शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कसैको मन नबिझाइ सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ : प्रकाश सपूत

सोमबार, ३० फागुन २०७८, १६ : ४४
सोमबार, ३० फागुन २०७८

गायक प्रकाश सपूतले आफ्नो नयाँ ‘गीत ‘पिर’का सन्दर्भमा भएका टीकाटिप्पणीबारे आफ्नो धारणा राखेका छन् । उनले आफ्नो मनसाय कसैको आस्था र भावनामाथि चोट पुर्याउने नभएको स्पष्ट पारेका छन् ।  उनले ‘पिर’बाट आफूले युद्धकै जग तथा बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको  बताउँदै समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजिएको पनि उल्लेख गरेका छन् । 

कलाकारको चाहना सबैको मनमा बस्ने भएपनि त्यो चाहना पुरा हुन नसकेको उनले बताएका छन् । ‘सबैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैं कसैको मन नबिझाइ सवैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो नयाँ गीत पिरका कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महशुस गरेको छु’, उनले सामाजिक सञ्जालमार्फत सोमबार भनेका छन्, ‘गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ। एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महशुस भएको छ। मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु। यतिबेला आफ्नै सिर्जना तपाईंहरुका नजरबाट नियालिरहेको छु। मैले गल्ती गरेको हो कि ? तपाईंहरुले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु।’

उनले आफूले उठाएको विषय टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको र पत्रपत्रिकाहरुमा त्यसबारे लेखिँदै  र  पढिँदै आएको विषय भएको पनि बताएका छन् ।  उनले गीतको पृष्ठभूमिका विषयमा पनि केही कुरा राखेका छन् । ‘गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु । ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने, पस्कने मध्यका थुप्रै सहकर्मीहरू पूर्व लडाकु थिए। उनीहरु चरम निराशावादी कुरा गर्थे। त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ। संयोगले अहिले निस्क्यो’, उनले भनेका छन्, ‘यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पस्ट पार्न चाहन्छु।’

उनले प्रतिकात्मक रुपमा दृश्यहरु निर्माण गरेर बनाएको ‘एउटा कमरेड’को कथा पिर भएको बताएका छन् । उनले एउटै  गीतमा सबै दृष्टिकोण अटाउन नसकिने भएकाले पूरै बुझाइ आउन नसक्ने पनि बताएका छन् ।  ‘त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौँला, अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृष्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतिकात्मक दृष्य हो । प्रतिकात्मक रुपमा राखिएका यस्ता दृष्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म  फेरि आत्मालोचना गर्छु ।’

 यद्यपि, आफूले भिडियोको सुरुमै यो कुरा लेखेको र माफी मागेको पनि उनको भनाई इछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप