आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

साहित्यमा यौनका कुरा : कति भन्ने, कति छोप्ने ?

शनिबार, १४ फागुन २०७८, ११ : ०५
शनिबार, १४ फागुन २०७८

केही समयअघि चर्चित र्‍यापर समीर घिसिङ ‘भिटेन’ले ‘पारा...’ बोलको गीत पस्किए । यो गीत आम युवाबीच निकै चर्चित पनि भयो । त्यस गीतका टुक्राटुक्री टिकटकका केही प्रयोगकर्ताहरूले रुचाएर नक्कल गरी अपलोड पनि गरे । तर, गीतका केही शब्द सामाजिक तथा पारिवारिक सन्दर्भमा निकै अश्लील थिए । छाडा गीत गाएको भनेर उनलाई प्रहरीले पक्राउ गर्‍यो ।

यस्ता गीत भिटेनले मात्र होइन, उनीभन्दा अघिका गायकहरूले पनि लेखेका, गाएका छन् तर अश्लीलतालाई छोपेर बिम्बात्मक रूपमा । वरिष्ठ गायक कुमार बस्नेतको ‘उसकै छोरी तरुनी छ, मलाई केको दोष’ गीत पनि निकै नै विवादित बनेको थियो । त्यही गीतको विषयलाई लिएर एक पटक त महिलाहरू उनको घरसमेत घेर्न पुगेका थिए रे ।

यस्ता यौनका विषय गीतमा मात्र होइन, नेपाली साहित्यका हरेक विधामा कुनै न कुनै रूपमा छरिएर आएका छन् । नेपाली साहित्यको प्रारम्भिक कालखण्डमा अहिले हामीले मूर्धन्य भन्ने गरेका साहित्यकारले पनि प्रयोग भएका छन् ।

साहित्यमा यौनविम्बको सुरुवातबारे डा. दुर्गाबहादुर घर्ती भन्छन्, “माध्यमिककालीन कवि मोतीराम भट्ट र मोतीमण्डलीका कवितामा पनि यस्ता बिम्ब धेरै पाइन्छन् ।” यही समयबाट नेपाली साहित्यमा यौनबिम्बको सुरुवात भएको मान्नुपर्ने उनी बताउँछन् । त्यस समयमा प्रकाशित ‘सूक्ति सिन्धु’ (विसं १९७४) कविता सङ्ग्रहका अधिकांश कवितामा यौनविम्ब निकै नै प्रयोग भएका छन् । त्यो कृति निकै विवादित पनि बन्यो । त्यसमा चर्चित कविहरू वीरेन्द्रकेशरी अर्याल, सोमनाथ सिग्द्याल, चक्रपाणि चालिसे, शम्भुप्रसाद शर्मा, देवीदत्त पराजुली, दुर्गाप्रसाद भट्टराई, कालीदास शर्मा, जगन्नाथ जोशी (सेढाईं), लेखनाथ पौड्याल, गोपीनाथ लोहनी, राधानाथ लोहनी, पुण्यनाथ लोहनी, कृष्णचन्द्र अर्याल, कृष्णप्रसाद रेग्मीका कविता छन् ।

त्यस्तै, जगन्नाथ पौड्याल, केशवनाथ पौड्याल, दीपकेश्वर शर्मा लोहनी, मदनदेव पन्त, मोतीराम भट्ट, लक्ष्मीदत्त शर्मा पन्त, पद्मविलाश पाण्डे, राजीवलोचन जोशी, रुद्रराज पाण्डे र श्यामजीप्रसाद अर्यालका कविता पनि यस सङ्ग्रहमा छन् ।

यो कविता सङ्ग्रह विवादित हुनुको कारण चाहिँ पुरुषको विकृत यौनकुण्ठा, कृत्रिम प्रणयभाव तथा स्त्रीलम्पट प्रवृत्ति अभिव्यक्त भएकाले हो । यसभित्रका कविताहरूमा नारीको नग्नचित्र, प्रेमको हार्दिकताको सट्टा मैथुन प्रक्रियाको वर्णन पाइन्छ । त्यसैले केही समीक्षकहरूले सम्भोगको आतुरता रहेको भनेर आलोचना पनि गरेका छन् । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले त उक्त कविता सङ्ग्रहलाई प्रतिबन्ध नै लगाएका थिए । उनले प्रत्येक कविलाई चेतावनी दिँदै एक एक रुपैयाँ जरिवाना गरेका थिए । तर, सम्पादक श्यामप्रसाद शर्माले वीरगञ्जतिर भागेर ज्यान जोगाएका थिए भन्ने पाइन्छ ।

तर सूक्तिसिन्धुबाट नै यौनविम्ब प्रयोगको सुरु भएको भने होइन भन्छन् प्राडा. कृष्णहरि बराल । “योभन्दा निकै समयअघि कालिदासले संस्कृत साहित्यमा यौनलाई बिम्बात्मक रुपमा प्रयोग गरेको भेटिन्छ”, उनी भन्छन्,  “उपमा कालिदासस्य भनेर संस्कृत साहित्यमा पाइन्छ । कालिदासले महिलाका सुडौला तिघ्रालाई केराको थामसँग तुलना गरेका छन् ।”

आधुनिक कालमा आएर सचेत रूपमा यौनविम्बको प्रयोग भने विश्वेश्वरप्रसाद कोइरालाबाट सुरु भएको बताउँछन् डा. घर्ती । चन्द्रवदन (१९९२) कथाले नेपाली साहित्यमा यौनविम्ब भित्र्याएको र त्यसमा माकुराको जालो, भमरा भुँभुँ गर्दै आएको जास्ता प्रतीकात्मक प्रयोग रहेको उनी बताउँछन् । गोविन्द गोठालेको भाँडो कथामा यौनको सशक्त प्रयोग भन्छन् उनी । सामाजिक मनोविज्ञानका दृष्टिमा भाँडा माझ्ने केटोको त केही हैसियत छैन । तर, यौनमनोविश्लेषणका आधारमा हेर्दा अद्र्धनग्न भएर नुहाउँदै गरेकी मालिक्नी देखेर भाँडा माझ्नेको कामोत्तेजना बढेको छ, त्यो पोख्ने भाँडो भनेको मालिक्नी भएकी छ ।  

विजय मल्लको कालो चस्मा कथामा पनि त्यस्तै प्रयोग छ, पोषण पाण्डेका कथाहरू यौनमा झन् बढी केन्द्रित छन् । तारणीप्रसाद कोइरालाका रातो स्वेटर लगायतका कथा, सर्पदंश उपन्यासमा त खुला रूपले यौनका विषयको चर्चा गरिएका छन् । त्यसैगरी ध्रुवचन्द्र गौतमले त अग्निदत्त अग्नि दत्त र उपसंहार अर्थात् चौथो अन्त्य उपन्यासमा सोझै भनेका छन् भने यस्तै कुमार नगरकोटीका आख्यानमा पनि सोझै भनेको पाइन्छ भन्छन् डा. घर्ती ।

साहित्यमा यौनका कुरा गर्दा पुष्कर लोहोनी छुटाउनै नहुने साहित्यकार हुन् भन्छन् डा. घर्ती । उनलाई विर्सियो भने यौन विम्बबारेको अध्ययन त अधुरै हुन्छ । कविता, कथा, उपन्यास सबैमा उनको ध्यान त्यतै भेटिन्छ; बोलीबचन र व्यवहारमा पनि यस्ता विम्बको प्रयोग गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट राष्ट्रिय पुरस्कार पाएको कौडी कवितामा अझ सशक्त प्रयोग छ । त्यसकी महिला पात्र कौडी घोप्टो पर्दा आफ्नो नितम्ब र उत्तानो पर्दा योनी सम्झेर ईष्या गर्छे भन्छन् डा. घर्ती ।

विश्वेश्वरप्रसाद कोइराला, तारणी कोइराला, गोविन्दबहादुर मल्ल गोठालेका, विजय मल्ल, पोषण पाण्डेका प्रतीकात्मक रूपमा छन् तर सीता पाण्डे, ध्रुवचन्द्र गौतम, कुमार नगरकोटीहरूका कृतिहरूमा चाहिँ यौनका कुरा सोझै भनिएका छन् ।

नेपालमा प्रजातन्त्र आएपछि यौनमा केन्द्रित भएर धेरै साहित्य सिर्जना लेखिए तर यो अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रको तात्पर्य जे मन लाग्छ, त्यही लेख्न, गाउन पाउनुपर्छ भन्ने होइन भन्छन् प्राडा. बराल । उनी भन्छन्, “साहित्य सिर्जनामा सामाजिक, धार्मिक, सांस्कृतिक, कानुनी, नैतिक लगायतका धेरै सीमा हुन्छन् । त्यसलाई सचेत साहित्यकारले उल्लङ्घन गर्दैनन् ।” विश्व प्रसिद्ध साहित्यकारहरू सलमान रुस्दी र तसलिमा नसरिनले धार्मिक सीमा उल्लङ्घन गरेकाले टाउको काट्ने धम्कीसम्म पाए, तसलिमाले त देश नै छोडेर लुकी लुकी हिँड्नु परिरहेको उदाहरण दिन्छन् उनी ।

साहित्यमा जे पनि कुरा भन्न पाइन्छ तर विम्ब, प्रतीकबाट भन्नुपर्छ भन्छन् बराल । “मैले पनि भिटेनका भन्दा बढ्ता छाडा गीत लेखेको छु, जस्तो ‘सँगै भयौँ कि हामी, लजाई लाज भाग्छ...’ यसको कतिसम्म अर्थ आउँछ तर छाडा भए न नि”, उनी भन्छन्– “यस्तै प्रतीकात्मक रूपमा भूपि शेरचनले घुम्ने मेचमाथिको अन्धो मान्छे कविता सङ्ग्रहमा खिचापोखरीलाई नाइटोसँग तुलना गरेर त्योे देखेपछि कति पुरुषहरू भित्रभित्र करुवा हुन्छन् भनेर लेखेका छन् ।” करुवाको टुटीलाई पुरुषको प्रतीक बनाएका हुन् भूपिले । तर करुवाको विम्ब धेरैले बुझ्दैनन्; जसले बुझ्छन्, बुझेपछि हाँस्छन् । यस्ता विम्बलाई  फ्यालिक इमेज अर्थात् यौन विम्ब भनिने बरालको बुझाइ छ  । यसरी बिम्बात्मक तरिकाले साहित्यमा जे पनि भन्न पाइन्छ तर नग्न रूपमा प्रयोग गर्नु हुँदैन ।

“साहित्य सिर्जनामा कानुनी सीमा पनि हुन्छन्,” बराल भन्छन् । अहिले २० वर्षमा मात्र विवाह गर्न पाउने कानुन बनेको छ तर तिमी १६ वर्षकी भइछौ, म डोली लिएर आउँछु भनेर गीत गाउँदै हिँड्न पाइँदैन, कानुनले दिँदैन, त्यस्ता कुरालाई हतोत्साही गर्नुपर्ने बरालको भनाइ छ । तर कानुन जनहितमा छैन भने जेल परे पनि त्यो उल्लङ्घन गर्ने आँट साहित्यकारले गर्नुपर्छ । जनहितमा भएको कानुन छ भने त्यो नाघ्नु हुँदैन ।

अहिलेका कतिपय लेखक साहित्यकारले यौनविम्ब नै बुझेनन्, नाङ्गो साहित्य लेखेकाले यस्ता विवाद आउने गरेको भनाइ बरालको छ । उनी भन्छन्, “यस्ता खालका नाङ्गा साहित्य बजारमा प्रशस्तै बिक्री हुन्छन् तर साहित्यको इतिहास लेख्दा तिनको चर्चा हुँदैन, गर्नु पनि हुँदैन ।” ती साहित्यकै तहमा आउँदैनन् । लेखक हुन यति लेख्न हुन्छ र यति लेख्न हुँदैन भन्ने आफैँ सेन्सरसिप क्षमता चाहिन्छ ।

यस्ता सेल्फ सेन्सरसिप इतिहासमा मूल्याङ्कन भएका स्रष्टाहरूले लगाएका छन् । विश्वेश्वरप्रसाद कोइराला, पोषण पाण्डे, पारिजात लगायत थुप्रै स्थापित साहित्यकारले यौन कुण्ठाहरूलाई उठाएका छन् । विश्वेश्वरप्रसाद कोइरालाले नेपाली साहित्यमा यौन मनोवैज्ञानिक कथाहरू लेखेर त्यसको प्रयोग प्रशस्त मात्रामा गरेका छन् । बराल भन्छन्– “कर्णेलको घोडामा प्रयोग भएको विम्ब कति सशक्त छ । त्यसमा पतिप्रति यौन ईष्र्या जगाएको छ । उसले घोडालाई सुमसुम्याउने, घोडालाई हेर्ने, घोडालाई चलाउने गर्छे । अनि घोडाले पनि उसलाई टेर्ने, बूढो पतिलाई नटेर्ने हुन्छ ।”

सुम्निमा उपन्यासमा सोमदत्त पात्रमार्फत यौनकुण्ठा व्यक्त भएको बताउँछन् प्राडा कृष्ण गौतम । उनका अनुसार यौन मनोविश्लेषणमा कर्णेलको घोडा धेरै राम्रो छ । “कर्णेल बूढो भएको छ तर कर्णेलनी घोडालाई सुमसुम्याउँदै घोडामाथि चड्छे । यहाँ घोडा चाहिँ सेक्सको प्रतीक हो,” उनी भन्छन्, “भवानी भिक्षुका कथामा पनि यौनका कुरा सशक्त रुपमा प्रयोग भएका छन् । महाकवि देवकोटाको चम्पा उपन्यास पनि मनोविश्लेणात्मक नै उपन्यास हो ।”

बीपीका सबै कथामा मनोविश्लेषण छन् तर त्यो सबै समाजको विकृतिलाई उठाउन आएका बराल बताउँछन् । उनी भन्छन्, अनमेल विवाहको कुरा उठाउन कर्णेलको घोडा लेखे, लोग्नेले छोडेर हिँडेकाका लागि चन्द्रवदन लेखे । यस्ता धेरै कथा लेखेका छन्; जसले सामाजिक विकृतिलाई उठाएका छन् । तर कसैकसैले बीपीका कथा नारीवादी भने पनि बराललाई त्यस्तो लाग्दैन । किनभने नारी स्वतन्त्र छैनन् उनका कथामा ।

कर्णेलको घोडा कथामा पनि कर्णेलनी आफ्नो इच्छा दबाएर घोडा सुमसुम्याएर बसेकी छ, आँट गरेर अर्कोसँग हिँडेकी भए नारीवादी हुन्थ्यो । चन्द्रवदन कथाकी चन्द्रवदन पनि हिँड्न सकिन । मधेसतिर कथाकी विधवा पनि त्यस्तै अफ्ठ्यारामा परेकी छ, अर्कोसँग जान त खोज्छे तर अफ्ठ्यारोमा परेर गइन । तर चन्द्रवदन कथाको छायामा गोविन्द गोठालेको पल्लो घरको झ्याल उपन्यास आयो । त्यसमा मिस्री भन्ने एउटा बदमास पात्र हुन्छ । त्यसलाई मूल पात्र महिलाले झ्यालबाट हेरिरहन्छे । अनि सोझो लोग्ने छोडेर अन्त्यमा ऊसँग हिँड्छे । यो चाहिँ नारीवादी भयो, आफ्ना इच्छा मार्न दिइनँ नि ।

पोषण पाण्डेका कथाहरूमा पनि यौनको प्रयोग छ । बराल भन्छन्, “भिनाजुको स्वेटरको स्वेटर नै विम्ब हो, त्यसमा दिदीबहिनी बीचको ईष्र्या छ, अन्तिममा दिदीले रिसले स्वेटर उदारिदिएपछि त्यो त दिदीलाई नै पो सिलाइदिएको भन्छे । यसमा यौनविम्बको कति शिष्ट प्रयोग छ, कथा पनि स्वेटर बुनेझँै बुन्दै बुन्दै लगेर अन्तिममा फ्यास्स फुकाइदएको छ, कहीँ खराबी छैन ।”

विम्बबाट भन्न जे पनि पाइन्छ तर नाङ्गो पारेर भन्न पाइँदैन । तर, यस्ता यौनविम्बहरू प्रयोग आख्यान, कविता तथा नाटकमा फरक फरक हुने बराल बताउँछन् । आख्यानका पात्रअनुसार यस्ता विम्बहरू प्रयोग हुन्छन् । पात्रहरूमा स्तर हुन्छ । एउटा स्तरीय पढेलेखेको पात्र छ भने उसको भाषाशैली, जीवनशैली पनि स्तरीय र मानक हुन्छ । अशिक्षित छ भने उसको भाषा मानक हुँदैन, मनपरी बोल्न सक्छ ।

यथार्थवादी बनाउन लेखकले त्यस्तो भाषाशैली र पात्रगत प्रवृत्ति प्रयोग गर्न सक्छ । उपन्यासमा नग्नता पनि हुन सक्छ । ध्रुवचन्द्र गौतमले अग्निदत्त+अग्निदत्तमा सीधै भनेका छन् । तर, उपन्यास, कथा आख्यान चाहिँ पाठकले चाह्यो भने मात्र पढ्ने हो । तर, मिडियाबाट ह्वात्तै प्रसारण भएर बसमा, घरपरिवार सँगै भएको बेलामा प्रसारण हुने गीत बज्छन्; त्योबेलामा सबैलाई अफ्ठ्यारो हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप