कविता : आमा बनेको पल
पीडा बिर्सिएर
खुसीका सम्भावनामा,
आफैँलाई हेरेर ऐनामा
मृगिणीझैँ तर्सिएको पल
सम्झेर सानो कलिलो मुस्कान
खुसीका फूल बर्षिएको पल
साँच्चै,
आमा बन्ने खबर सीमातीत छ हर्षको
सबैभन्दा धनी भएकी छु
आज म दुनियाँमा,
प्रिय फूल आँखाभरिको
तिमी आउने खबरले,
झलमल भएको छ मेरो ब्रह्माण्ड
म कसरी बताऊँ शब्दमा
तिमी मेरो जमिन हौ
आकाश हौ विश्वासको,
मुटुको टुक्रा हौ,
आफैँभित्र हुर्किँदै छ अर्को शरीर,
भित्रबाट लात हान्छौ तिमी
मलाई रिस उठ्दैन
झन् प्रेम बढेर आउँछ,
हो,
नदेखी प्रेम गर्न थालेँ तिमीलाई,
प्रतीक्षाका नौ महिना
युग बनेर बिते,
बेस्सरी रुनु र हाँस्नु एकैपटक
पीडा र खुसी शब्दातीत छन् आज,
जीवनमै नदेखेको नछोएको
मात्र महसुस गरेको खुसी तिमी,
आँसु बनेर ओइरियो
साँच्चै आँसुको खुसी यो
खुसीको समुद्र अवतार,
जब चिकित्सकले मतिर सुम्पिए,
मैले बनाएको सानो देवता,
मेरा अङ्गअङ्ग मुस्कुराए,
प्रसव पीडा भुलेर जम्मै,
प्रथम आमा बन्नुको खुसीमा,
जीवनकै अविस्मारक पल
आमा शब्दमा संसार लपेटिएको,
मैले आमालाई सम्झिएँ,
आफू आमा बनेको पल,
छोरा बनेर आयो मेरो जीवनमा
मुटुले स्वागत गर्छु तिमीलाई
नारी सम्पूर्ण हुन्छे
जब आमा बन्छे,
छोरा ! तिम्रो आगमनले आज
पूर्ण भएकी छु,
तिम्रो पैतालामा तेल मालिस गरेकी
मुलायम सुन्दर बनाउन मात्र होइन,
भोलि तिमीले देशको खम्बा भएर
उभिन सक्ने बन्नु छ
तिम्रा काँधमा तेल मालिस गरेकी छु
सिङ्गो देश उचाल्नुपर्छ तिमीले
सेकताप गरेकी छु राम्ररी
तिम्रा यी कोमल औँलाले
देशको सग्लो नक्सा कोर्नुपर्छ
आमा बिर्सने सन्ततिका नाममा,
देश बिर्सने छोराहरुका मनमा
सम्बोधनको बीउ उमारिदेऊ,
धमिला बन्दै गएका आँखाका ज्योति,
सयमुजा परेका आँखाका कोसमा,
हराएका बाआमाका सपना बनेर,
आफ्ना जीवित देवताको सेवामा,
हराऊ आफूलाई बरु,
अन्धोप्रेम सम्झेर एकतमासले,
वृद्धाश्रममा रोइरहेका ईश्वरहरू,
हाँसून् सन्तानका मुहार हेरी
आफ्नै आँगनमा,
हराएँछु तिम्रो अनुहारमा
पग्लिएँछु तिम्रा आँखामा
एकीभूत सपना बुनेर
अँगालामा आफ्नै ईश्वर बोकेर,
भुइँभरि बगेको रगतमा
खुसीको इन्द्रेणी देखेँ मैले
प्रथम प्रथम जिन्दगीमा
आमा बनेको पल ।
तीनकुने, काठमाडौं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण