शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘होलीले मेरो रंग्यायो नयाँ चोली...’ गीत कसरी भयो हिट ?

२५ बोरा रंग, ५ दिन छायाङ्कन
बिहीबार, ०३ चैत २०७८, ०६ : ३३
बिहीबार, ०३ चैत २०७८

होलीले मेरो रंग्यायो नयाँ चोली 
हे, होलीले मेरो रंग्यायो नयाँ चोली 
इन्द्रेणी रंग लिई आयो होली, 
फागुन महिनामा खेलौँ होली 

हरेक वर्ष होलीको समय रेडियो, टेलिभिजन, पार्टी प्यालेस गुन्जिने गीत हो यो । निकै लोकप्रिय यो गीत नसुन्ने सायदै कोही नेपाली होलान् । तर, यो गीत किन, केका लागि र कहिले बन्यो ? यसबारे कमैलाई जानकारी होला ।

नेपाली फिल्मको इतिहासमा राम्रा फिल्म दिन सफल र महत्त्वाकांक्षी मानिएका निर्देशक प्रकाश थापाले बनाएको फिल्म ‘अधिकार’ को गीत हो यो । बलिउडको अनुभवसहित नेपाली फिल्म निर्देशनमा होमिएका थापा नेपाली फिल्म उद्योगमा व्यावसायिक धार दिलाउन सफल मानिन्छन् । २०४९ सालमा प्रदर्शनमा आएको यो फिल्मका निर्माता वीरेन्द्र नारायण श्रेष्ठ, वीरनारायण भारी, यज्ञप्रसाद कसजु, विजय श्रेष्ठ रहेका थिए । फिल्मका निर्देशक प्रकाश थापाको भने अहिले निधन भइसकेको छ ।

फिल्ममा राजेश हमाल, मिथिला शर्मा, कृष्टी मैनाली, प्रकाश थापा, राजाराम पौडेल, बसुन्धरा भुसाल, नीर शाह लगायतको अभिनय छ । फिल्ममा त्रिकोणात्मक प्रेमकथा छ । तराईको कथामा निर्माण भएको फिल्म भएकोले यो गीत फिल्ममा समेटिएका निर्माता वीरेन्द्र नारायण श्रेष्ठ बताउँछन् ।

अनि जन्मियो गीत

गीतमा शब्द चर्चित गीतकार किरण खरेलले कोरेका हुन् । खरेलले यो गीत फिल्म ‘अधिकार’ को कथाका थिममा कोरेका थिए । फिल्मका निर्देशक प्रकाश थापाले फिल्मको कथा सुनाएर होली थिममा गीत लेख्न अनुरोध गरेपछि खरेलले यो गीतका शब्द फुराएका थिए ।

‘निर्देशक थापाले कथा सुनाएर तराईको होली थिममा गीत लेख्न अनुरोध गर्नुभयो,’ गीतकार खरेलले भने, ‘कथा र तराईको बिषयबस्तुमा टेकेर मैले गीतका शब्द लेखेको हो ।’

खरेलले यो गीत लेख्न ५ दिन लगाएका थिए । यस अगाडि अगाडि करिव तीनसय बढी गीतमा शब्द कोरिसकेका खरेलको होली गीत भने यो पहिलो थियो । त्यसैले, राम्रो बन्छ बन्दैन, उनका मनमा दुविधा थियो । तर यो गीत एकै चोटीमा निर्देशक थापाले ‘ओके’ भनेको खरेल सुनाउँछन् ।

‘गीत निर्देशक थापाले ठिक छ भनेपछि ठिकठिकै भयो होला भन्ने लागेको थियो,’ खरेलले भने, ‘फिल्ममा गीत समावेश भएपछि धेरैले राम्रो भने ।’ तर गीत यति धेरै चर्चित होला, कालजयी बन्ला भन्ने आफूले कहिल्यै नसोचेको उनले सुनाए । ‘अहिले पनि गीतले प्राथमिकता पाएको देख्दा मन आनन्दित भएर आउँछ,’ खरेलले थपे । अहिलेसम्म ६ सय बढी गीत कोरेका गीतकार खरेलको होली गीत भने यही एक मात्र हो ।

संगीतमा चुनौती

गीत हिट हुनका लागि शब्द राम्रो भएर मात्र कहाँ हुन्छ र ? त्यसमा संगीत र स्वरको संयोजनमा तालमेल हुनु जरुरी छ । यो गीतको शब्द, संगीत र स्वरको त्रिपक्षीय कनेक्सन एकदमै राम्रो पाउन सकिन्छ । त्यसैले पनि यो गीत कलजयी बन्न सफल भएको फिल्मकर्मीहरु बताउँछन् ।

गीतका संगीतकार हुन् भर्सटायल संगीतकार शम्भुजित बाँस्कोटा । उनको संगीतमा आएको होली गीत यो मात्र भने होइन । फिल्म ‘बसन्ती’को ‘कालो, नीलो, रातो हरियो’ र ‘सीता’मा ‘जनकपुरमा होली रे’ बोलका गीत समेत उनको संगीतमा आएका छन् । यी सबै गीत चर्चित छन् । तर ती मध्ये पनि ‘होलीले मेरो रंग्यायो नयाँ चोली’  धेरै सफल गीत मानिएको संगीतकार बाँस्कोटा बताउँछन् ।

यो एक होली गीत मात्र होइन, यो बहुभाषाको गीत पनि हो । गीतमा नेपालीको अलावा नेपाल र मैथिली भाषा समेत प्रयोग भएको छ । होली देशभर मनाउने पर्व हो । त्यसैले पनि फिल्ममा सबैको प्रतिनिधित्व देखियोस् भनेर यो गीत बहुभाषामा बनाइएको हो ।

‘एउटा आफ्नोपनको राम्रो र फरक गीत बनाउनुपर्ने थियो । यस अगाडि आएका गीतसँग त्यो मिल्नु हँुदैन थियो । त्यसैले यो गीतको संगीतमा मैले धेरै चुनौती देखेको थिएँ,’ बाँस्कोटाले थपे, ‘सुगम संगीत शैलीमा, लोकलयसमेत मिसाएर गीत बन्यो ।’ करिव एक साता लगाएर यसको संगीत गरेको बाँस्कोटाले सुनाए ।

गीत मुम्बईमा रेकर्ड भएको हो । गीतमा उदित नारायण झा, दीपा नारायण झा, प्रकाश श्रेष्ठ र पूर्णिमा श्रेष्ठले स्वर दिएका छन् । गीतमा ओम विक्रम बिष्टको समेत स्वर छ । गीतमा फिल्मका धेरै कलाकार एकसाथ नचाउने भएकाले पात्रको चरित्र अनुसार अलग अलग गायक गायिकाबाट गीत पार्ट पार्ट गरेर रेकर्ड गरिएको हो । रेकर्डको क्रममा गायकद्वय उदित र दीपाले समेत मनपराएको बाँस्कोटाले सुनाए ।

दुई दिनमा रेकर्ड भएको यो गीतको एरेन्ज मनोहर सिंहले गरेका थिए । गीतको भित्र रहेको विभिन्न मार्क म्यूजिक भने शम्भुजित आफैले गरेका थिए । ‘मलाई लाग्छ नेपाली होली गीतमध्ये यो नै सबैभन्दा चर्चित होला,’ बाँस्कोटाले अगाडि थपे, ‘गीतलाई भिजुअलले अझ सिंगारी दिएको थियो । गीतको प्रतिक्रिया समेत राम्रो आएको थियो ।’

२५ बोरा रंग, ५ दिन छायाङ्कन

गीतमा शब्द, संगीत र स्वरको तालमेल जति मिलेको छ, त्सतै गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । हाम्रो फिल्म क्षेत्रमा गीतका लोकेसन राम्रो छान्ने तर खर्च कम गर्न परम्परा पहिले देखिकै हो । राजेश हमाल, मिथिला शर्मा, कृष्टी मैनाली लगायतका थुप्रै कलाकारले नृत्य रहेको यो गीतमा भने धेरै खर्च गरिएको छ ।

होलीको सिच्युयसन खडा गरेर आकर्षक तरिकाले गीत भिडियोमा उतार्न सफल छन् कोरियोग्राफर माधव किसन । तराईको बिषयबस्तुसँग गीत नजिक भएर पनि कोरियोग्राफी माधव किसनले पाएका थिए ।

गीत रुपन्देहीको महेशपुरमा छायाङ्कन भएको हो । ५ दिन लगाएर छायाङ्कन गरिएको गीतमा अभिनयका लागि कलाकारले तराईका मात्र नभएर धेरै ठाउँका वेशभूषा प्रयोग गरेका छन् । त्यसैले पनि वेशभूषा र गेटअपमा समेत धेरै खर्च भएको छ ।

गीतमा होली सिच्युयसनमा भएकोले त्यसका लागि प्रयोग गर्ने विभिन्न रंग, रंग उठाउने मेसिन र प्राविधिक सबै मुम्बईबाट झिकाइएको निर्माता वीरेन्द्र नारायण श्रेष्ठले बताए ।

‘गीतमा रंग मात्र २५ बोरा प्रयोग भएको छ । पटाका पड्काउने मानिस ९÷१० जनाको टोली मुम्बईबाट ल्याइएको थियो,’ निर्माता श्रेष्ठले थपे, ‘त्यतिबेलै गीतमा ५, ६ लाख खर्च भयो । अहिलेको हिसाबमा भन्ने हो भने करिब एक करोड हाराहारी भन्दा फरक पर्दैन ।’ गीतमा खर्च अनुसार भिडियो बनेकोमा श्रेष्ठले खुसी प्रकट गरे ।

‘त्यतिबेला मिहिनेत गर्दा गीत राम्रो हुन्छ भनेर सोचेका थियौं । अहिलेको अवस्थामा आउला भनेर कल्पना भने थिएन,’ निर्माता श्रेष्ठले अगाडि थपे, ‘अहिले पनि गीतको चर्चाले राम्रो काम गर्न सकिएछ भन्ने गर्व हुन्छ ।’ गीतका कारण त्यतिबेला फिल्म चलाउन समेत मद्दत पुगेको श्रेष्ठको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप