्छ भनिरहनुभएको छ । यो राष्ट्रियसभाको चुनावमात्रै तिमीहरूको (गठबन्धनको) अन्तिम विजयोत्सव हो भनिरहनुभएको छ त एमाले नेताहरूले .....

ओली र ओलीका मान्छेहरूले दिएजस्तो प्रतिक्रिया दिन खासै मन लाग्दैन मलाई । जे बोलियो बोलियो, पहिला बोलियो । हाम्रो (गठबन्धनको) अन्तिम विजयोत्सव होइन, हाम्रोचाहिँ सुरुआत हो । र, उहाँहरूको पराजयको शुरुआतचाहिँब् भइराखेको छ । त्यत्रो दुई तिहाईको सरकारबाट हात धुनुभयो । सातवटा प्रदेशबाट हात धुनुभयो । प्रदेश प्रमुखदेखि जम्मै हात धुँदै धुँदै राष्ट्रियसभाबाट पनि हात धोएर १९ सिटमध्ये एक सिट लिएर चित्त बुझाएर बस्नुभएको छ ।

यसलाई त तपाईंहरूले काँग्रेससँग मिलेर ‘म्याच फिक्सिङ’ गरेको भन्न मिल्दैन ?

हैन । किन ‘म्याच फिक्सिङ’ ? हाम्रो त घोषितै छ नि त । हामीले त संविधानका लागि । लोकतन्त्रलाई प्रवद्र्धन गर्नका लागि, यो प्रणाली र सिस्टमलाई बचाउनका लागि भनेरै त्यो पार्टीबाट विद्रोह गरेका थियौं नि । यो कारणले गठबन्धनमा हुनु त हाम्रो पहिलो शर्त हो ।

यो कुरो त तपाईंले भन्नुभयो, तर अब चुनाव हुँदा माधव नेपालको हालत पातलो हुन्छ, कसैले एक सिट पनि जित्दैन त भनिराखेका छन् त ?

त्यो त अब चुनावको चर्चा सुरु भएको छ, सरगर्मी सुरु होला । यो कुरा पनि भविश्यलाई नै छोडिदिऔं । चुनावमा जाँदाखेरि कोचाहिँ सुरक्षित अनि कोचाहिँ असुरक्षित भनेर किन अहिले नै मैले सबै कुराको हिसाब–किताब मिलान गरौं ।

तपाईंहरू चुनाव हार्न पनि तयार हो ?

हामी त भएकै हो । यो कस्तो भयो भने हाम्रा अग्रजहरूको सात दशकको लडाइँ संगठित थियो । नेपाली समाजमा असंगठित विद्रोहहरू पनि तमाम भए ।  हाम्रो पुस्ताले ०६२–०६३ सालसम्म लड्दै गर्दा हाम्रो पुस्ताले केही राजनीतिक मुद्दाहरू ‘क्वाइन’ गरेका थियौं । नखोसिने लोकतन्त्रको सुनिश्चितताका लागि हामी एकपटक लडौं भनेका थियौं । त्यही कारणले हाम्रो पुस्ताका मान्छेलाई हामीले आन्दोलनमा होमेका थियौं । कक्षा कोठाहरू बन्द गराएर, ल्याबमा बसेका विद्यार्थीहरूलाई बाहिर निकालेर, लाइब्रेरीमा बसेका साथीहरूलाई आह्वान गरेर हामी आन्दोलनमा आएका थियौं । त्यसर्थ आफ्नै जीवनमा लोकतन्त्र संकुचन हुने कुराचाहिँ किमार्थ स्वीकार्य छैन ।

त्यसकारण लोकतन्त्रको प्रवर्धनका लागि हाम्रोसमेत मिहेनतले बनाएको संविधानको रक्षाका लागि र सिस्टमलाई बचाउनका लागि हामी सत्यानाश हुन तयारै भएको हो । त्यसकारण चुनावमा को हार्ने र को जित्ने भनेको त अस्थायी मामला हो नि । सिस्टम रह्यो भने प्रतिस्पर्धामा आउने–जाने प्रक्रिया त रहिरहन्छ ।

तपाईंले यसो भन्दैगर्दा माधव नेपाल र प्रचण्डले नै हार्छु भनेर यो सरकारले चुनाव सार्न खोजेको भन्ने आरोप त लाग्यो नि ?

ओलीको कम्पनीका सदस्यले लाएको आरोपलाई कसले पत्याउँछ क्या ! उनका भजनमण्डलीबाहेक कसैले पत्याउँदैन ।

मेरो लोकप्रियता थियो, थिएन, भोलि रहन्छ रहन्न मैले भन्ने कुरा होइन । तर, प्रत्येक पल म परीक्षामा छु । यस मानेमा परीक्षामा छु कि म रामकुमारी झाँक्री व्यक्तिको हिसाबले । महिलाको हिसाबले । मेरो पुस्ताको मान्छेको हिसाबले । यो समाजकी छोरीको हिसाबले । समाजवादी पार्टीको नेताको हिसाबले ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी कुनै भविश्यमा माओवादीसँग एकीकृत हुन्छ ?

भविश्यको निर्धारण त कसले गर्ला र । त्यत्रो दुःख गरेर बनाएको एमाले पार्टी त छाड्यौं । मैले त एमाले दुईचोटि छोडें । तत्काल अहिले पार्टी एकताको सम्भावना एमालेसँग पनि छैन र माओवादीसँग पनि छैन । तर, भविश्यचाहिँ भन्न सकिँदैन । तर, म यति भन्छु कि अरु दुई–चारवटा निर्वाचनमा पार्टी एकताको गुञ्जायसचाहिँ देख्दिनँ । मोर्चाचाहिँ माओवादीसँग हुन सक्छ । गठबन्धन बन्न सक्छ । मोर्चा काँग्रेससँग पनि हुन सक्छ । वामपन्थीको मात्रै पनि हुन सक्छ । थोरै बामपन्थी अहिलेको जसपासँग पनि मोर्चा हुन सक्छ । उपेन्द्र यादव, बाबुराम भट्टराई वामपन्थी रुझानका भएको हुनाले उहाँहरू सहितको पनि मोर्चा हुन सक्छ । हामी छुट्टाछुट्टै पार्टी रहन्छौं, तर मोर्चाचाहिँ बन्न सक्छ । गठबन्धन त काँग्रेससँग पनि हुने नै भइहाल्यो ।

आगामी संसदीय चुनाव त तपाईं गृहजिल्ला गुल्मीबाटै लड्ने होला नि ?

यो पनि अहिले हतारो गरेर के भनिहालौं र । राजनीति गर्ने मान्छेले चुनाव त लड्नुपर्‍यो । क्राइसिसमा त झन् लड्नुपरिहाल्यो । एमाले भइरहेको भए त त्यो पार्टीमा कि हामी त्यहीँ उनीहरूलाई पराजित गर्थ्यौं, कि उनीहरूले जिते पनि हामीलाई सक्थे । अब यहाँ हामीले मेरो निर्णय भन्दा पनि पार्टीको निर्णयले भर गर्छ । किनभने पार्टीका सबै निर्णयहरू संस्थागत हुन्छन् ।

तपाईं जनआन्दोलनकी योद्धा, मन्त्री भइसकेपछि आफ्नो लोकप्रियता घटेको र विरोधीहरू बढेको महसुस भएको छ कि छैन ?

हिजो एमालेको एउटा गुटका मान्छे मेरा विरोधी थिए, अहिले सिंगो एमाले होला । त्यो त मेरो भइ नै हाल्छ । उनीहरू मेरो विरोध गरेर हिँड्ने भइ नै हाले । यी दरिद्र मान्छेका बारेमा मैले के कुरा गर्नु ? उनीहरूका बारेमा कमेन्ट गर्दिनँ ।

अर्को कुरा, म परीक्षामा चाहिँ छु । मेरो लोकप्रियता थियो, थिएन, भोलि रहन्छ रहन्न मैले भन्ने कुरा होइन । तर, प्रत्येक पल म परीक्षामा छु । यस मानेमा परीक्षामा छु कि म रामकुमारी झाँक्री व्यक्तिको हिसाबले । महिलाको हिसाबले । मेरो पुस्ताको मान्छेको हिसाबले । यो समाजकी छोरीको हिसाबले । समाजवादी पार्टीको नेताको हिसाबले । र, यो पार्टीको भविश्यसँग जोडेर मैले यतिवटा क्रस कटिङ ईस्युमा परीक्षा दिइरहेकी छु, यो परीक्षामा मलाई असफल हुने सुविधा छैन । म फेल भएँ भने रामकुमारी भन्नेले ठूला कुरा गर्थी, असफल भई भन्नेछन् ।

मभन्दा पछाडिका मेरा नातिनी पुस्ताका छोरीहरूको पनि मैले परीक्षा दिइरहेको हो । त्यसकारण मैले पास हुनुपर्छ । युवा भनेको खै तिमीहरूले के ग¥यौ त भन्ने हुन्छ, त्यसैले मेरो युवा पुस्ताको परीक्षा हो यो । मेरो पार्टी र आन्दोलनको निष्‍ठासँग पनि जोडिने पार्टीको भविष्यसँग पनि परीक्षा भएको हुनाले असफलताको सुविधा मलाई छैन ।

पूरा अन्तरवार्ताका लागि भिडियो हेर्नुहोस् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप