शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राति ठेलामा चिया बेच्ने मखमलीको सपना : ‘आफैँ होटल खोल्छु’

मङ्गलबार, २५ माघ २०७८, १० : ४६
मङ्गलबार, २५ माघ २०७८

नयाँ बानेश्वरस्थित सिभिल अस्पतालको गेट अगाडि मखमली कार्कीको चिया पसल छ । रामेछापबाट ५ वर्षअघि काठमाडौं आएकी उनी ठेलागाडामा चिया खाजा पसल गर्न थालेको ३ वर्ष बढी भयो । दिउँसोको समयमा उनी एक सहकारी संस्थामा पार्टटाइम काम गर्छिन् । जागिरले मात्र काठमाडौंको खर्च धान्न मुस्किल भएपछि श्रीमान्सँगको सल्लाहमा उनले रात्रीकालीन व्यवसाय सुरु गरिन् ।

‘सटर भाडामा लिएर पसल गर्दा आम्दानी जति सबै भाडा तिर्दै ठिक्क हुन्छ । अस्पतालको अगाडि यहाँ ठेला राखेको भाडा तिर्नुपर्दैन,’ उनी भन्छिन् । तर यहाँ दिउँसो पसल राख्न पाइँदैन । बेलुका ७ बजेपछि उनी चिया बेच्न सुरु गर्छिन् । अहिले कोरोना महामारी भन्दै प्रहरीले राती १० बजे नै पसल उठाइदिन्छ । ‘प्रहरी कतिखेर आउँछन्, डराएर बाटो हेर्नुपर्छ । चिया खाँदै गरेको ग्राहकसमेत लखेट्छन् । ग्राहकलाई पैसा तिर्न पर्दैन, उठेर गैहाल्नुस् भन्दिछन्,’ उनले घडी हेर्दै बोलिन्, ‘आधा पनि खान नपाएको ग्राहकलाई कसरी पैसा तिर्न लाउनु हामीले । दुई चार पैसा होला भनेर रातको निद्रा बिर्सेर पसल गरेका छौ, त्यसरी ग्राहकलाई उठाइदिदाँ मनै कुडिन्छ ।’

यस्तो जाडोमा मान्छे घरभित्र पनि हिटर तापेर बसेका छन् । यो चिसोमा खुला आकाशमुनि बसेर व्यापार गर्न कति गाह्रो छ । यी जुठा भाँडा चिसो पानीले माझ्ने हो । उनले पट्ट फुटेका आफ्नो हात देखाउँदै भनिन्, ‘हेर्नुस् त यी हात चिसो पानीले फुटेका ।’ प्रहरीले राती व्यापार गर्नेहरुलाई ठूलै अपराध गरे जसरी भगाउने गरेकोमा मखमलीको दुःखेसो छ । सरकारले हामीलाई केही गर्नै पर्दैन, बस्, रातभर पसल खोल्न देओ्स् र हाम्रो सुरक्षा । बाँकी आफ्नो लागि हामी आफै सक्षम छौं । काम नगरी त कसैलाई सुख छैन भन्दै उनी मुस्कुराइन् ।

१३ वर्ष अघि बिहे गरेकी मखमलीको एक सन्तान छ । आफूले मन लागेजति पढ्न नपाएकाले छोराले राम्रो स्कुलमा पढोस् भनेर शहर आएको उनको भनाइ छ । सहकारीका काम गर्दा केही बचत पैसा, केही सरसापटी गरेर यो ठेलागाडा र सामान गर्दा १ लाखबाट व्यापार सुरु गरेकी हुन् उनले  । उनी भन्छिन्, ‘लकडाउन नहुँदा व्यापार धेरै राम्रो थियो । एक रातमा ५ हजारदेखि ७ हजारसम्म कमाइ हुन्थ्यो । तर अहिले कारेरोनाले र जाडोले गर्दा पनि मान्छेको चाप कम छ । अर्को रातभर पसल राख्न नपाउँदा व्यापार चौपट छ ।’

मखमलीसंगै सिभिल अस्पताल परिसर अगाडि अरुको पनि रात्रीकालीन पसल थियो । तर कोरोनाले गर्दा भएको लकडाउनले केही व्यवसायी गाउँ फर्किए । अहिले थोरै पसल हुँदा पनि मुस्किलले १५ सयदेखि २ हजार सम्मको व्यापार हुन्छ । कहिले त एक पैसा पनि व्यापार नभएको अनुभव छ । रातभरको निद्रा माया मारेर बस्दा पनि एक रुपैयाँ व्यापार नहुँदा उनलाई नरमाइलो लाग्छ । तर आफ्नो पेट, छोराको पढाइ सम्झेर साँझ हुने बित्तिकै ठेलागाडा रिमोट झैं आफै सिभिल अस्पतालतिर गुड्न थाल्छ ।

मखमली दिउँसो सहकारीको पार्टटाइम जागिर झ्वाट्ट छोड्न सकेकी छैनिन् । श्रीमान् दिउँसो पसलमा चाहिने सामान किन्छन् । पसलमा पनि पहिले श्रीमान् नै ठेलागाडा कुदाएर आउँछन्, उनी घरको काम सकाएर आउँछिन् । दुवैलाई पसलले भ्याइ नभ्याइ हुन्छ । उनीहरु पसलमा हुँदा घरको काम छोराले पनि गर्छ । ‘जागिर गर्यो भने एकजनाले मात्र गर्नुपर्छ । आफ्नै पसल हुँदा घरका सबैजना बिजी भइन्छ । सानै भएपनि आफ्नो व्यवसाय भनेको आफ्नै रहेछ,’ पसलबाट आफूहरु पुर्ण सन्तुष्ट रहेको मखमलीले सुनाइन् ।

धेरैजसो अस्पतालका बिरामी कुरुवादेखि विरामी भेट्न आउनेहरु नै मखमलीको चिया पसलको नियमित ग्राहक हुन् । डाक्टर, नर्स र अन्य स्टाफ पनि नियमित झैं खान्छन् । ट्याक्सी चालक, पठाओ राइडर, बैंकका सेक्युरिटी गार्डहरु पनि चिया, खाजा खान्छन् । भन्छिन्, ‘यो काठमाडौं सहर भनेको कस्तो रहेछ, रातभर ग्राहकहरु चियाको तलतल मेट्न आइरहन्छन् ।’ 

रातीमा कहिलेकाँही जाँड खाएका आबारा केटाहरु पनि आउँछन् । खानेकुरा बनाउन लगाउँछन् । चिया चुरोट खान्छन् र पैसा नतिरी हिँड्छन् । झगडा नै गर्नुपर्ने हुन्छ । झगडा गरेपनि कसैसँग त पैसै हुँदैन । खानु भन्दा अगाडि पैसा छ कि छैन भनेर सोध्न पनि भएन । राम्रो–नराम्रो जस्तो मान्छे आएपनि हाम्रो लागि ग्राहक सबै एकै हुन् । खाएर पैसा नदिएर भाग्ने पनि हुन्छन् । मखमली आफ्ना कुरा एक सासमा सुनाउँछिन् ।

सडकमा पसल छ, कहिले प्रहरी कहिले जँड्याहा सबैसँग लड्दै व्यवसाय गर्नुपर्ने बाध्यता छ उनलाई । तर पनि कुनै गुनासो छैन । दुःख गर्ने ठाउँ छ । कति मान्छेको दुःख गर्छु मेहनत गर्छुभन्दा पनि गर्ने ठाँउ हुदैन । के काम गर्ने भने सोच्न परेको छैन । काम दिनु भनेर कसैको अघि हात जोड्नु परेको छैन । हामीलाई यही सुख छ । पैसा जम्मा गरेर सटर भाडामा लिएरै होटल खोल्ने मखमलीको सपना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप