बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : यी हुन् ५ सयभन्दा कम अन्तरले जितेका ७१ पालिका

बुधबार, ०७ वैशाख २०७९, १४ : १०
बुधबार, ०७ वैशाख २०७९

१३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ६९, नेपाली काँग्रेसले ५४ (फोरम लोकतान्त्रिकबाट जितेका ३ सहित), माओवादी केन्द्रले ९, राप्रपाले ३ र जसपाले २ पालिकामा जित हासिल गरेका थिए ।

उक्त निर्वाचनमा करिब आधाजसो स्थानीय तहमा ५ सयभन्दा कम मतान्तरले जित/हारको फैसला भएको थियो । एमालेले जितेका ३५, काँग्रेसले जितेका २५, माओवादी केन्द्रले जितका ८ र राप्रपा नेपालले जितेका ३ स्थानीय तहमा विजयी उम्मेदवार र निकटतम प्रतिस्पर्धीको मत ५ सयभन्दा कम अन्तरमा थियो ।

सत्तारुढ पाँच दलीय गठबन्धन कायम भएर गएको अवस्थामा एमालेले जितेका ३५ भन्दा धेरै स्थानीय तहमा गठबन्धन घटकको वर्चस्व हुने देखिन्छ । किनकि ५०० भन्दा कम मतान्तर रहेका ती तहमा विपक्षमा रहेका दल मिल्नासाथ ठूलो मतान्तरले एमाले पछि पर्ने अवस्था छ ।

अर्कोतिर एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीका कारण पनि एमालेको मतमा क्षति पुगेको छ ।

गत स्थानीय तहको निर्वाचनको परिणाम विश्लेषण गरेका राष्ट्रियसभाका सदस्य डा.खिमलाल देवकोटाका अनुसार प्रदेशका स्थानीय तहमध्ये १ प्रतिशत थप मतदाताले दोस्रो शक्तिलाई मतदान गरेमा १३ स्थानको, थप २ प्रतिशत मतदाताले दोस्रो शक्तिलाई मतदान गरे २४ स्थानको, थप ३ प्रतिशत मतदाताले दोस्रो शक्तिलाई मतदान गरे २९ स्थानको र थप ४ प्रतिशत मतदाताले दोस्रो शक्तिलाई मतदान गरे ४१ स्थानको परिणाम उल्टनेछ ।

यस्तै ५ प्रतिशत थप मतदाताले दोस्रो शक्तिलाई मतदान गरेमा ४८ स्थान र १० प्रतिशत थप मतदाताले दोस्रो शक्तिलाई मतदान गरे ८१ स्थानको परिणाममा फरक पर्नेछ ।

नेकपा एमालेले २०७४ को निर्वाचनमा प्रदेश १ का २८ नगरपालिकामा जित हासिल गर्दा ९ वटामा र ४१ गाउँपालिकामा जित हातपार्दा २६ वटामा ५०० भन्दा कम मतान्तर थियो । त्यसमध्ये सुनसरीको धरान उपमहानगरपालिकामा उपनिर्वाचनमै काँग्रेसले जितिसकेको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका,  चैनपुर नगरपालिका, ताप्लेजुङको फुङ्लिङ नगरपालिका, तेह्रथुमको म्याङलुङ नगरपालिका, धनकुटाको धनकुटा नगरपालिका, मोरङको बेलबारी नगरपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, उदयपुरको कटारी नगरपालिका, त्रियुगा नगरपालिकामा ५ सयभन्दा कम मतले एमालेका उम्मेदवार विजयी भएका थिए ।

यस्तै गाउँपालिकातर्फ ताप्लेजुङको फक्ताङलुङ्ग, मिकुवाखोला, याङवरक, पाँचथरको याङ्वरक, इलामको चुलाचुली, झापाको कमल, संखुवासभाको मकालु, सभापोखरी, तेह्रथुमको आठराई, फेदाक, मेन्छ्यायेम, भोजपुरको ट्याम्केमैयुम, पौवादुम्बा, रामप्रसाद राई, हतुवागढी, मोरङको ग्रामथान, सोलुखुमबुको खुम्बूपासाङ ल्हामु, नेचासल्यान, सोताङ, खोटाङको केपिलासगढी, खोटेहाङ, लामिडाँडा, ओखलढुंगाको मोलुङ, लिखु, उदयपुरको ताप्ली र रौतामाई गाउँपालिकामा पनि ५०० भन्दा कम मतान्तरले जितहार टुङ्गिएको थियो ।

नेपाली काँग्रेसले प्रदेश १ का ३४ गाउँपालिकामा जित हासिल गर्दा १८ वटामा र १९ वटा नगरपालिकामा जित्दा ७ वटामा ५०० भन्दा कम मतान्तर थियो । काँग्रेसले जितेका गाउँपालिकामध्ये ताप्लेजुङको आठराई त्रिवेणी, मिरिङदेन, सिदिङ्वा, सिरिजङ्घा, पाँचथरको तुम्बेवा, फालेलुङ, इलामको फाकफोकथुम, रोङ, झापाको बाह्रदशी, संखुवासभाको भोटखोला, भोजपुरको साल्पासिलिछो, मोरङको केराबारी, धनपालथान, खोटाङको ऐसेलुखर्क, बराहपोखरी, ओखलढुंगाको चम्पादेवी, सुनकोसी, सुनसरीको देवानगंज गाउँपालिकामा ५०० भन्दा कम मतान्तरले जित हासिल भएको थियो ।

यस्तै, झापाको गौरादह नगरपालिका, संखुवासभाको पाँचखपन नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, मोरङको लेटाङ नगरपालिका, सोलुखुम्बुको सोलुदूधकुण्ड गाउँपालिका, खोटाङको हलेसीतुवाचुङ नगरपालिकामा काँग्रेसले ५ सय भन्दा कम मतान्तरले काँग्रेस विजयी भएको थियो ।

यस्तै माओवादीले जितेका पाँचथरको मिक्लाजुङ गाउँपालिका, भोजपुरको आम्चोक गाउँपालिका, सोलुखुम्बुको दूधकौशिका गाउँपालिका, महाकुलुङ गाउँपालिका, लिखुपिके गाउँपालिका, खोटाङको साकेला गाउँपालिका, ओखलढुंगाको चिशंखुगढी गाउँपालिका, उदयपुरको सुनकोशी गाउँपालिकामा ५ सयभन्दा कम अन्तरले जितहार टुङ्गिएको थियो ।

यसैगरी प्रदेश १ मा राप्रपा नेपालले झापाका तीन स्थानीय तहको नेतृत्व जितेकोमा सबैमा ५०० भन्दा कम मतान्तर थियो । अहिले राप्रपा विभाजित हुँदा कचनकबलको अञ्जरा आलम र हल्दिबारीका रवीन्द्र लिङ्देन राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामै छन् भने गौरिगञ्जका बाबुराजा श्रेष्ठ भने कमल थापा नेतृत्वको राप्रपामा लागेका छन् । राप्रपाले झापाको कचनकवल गाउँपालिका, गौरिगञ्ज गाउँपालिका र हल्दिबारी गाउँपालिकामा जितेको थियो । ५०० भन्दा कम मतान्तरले जितेका ती पालिकामा अब राप्रपालाई जित हासिल गर्न कठिन हुने देखिन्छ । पार्टी विभाजन भइसकेका कारण ती पालिकामा राप्रपालाई चुनौती बढ्ने देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप