बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपालका कम्युनिस्ट घटकबारे यस्तो छ बाबुरामको टिप्पणी

मङ्गलबार, २८ असार २०७९, १५ : ४७
मङ्गलबार, २८ असार २०७९

 जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा दर्जनौं कम्युनिस्ट समूह रहे पनि तिनको विचार र उत्पति आधार एउटै रहेको टिप्पणी गरेका छन् । मंगलबार राजधानीको जडीबुटीमा आयोजित पार्टीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले नेपालका सबै कम्युनिस्ट घटकले कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सले सन् १८४८ मा लेखेको ‘कम्युनिस्ट घोषणा पत्र’ लाई वैचारिक आधार मान्ने गरेको उल्लेख गरेका छन् ।

नेपालका कम्युनिस्ट पार्टीहरुलाई लक्षित गर्दै उनले प्रतिवेदनमा भनेका छन्, ‘यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ नयाँ जनवादी क्रान्ति र माओ त्से तुङ विचारधाराबाट प्रभावित छन् । यी सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन् । यी समूहहरु बीचको भिन्नता दार्शनिक तथा विचारधारात्मक हैन ।’

यी दलबीच राजनीतिक कार्यदिशा, कार्यनीति र खासखास एजेण्डामा मात्रै भिन्नता रहेको जिकिर गर्दै डा. भट्टराईले प्रतिवेदनमा भनेका छन्, ‘भन्ने एउटा, गर्ने अर्को जस्तो पाखण्डी चरित्र प्रदर्शनमा यिनीहरु उस्तै छन् । अर्थात् व्यवहारवादी र जडसुत्रीय अवसरवाद यी सबै समूहको साझा चरित्र हो ।’

सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’ मार्फत् ‘संसदीय प्रणाली’ को बाटो समातेर विस्तारै करिब काँग्रेसजस्तै जस्तै बन्न पुगेको उनको टिप्पणी छ ।

माओवादी केन्द्रले हिजो माओवाद, एक्काइशौं शताब्दिको जनवाद, प्रचण्डपथजस्ता विचारको कुरा गरे पनि एमालेसँगको एकता, नेकपा (नेकपा) को निर्माण र सहकार्यको करिब साँढे ३ वर्षको अवधिमा यो पार्टी एमालेजस्तै ‘जनताको बहुदलीय जनवादी’ बनेको भट्टराईको ठहर छ ।

‘माओवादी’ ब्राण्ड मात्रै हो कि विचारधाराले नै माओवादी हो भन्ने प्रश्न गर्न सकिने उल्लेख गर्दै उनले औपचारिक रुपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलिक विचारधारा माओवादी केन्द्रसँग बाँकी नरहेको जनाएका छन् ।

​नेकपा (एकीकृत समाजवादी) को विचार, सिद्धान्त र एजेण्डा के हो, त्यो एमाले र माओवादी केन्द्रसँग के कति कारणले समान वा फरक छ भन्ने अझै प्रस्ट नभएको उनको टिप्पणी छ । ‘केपी शर्मा ओलीको कार्यशैली र  असंवैधानिक संसद विघठनसँग विमति राखेर एमालेबाट फुटेको दलमात्र भएको हुँदा यसको विश्लेषण पद्धति आधारभूत रुपमा एमालेको जस्तै छ,’ नेकपा एकीकृत समाजवादीका बारेमा उनले भनेका छन्, ‘यो दलले कुन बाटो रोज्छ, यसको राजनीतिक भविष्य के कस्तो हुन्छ, अझै केही समय पर्खेर हेर्नु पर्दछ ।’

यद्यपि यी तीन वटै ठूला कम्युनिस्ट समूह शास्त्रीय जडता र व्यवहारिक स्खलनको अनौठो स्थितिमा पुगेको डा. भट्टराईको टिप्पणी छ । उनले भनेका छन्, ‘आफूलाई कम्युनिस्ट भन्छन्, कम्युनिस्ट शब्दप्रतिको जनताको मोहको शोषण पनि गर्दछन् तर कम्युनिस्ट बाँकी छैनन्, छोड्न पनि सक्दैनन् ।’

व्यवहारमा यी कुनै पनि समूह काँग्रेसभन्दा फरक नरहेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

साना बामपन्थी वा कम्युनिस्ट समूहमा कुनै उल्लेखनीय नयाँ विचार र सृजनशील क्षमता नदेखिएको उनको भनाइ छ । ‘तिनीहरुसँग देशको राजनीतिक कार्यदिशालाई प्रभावित गर्न सक्ने क्षमता पनि देखिन्न । शास्त्रीय साम्यवादको विश्व असफलतापछि पनि पुरानै वैचारिक आग्रह छोड्न नसकेको कारणबाट उत्पन्न कुन्ठा, निरासा, हतासा र उद्धिग्नताबाहेक साना बामपन्थी समूहसँग थप कुनै गुण देखिन्न,’ उनको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप