शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पिर गीत विवादको बिषयमा सपुतले भने– यो ब्युँताइरहनुपर्ने विषय हो

बिहीबार, १० चैत २०७८, १७ : २०
बिहीबार, १० चैत २०७८

गायक प्रकाश सपुतले आफ्नो गीतले देखाउन खोजेको पिरका विषय ब्युताइँरहनुपर्ने बिषय रहेको बताए । गीतमा आफुले आम मानिसले समाजमा भोगिरहनुपर्ने समस्या उठाएको उनको भनाई रहेको थियो । ‘हाम्रो टोल छिमेकमा एउटा आम मानिसले भोगेका पासपोट बनाउनुपर्ने, विदेश जानुपर्ने, एउटा काममा विश्वास नलागेर अर्काे काम गर्नुपर्ने लगायत अनेक समस्या पिर गीतमा देखाउन खोजेको छु’ सपुतले भने ‘यो पिर विगतमा पनि थिए र भविष्यमा पनि हुन्छन् ।’ उनले विगत कोट्याउँदा पात्रहरूमा द्वन्द्वको समय कोट्टिएको सुनाए ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सपुतले गीतले देखाउन खोजेको पिर आफुले प्रायोजित र परिचालित भएर भन्दा पनि समाजमा दुःख पाएका, समाजमा पिरमा रहेका पात्रहरूबाट प्रेरित भएर बनाएको स्पष्ट पारे ।

‘गीत बनाउँदा मेरो एउटा तप्काको व्यक्तिको चित्त दुखोस्, सोच्न बाध्य होस् भन्ने थियो । जो परिवर्तन आएर राज्यको सेवा सुविधा लिइरहनुभएको छ । योगदान गर्ने मानिसहरुलाई बिर्सिनुभएको छ’ सपुतले अगाडि थपे, ‘तर जुन समूहको मैले प्रतिनिधित्व गरेर गीत बनाए । त्यो समूहको पनि चित्त दुख्यो ।’ जसको आवाज उठाएको उसैको चित्त दुखेको कारण गीत सच्याउन बाध्य भएको उनले सुनाए ।

कार्यक्रममा सपुतलाई प्रश्न सोधियो । गीत कसैको डरबाट सच्याइएको हो ? जवाफमा सपुतले भने– ‘यदि मैले भिडियो डिलिट गरेको भए ? त्यहाँ सोधिएका प्रश्न हटाएको भए ?, त्यहाँ देखाइएको सुविधा भोगीको भूमिका हटाएको भए, म कसैको विचार, शक्तिबाट डराए, कुनै निश्चित समूहबाट डराए हटाए भन्न मिल्थ्यो । यो भावनात्मक हिसाबले हटाएको हो ।’

‘हुन त मसँग प्रशस्तै तर्कहरु छन्, कलाका हिसाबले, प्रतीकात्मक हिसावले, बिम्बका हिसावले देखाउन पाउने कि नपाउने’ उनले अगाडि भने–‘हामीले संसारभरका फिल्म हेरिरहेका छौ, पुस्तक पढेका छौ । त्यस्ता पात्रहरू निर्माण गर्न पाउने कि नपाउने, कलालाई अलिकति भएपनि अतिरञ्जित बनाउन पाउने कि नपाउने भन्ने खालका थुपै्र तर्क र प्रश्न मसँग छन् ।’

जसले साँच्चिकै युद्ध लडेका थिए । जो घाइते भएका थिए । उनीहरुको चित्त दुखोस् भन्ने उदेश्य गीतको नभएको सपुतले बताए । भने, ‘जो आफैमा चित्त दुखी दुखी, पीडा रहेर बाँचेका छन् । जो द्वन्द्वमा लडेर यो देशको परिवर्तन भएन भनेर चिन्तित भएर बाँचिरहेका छन् ।

 फेरि मैले उनीहरुकै किन चित्त दुखाउने त ? उनीहरुको चित्त दुख्दा मेरो पनि चित्त दुख्यो अनि मैले गीत सच्याए ।’ कार्यक्रममा सपुतले आफ्नो निर्माण कम्पनीको तर्फबाट गीतमा जोडिएका युनिट तथा सहयोगीलाई समेत मायाको चिनो प्रदान गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप