शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिता डंगोल एमाले नै होइन, एउटा असफल जागिरे मात्र हो : रामेश्वर श्रेष्ठ

‘ओलीबाट मेयर र उपमेयरको उम्मेदवारमा घमण्ड सरेको छ, कुटौँला झैँ गर्छन्’
बिहीबार, २२ वैशाख २०७९, १२ : ४०
बिहीबार, २२ वैशाख २०७९

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवार छन् । नेकपा एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेका श्रेष्ठले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका हुन् ।

दल र स्वतन्त्र गरी काठमाडौंको उपमेयरमा श्रेष्ठले २९ जनासँग चुनावी प्रतिस्पर्धा गर्दै छन् । यद्यपि उनको मुख्य प्रतिस्पर्धा भने एमालेका उपमेयरका उम्मेदवार सुनिता डंगेलसँग हुने देखिएको छ । ०४६ सालबाट एमालेको राजनीतिमा जोडिएका श्रेष्ठ अहिले एमालेकै उम्मेदवारविरुद्ध चुनावी मैदानमा छन् ।

२०४७ सालमा केपी शर्मा ओलीको अध्यक्षतामा गठित प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको उनी काठमाडौं–१२ को पहिलो वडाअध्यक्ष बनेका थिए । त्यसपछि उनी एमाले जिल्ला कमिटी सदस्य र प्रदेश कमिटी सदस्य भएका थिए । एमालेले उनलाई युवा संघको सचिवालय सदस्यका साथै युथफोर्सको भ्याली इन्चार्जको जिम्मेवारी पनि दिएको थियो । तर उनी गत भदौमा पार्टी विभाजन भएपछि नेकपा एकीकृत समाजवादीमा लागे ।

एमाले छोडे पनि श्रेष्ठमा एमाले कार्यकर्ताप्रतिको भरोसा भने टुटेको छैन । सुनिता डंगोल एमाले कार्यकर्ता नै नभएको भन्दै उनले उपमेयरमा एमालेका मतदाताले पनि आफूलाई मत दिने दाबी गरे । काठमाडौंवासी सत्तारुढ गठबन्धनको पक्षमा मत जाहेर गर्न उत्साहित देखिएको उनको भनाइ छ । एमालेका उम्मेदवार विवादित बनिरहेकोले आफूहरु उत्साहित भएको श्रेष्ठले बताए ।

स्थानीय तहको आसन्न निर्वाचन, काठमाडौं महानगरमा चुनावी प्रतिस्पर्धा लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले काठमाडौं महानगरमा उपमेयरको उम्मेदवार श्रेष्ठसँग विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–
 
काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनका साथ चुनावमा मैदानमा हुनुहुन्छ । अहिले घरदैलो अभियानमा नागरवासीबाट कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ?
काठमाडौंवासी सत्तारुढ गठबन्धनका उम्मेदवारको पक्षमा उर्लिनुभएको छ । नेपाली काँग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा एक भएर जाँदा काठमाडौंवासी खुसी हुनुहुन्छ । गठबन्धनको योजना र एजेण्डाले महानगरवासीलाई छोएको छ । वैशाख ३१ गते उहाँहरुले गठबन्धनको पक्षमा भोट दिनुहुन्छ ।

महानगरवासी गठबन्धनका पक्षमा उर्लिएको भन्नुभयो । तर महानगरको उपमेयरको उम्मेदवार तपाई आफै छायाँमा परेको देखिन्छ नि ?
हामी घरदैलो गरिरहेका छौं । छलफल गरिरहेका छौं । प्रचारमा अलिकति कमी भयो कि भन्ने हामीलाई पनि लागेको छ । तर हामी काठमाडौं बनाउने योजनाका साथ जनताका घरदैलोमा पुगेका छौं । अरुसँग कुनै योजना र कार्यक्रम नै छैन । प्रचारले मात्र चुनाव जितिन्न होला नि ? यसअघिका मेयरले के काम गरे भन्ने पनि प्रश्न छ । अहिले त एमालेकै मेयर हुनुहुन्छ । एमालेको मेयरको एक सय एक कार्ययोजना बनाउने मान्छे अहिले एमालेबाट उपमेयरको उम्मेदवार हुनुहुन्छ । सिटी कमिसन प्लानिङको प्रमुख भएर अहिलेको उपमेयरको उम्मेदवारले के काम गर्नुभयो ? त्यो समयमा के गर्नुभयो ? जनताले खोजिरहेका छन् ।
 
काठमाडौंमा उपमेयर भएर काम गर्न तपाईसँग चाहिँ के योजना छ ?
महानगरमा हामीले सुशासन कायम गर्छौँ । यहाँको फोहोरबाट मोहोर उत्पादन गर्ने हाम्रो उद्देश्य छ । यस्तै काठमाडौं महानगरमा शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बढीभन्दा बढी काम गर्छौं । महानगरको २० प्रतिशत बजेट हामीले स्वास्थ्य क्षेत्रमा खर्च गर्छांै । महानगरको आफ्नै अस्पताल बनाउने योजना छ । त्यहाँ ज्येष्ठ नागरिक र विपन्न समुदायको निःशुल्क उपचार हुने छ ।


यसैगरी काठमाडौं महानगरमा रहेका ८९ वटा सरकारी विद्यालयको गुणस्तरमा वृद्धि गर्छौं । महानगरको लगानीमा सरकारी विद्यालय राम्रो बनाउछौं । साथै डाक्टर बन्ने क्षमता भएका विपन्न परिवारका विद्यार्थीले पढ्न पाउने व्यवस्था गर्ने पनि हाम्रो एजेण्डा छ । छात्रवृत्तिमा नाम निकालेर पनि विपन्न समुदायका विद्यार्थीले पढ्न सक्ने अवस्था नभए सबै कुरा महानगरले बेहोर्छ । यो हाम्रो प्रतिबद्धता भयो ।
 
काठमाडौं महानगरमा गठबन्धन दलबीच मेयर र उपमेयरमा तालमेल भए पनि मत माग्न जाँदा तालमेल भएको देखिँदैन । यस्तो अवस्थामा गठबन्धनको पक्षमा परिणाम आउला र ?
वडासम्म धेरै ठाउँमा गठबन्धन भएको छैन । त्यसले केही अप्ठ्यारो भएको छ । मेरो पार्टीले बोलाउँदा त्यहाँ जानुपर्छ । काँग्रेसले बोलाउँदा पनि जानै पर्छ । गठबन्धनको साझा उम्मेदवार भएकाले माओवादीले बोलाउँदा पनि जार्नै पर्‍यो । मलाई भ्याइ नभ्याइ छ । वडासम्म गठबन्धनबीच तालमेल नभएकाले केही गाह्रो भए पनि सम्रगमा गठबन्धनबीच तालमेल मिलेको छ । सबैले सबैलाई माया गरेको अवस्था छ । गठबन्धनका दलले मेयर र उपमेयरमा एक अर्कालाई मत नदिएर अरुलाई दिने कुरा हुँदैन । हामीले एक अर्कालाई भोट नदिने हो भने यहाँ तानाशाह र स्वच्छेचारीको पार्टी जितेर आउँछ । त्यो डर गठबन्धनमा भएका सबै पार्टीलाई छ ।
 
गठबन्धनले काठमाडौंको मेयर र उपमेयरमा चर्चित व्यक्तिलाई उम्मेदवार बनाएन भन्ने आरोप छ । यसमा तपाईको तर्क के छ ?
चर्चित कुरा गर्दा कसलाई चर्चित भन्ने ? कलाकार ल्याएर उठाउने त कुरा भएन नि !
 
देशको राजनधानी रहेको काठमाडौं महानगरको मेयर र उपमेयरका लागि गठबन्धनका उम्मेदवारको राजनीतिक परिचय र वजन भएन कि ?
सिर्जना सिंहको लामो राजनीतिक इतिहास छ । उहाँ पहिले पार्टीमा आबद्ध भएको मान्छे हो । उहाँको पारिवारिक पृष्ठभूमि छ । उहाँको राजनीतिक परिचय र वजन छैन भन्न मिल्दैन । यो नचाहिने हल्ला हो । उहाँ नेविसंघबाट संघर्ष गरेर आएको नेतृ हुनुहुन्छ । प्रकाशमान सिंहसँग बिहे गर्नुभयो भन्दैमा उहाँ ‘अनलाइट’ भन्ने हुन्छ ? उहाँको आफ्नै इतिहास छ, आफ्नै पहिचान छ । महिला संघको उहाँ अहिले पनि नेतृ हुनुहुन्छ । उहाँलाई कसरी ‘अनलाइटी’ भन्ने ?

मेरै सवालमा भन्नुहुन्छ भने म पार्टीको केन्द्रीय कमिटी सदस्य हुँ । महानगरको अध्यक्ष अहिले पनि छु । विगतको समयमा एमालेका विभिन्न संगठनमा बसेर काम गरेको छु । तत्कालीन समयमा युथफोर्सको म भ्याली इन्चार्ज हुँ । म कसरी ‘अनलाइट’ ? अर्को कुरा, मान्छे पार्टीले अगाडि सारेपछि पो लाइटमा आउने हो । जबसम्म पार्टीले अगाडि सार्दैन, हामी कसरी लाइटमा आउँछौं ? हामी कुनै ठूलो कलाकार, व्यापारी र पत्रकार पनि होइनौं । पार्टीले अगाडि सारेपछि अहिले म लाइटमै छु नि । अब रामेश्वर श्रेष्ठ को हो भन्ने कुरा काठमाडौंवासीलाई परिचय दिनुपर्छ जस्तो लाग्दैन । एक खालको परिचय गएको छ । यही हो लाइट भनेको । यही हो परिचय ।
 
तपाई आफूलाई चिनाइराख्नु पर्दैन भन्नुहुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका बाहेक काठमाडौंको मेयर र उपमेयरका उम्मेदवार टिप्पणी गर्न लायक पनि नभएको बताउनुभयो नि ?

उहाँको पार्टीले पठाएका उम्मेदवारहरु के लायक छन् त ? मेयरको उम्मेदवार धेरै पार्टी डुलेर आउनुभएको छ । यो बाहेक उहाँबारे टिका टिप्पणी नगरौं ।

एमालेले उपमेयरको उम्मेदवार बनाएको मान्छे एमालेको साधारण सदस्य समेत होइन । अहिले सदस्यता दिए थाहा छैन । उहाँ एउटा फेलियर जागिरे हो । उहाँ कुन कुराले लायक हो ? केपी ओलीजीलाई प्रश्न छ– उहाँले के क्रान्ति गरेर टिकट पाउनु भयो ? एमालेको उपमेयरको उम्मेदवार चर्चाका आएको एक महिना पनि भएको छैन । उहाँले मेयरमा उठ्छुभन्दा म पनि मेयरको उम्मेदवार हुन्छु भनेर चर्चा पाउन थालिसकेको थिएँ । मेरो पार्टीले अहिले मेयरमा काँग्रेसलाई सहयोग गर्नुपर्‍यो । उपमेयर हुनुपर्छ भनेपछि म मेयरबाट ‘ब्याक’ भएको हुँ । युथफोर्सको भ्याली इन्चार्ज भएको मान्छे हो म, उहाँ (केपी ओली)लाई मन नपरेपछि म ‘अनलायक’ ? लायक नै होइन रे । अनि पार्टीको साधारण सदस्य नभएको मान्छे लायक हुन्छ र ? यस्तो पाराले एमाले बच्दैन, लेखेर राख्नुस् ।

पार्टीको क्याडरलाई ‘स्याक’ गरेपछि किन बस्ने पार्टीमा ? उहाँलाई मेरो चुनौती छ । उहाँका उम्मेदवारसँग मैले के विषयमा बहस गर्नुपर्ने हो ? मलाई लायक छैन भन्ने ? म एउटा शिक्षित युवा हुँ । मैले राजनीतिशात्र र वैदेशिक मामिलामा मास्टर गरेको छु । पिएचडी गर्दैछु । अनि म लायक नै छैन रे ! एमालेको साधारण सदस्य नभएको मान्छे लायक हुन्छ ? त्यो उहाँलाई मात्र लायक लागेको हो । उहाँको आँखालाई मात्र लागेको हो, जनताका लागि लायक होइन । मेरो चुनौती छ सुनिता डंगोल के विषयमा लायक ?
 
तपाईलाई काँग्रेसको पूरा साथ नहुन सक्छ । एकीकृत समाजवादीको संगठन कमजोर छ । यस्तो अवस्था तपाईलाई चुनाव जित्न कठिन छ भन्ने विश्लेषण छ । यसमा तपाईको भनाइ के छ ?
काँग्रेसको सय प्रतिशत समर्थन मलाई हुन्छ । किनभने मलाई समर्थन नगर्दा अर्कै मान्छे जितेर आउँछ । यो डर र त्रास उहाँहरुलाई छ । उहाँहरु हामीभन्दा चिन्तित भएर हामीलाई भोट मागिराख्नुभएको छ । हामी पनि आफ्नोभन्दा बढी चिन्ता लिएर भोट मागिरहेका छौं । गठबन्धनमा गडबड हुँदा तानाशाह र स्वच्छेचारी आउँछ । त्यसैले गठबन्धनप्रति हामी सबै इमानदार छौं । हाम्रो जित निश्चित छ ।
 
एमालेका मेयर र उपमेयरका उम्मेदवार एकपछि अर्को विवादमा आइरहेको अवस्था छ । यसले तपाईंहरुमा उत्साह थपेको हो ?
नेतृत्व नै विवादित भएपछि उम्मेदवारहरु विवादित हुने भइगयो नि ! एमाले नेतृत्व नै घमण्डी छ । व्यवहारिक छैन । त्यो घमण्ड माथिबाट तल सरेको छ । अनि विवादित नभएर के हुन्छ ? म त बुद्धको अनुयायी हुँ । मैले बुद्धिजममा पिएचडी गर्न लागेको छु । मसँग कुनै घमण्ड छैन । तर खड्गप्रसाद ओलीबाट मेयर र उपमेयरको उम्मेदवारमा घमण्ड सरेको छ । मेयरको उम्मेदवार हेर्नुस्, कुटौँला झैं गर्छ । ‘ब्ल्याकबेल्ट’ हुँ भन्छ । उपमेयरको उम्मेदवारमा पनि त्यस्तै देखिन्छ । म यसो हेर्छु, अहिलेदेखि दम्भ छ । जितिहाल्यो भने कस्तो गर्ने होला ? आफ्ना योजना सुनाएर हामी शिष्ट र सभ्य भाषामा भोट मागिरहेका छौं । तर उहाँ भोट दिने भए देऊ, नभए ठोकौं कि जस्तो गर्छ बा ! जनतालाई यस्तो भन्न पाइन्छ ?
 
उहाँहरुको त्यस्तो शैलीले उत्साही हुनुहुन्छ ?
म त एकदम उत्साही छु । यस्तो शैलीले एमालेका उम्मेदवारलाई भोट दिनुहुन्न ।

साना दल र स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धालाई चाहिँ कसरी हेर्नु भएको छ ?
प्रतिस्पर्धामा आउनु राम्रो हो । तर स्वतन्त्र उम्मेदवारलाई गाह्रो छ । योजना र कार्यक्रम भएरमात्र हुँदैन । पार्टी संगठन पनि चाहिन्छ । मसँग पार्टी छ । त्यसैले मसँग काँग्रेस, माओवादी, जसपा र जनमोर्चाको पनि शक्ति छ । यसले हाम्रो योजनाको पनि अर्थ राख्छ । योजनामात्र भएर पार्टी भएन भने शक्ति हुँदैन । अब पार्टीमात्र छ, योजना छैन भने पनि हुँदैन । हामीसँग दुबै कुरा छ । जनताको साथ पनि छ ।
 
काठमाडौंमा तपाईहरुको योजना र पार्टीगत शक्तिले कुन परिणाम दिने अपेक्षा गर्नु भएको छ ?
काठमाडौं लगायतका ठाउँमा गठबन्धनले सबै शक्तिलाई स्वीप गर्छ । एमाले र माओवादीबीच गठबन्धन गरेका बेला लगभग लगभग स्वीप गरेको थियो । कहीँ कहीँ एकदुई/एकदुई आएको थियो । तर अहिले त दुई दल होइन पाँच दलबीच गठबन्धन छ । यस्तो राम्रो योजना छ । यत्रो जनताको साथ छ । मुख्य प्रतिस्पर्धी पार्टीका उम्मेदवार कोही केमा विवादित, कोही केमा विवादित छन् । हामीलाई एकदम सजिलो लागेको छ ।
 
एमालेका उपमेयरका उम्मेदवारको चर्चा राम्रै्र छ । उहाँसँग जित्न सकिन्छ भन्ने लाग्छ ?
पक्कै जित्छु । प्रतिस्पर्धा एमालेसँग हुने हो भन्ने कुरा मान्छु । सुनिता डंगोल एमाले नै होइन । मत एमाले थिएँ नि ! एमालेका धेरैजसो साथीहरु त्यहाँ छन् । उनीहरुले मलाई फोन गरेका छन् । हाम्रो पार्टी सदस्य नै नभएको मान्छेलाई टिकट दिइयो कमरेड । हामी सबैको भोट तपाईलाई नै आउँछ है भनिराख्नु भएको छ । ‘तपाईले त विगतमा एमालेलाई योगदान गरेको मान्छे हो । त्यो बेला एमालेले माया गरेको मान्छे । एमालेले मलजल गरेको मान्छे उठ्नु भएको छ । तपाईलाई भोट आउँछ’ भनेर सबैले भनिरहेका छन् । उहाँलाई स्वतन्त्र भोट आउला । उहाँलाई एमालेको पार्टीगत भोट चाहिँ आउँदैन, लेखेर राख्नुस् ।
 
एमालेका कार्यकर्ताले सुनिता डंगोललाई होइन, सूर्यलाई भोट दिन सक्छन् नि ! सूर्यप्रतिको गहिरो लगाव छ । तपाईले मत पाउनु होला र ?
एक पटक सोच्छन् होला नि, यो मान्छेले सूर्य चिन्हका लागि कति काम गर्‍यो, कति पसिना र रगत बगायो भनेर ? सूर्य चिन्ह जनताको माझमा स्थापित गर्न उहाँको जिरो योगदान छ । त्यसैले मैले गठबन्धनका अलावा एमालेबाट पनि केही भोट पाउनेमा ढुक्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप