आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दमकल, एम्बुलेन्स र शववाहन विपद्का सवारी : कस्तो छ स्थानीय सरकारको तयारी ?

बिहीबार, २७ माघ २०७८, १० : ४३
बिहीबार, २७ माघ २०७८

प्राकृतिक विपत्ति र महामारी कहाँ कुन समयमा आउँछ पत्तो हुँदैन । भूकम्प, बाढी पहिरो, आगलागी, महामारीजन्य रोगको प्रकोप बाजा बजाएर आउँदैन ।

यस्ता विपत्तिबाट बच्न, बचाउन जनचेतना जगाउने र यदि भइ हालेमा क्षति न्यूनीकरण गर्ने र उद्धार गर्ने कार्य महत्त्वपूर्ण हुन्छन् । काठमाडौँ उपत्यकाका ३ जिल्लाका स्थानीय निकायले विपत्को समयमा प्रयोग हुने दमकल, एम्बुलेन्स साथै शववाहनको सामान्य तयारी गरेका छन् । काठमाडौँ बाहिरका अधिकांश स्थानीय निकायले एम्बुलेन्स व्यवस्थापन गरे पनि दमकल र शववाहनको व्यवस्था भने थोरैले मात्रै गरेको देखिन्छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय निकायसँग यसबारे कस्तो छ तयारी ?

काठमाडौँ जिल्ला
काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् । तर सबै स्थानीय निकायमा दमकल छैन । 

काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाले दमकल सेवा आफैँले सञ्चालन गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार हाल चार वटा दमकल सुचारु अवस्थामा छन् । दमकल व्यवस्थापन र सञ्चालनको लागि ३० जनाको जनशक्ति  छ । शववाहन भने महानगरले आफै सञ्चालन गरेको छैन । 

शंखरापुर नगरपालिका 
काठमाडौँ जिल्लाको उत्तरपूर्वी क्षेत्रमा रहेको यस नगरपालिकामा दमकलको व्यवस्था छैन । नगरप्रमुख सुवर्ण श्रेष्ठका अनुसार तीन वटा एम्बुलेन्स भने नगरपालिकाले सञ्चालन गरेको छ । 

तारकेश्वर नगरपालिका 
यस नगरपालिकाकी उपप्रमुख भवानी डोटेल धितालका अनुसार दमकल खरिद गरिएको छैन । हाल दुई वटा एम्बुलेन्स भने नगरपालिकाले सञ्चालन गरिरहेको छ । 

कागेश्वरी मनहरा नगरपालिका 

नगरपालिकाका सूचना अधिकारी राजाराम पुडासैनीका अनुसार यो नगरपालिकामा पनि दमकल छैन । चार वटा एम्बुलेन्स र एक शववाहन सञ्चालनमा रहेका छन् । 

बुढानीलकण्ठ नगरपालिका 

यो नगरपालिकामा भने एउटा दमकल छ, जुन नेपाली सेनासँग समन्वय गरेर सञ्चालन गरिन्छ । नगरप्रमुख उद्धवप्रसाद खरेलका अनुसार नगरपालिका आफैँसँग एउटा एम्बुलेन्स र एउटा शववाहन पनि रहेको छ ।

गोकर्णेश्वर नगरपालिका 

नगरपालिकामा प्रवक्ता मनोज कुमार ढुंगानाका अनुसार यस नगरपालिकाले दमकल खरिद गरेको छैन । एम्बुलेन्स भने दुइटा सञ्चालनमा  छन् । नगरपालिकाले शववाहन भने सञ्चालन गरेको छैन । 

टोखा नगरपालिका 

यस नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले भनिन् ‘हामीसँग दमकल र शववाहन छैन, एउटा एम्बुलेन्स छ ।’ नगरपालिका क्षेत्रमा ढलजाम हुँदा खुलाउने मेसिन भने किनिएको छ । 

दक्षिणकाली नगरपालिका 

यो नगरपालिकाले दमकल किनेर सञ्चालन गरको दुई वर्ष मात्रै भएको छ । दुई वटा एम्बुलेन्स पनि रहेको उपप्रमुख बसन्ती तामाङ्ग डंगोलले बताइन् । ‘शववाहन भने  खरिद गरेका छैनौं’ उनले भनिन् ।

चन्द्रागिरि नगरपालिका 

उपत्यकामा दमकल भएको तेस्रो नगरपालिका चन्द्रागिरि हो । प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलका अनुसार नगरपालिका आफैँसँग एउटा एम्बुलेन्स पनि छ । शववाहन भने यो नगरपालिकाले पनि किनेको छैन । 

कीर्तिपुर नगरपालिका 

यो नगरपालिकासँग पनि दमकल छैन । दुईवटा एम्बुलेन्स छ, शववाहन छैन । उपप्रमुख सरस्वती खड्काका अनुसार दमकल किन्ने भन्दा भन्दै सकिएन । 

नागार्जुन नगरपालिका 

नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीका अनुसार यस नगरपालिकासँग दमकल छैन । एक÷एक वटा एम्बुलेन्स र शववाहन भने रहेको छ । 

ललितपुर जिल्लाः 

यस जिल्लामा ६ स्थानीय सरकार छन् । जसमा एक महानगर, दुई नगरपालिका र ३ गाउँपालिका छन् । यहाँ कस्तो छ त, विपद् व्यवस्थापनको तयारी ?

ललितपुर महानगरपालिका 

यस महानगरले नगर प्रहरीको समन्वयमा दमकल, एम्बुलेन्स र शववाहन सेवा सञ्चालन गरेको छ । महानगरपालिकामा चालु अवस्थामा ३ दमकल रहेका छन् । महानगरपालिकासँग एउटा एम्बुलेन्स र एउटा शववाहन छ । ‘आगलागीको जोखिमलाई कम गर्न अब रिङ्गरोड बाहिर पनि दमकलको शाखा राख्नुपर्ने देखिन्छ’ नगरप्रहरी प्रमुख सिताराम हाछेथुले भने,‘हाम्रो कार्यालय भएको स्थानबाट अन्यत्र जानु पर्दा जामको कारणले समयमै पुग्न नसक्ने भएकाले त्यसबारे सोच्नुपर्ने बेला भएको छ ।’

गोदावरी नगरपालिका 

नगरप्रमुख गजेन्द्र महर्जनका अनुसार यस नगरपालिकाले दमकल खरिद गरेको छैन । नगरपालिका आफैले र यसको क्षेत्रभित्र ८ वटा एम्बुलेन्स सञ्चालनमा छ । शववाहन भने छैन । आगलागीको घटना हुँदा ललितपुर महानगरसँग समन्वय दमकल बोलाउने गरिएको छ । 

महालक्ष्मी नगरपालिका 

दमकल नभएको यो नगरपालिकाले एम्बुलेन्स भने दुई वटा सञ्चालन गरेको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठका अनुसार शववाहन भने खरिद गरेको छ । 

भक्तपुर जिल्ला 

भक्तपुरमा चार वटा स्थानीय सरकार छन् । दमकलका लागि यहाँ सबैको भर जुद्ध वारुण यन्त्र हो । सानो जिल्ला र भौगोलिक सहजताका कारण वारुण यन्त्रले नै सहयोग गर्दै आइरहेको छ । यहाँ थप कस्तो छ त, विपद् व्यवस्थापनको तयारी ?

भक्तपुर नगरपालिका

‘यस नगरपालिकाले दुई वटा एम्बुलेन्स र एउटा शववाहन सञ्चालन गरेको छ,’ सूचना अधिकारी दामोदर सुवालले भने । दमकलको लागि जुद्धबारुण यन्त्रसंग समन्वय गर्ने गरेको उनले बताए । 

चाँगुनारायण नगरपालिका

यस नगरपालिका आफैँले तीन वटा एम्बुलेन्स चलाउदै आएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । शववाहनका लागि भने अन्य संस्थाको सहयोग लिइएको छ । 

सूर्यविनायक नगरपालिका

यस नगरपालिकाले एउटा एम्बुलेन्स सञ्चालन गरेको नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले जानकारी दिइन् । शववाहन भने नगरपालिकासँग छैन । 

मध्यपुरथिमि नगरपालिका

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार मध्यपुरथिमि नगरपालिकाले दुई वटा एम्बुलेन्स सञ्चालन गरेको छ । शववाहन भने रेडक्रससँग समन्वय गरेर चलाएको छ । 

दमकलमा खर्च मात्रै 

निमित्त कार्यालय प्रमुख विजय प्रसाद धौभडेलका अनुसार जुद्ध वारुण यन्त्र, भक्तपुरसँग २ वटा दमकल चालु अवस्थामा र एउटा पानी ट्यांकर रहेको छ । एउटा थप दमकल आउने प्रक्रियामा छ । यस कार्यालयमा हाल १५ जना तालिम प्राप्त अग्नि नियन्त्रकहरु करारमा कार्यरत छन् । 

राजधानीका तीन जिल्लामा रहेका २ महानगर र १६ नगरपालिकामध्ये काठमाडौँ, ललितपुर महानगर, चन्द्रागिरि, बुढानीलकण्ठ र दक्षिणकाली नगरपालिका गरी ५ स्थानीय निकायले मात्रै आफैँ दमकल सेवा दिँदै आएका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले जुद्ध वारुण यन्त्र भक्तपुरलाई एउटा दमकल किनेर दिएको छ । चाँगुनारायण र सूर्यविनायकले खरिद प्रक्रिया गरेर ल्याएको आधुनिक दमकल उक्त कार्यालयलाई दिने तयारीमा छन् । 

दमकलमा आम्दानी नहुने, खर्चमात्र हुने भएकाले किन्न जनप्रतिनिधिहरू नै उदासीन भएको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप