शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गभर्नरबारे उठ्यो सडकदेखि सदनसम्म प्रश्न : ‘को हुन् एम अधिकारी बार्दलीको हनुमान ?’

बुधबार, २९ असार २०७९, २२ : ५७
बुधबार, २९ असार २०७९

प्रतिनिधिसभा बैठकदेखि सडकसम्म एम अधिकारीको खोजी भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलका सांसदहरुले एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रहेको भन्दै कारवाही गर्न माग गरेका छन् । प्रचलित कानुन नियम विपरित गभर्नर अधिकारी एमाले सदस्य रहेको भन्दै उनले पदमा बस्न उचित नहुने भन्दै प्रश्न उठाएका छन् । 

अधिकारी एमाले पार्टीभित्र अर्थ योजना विभागको सदस्य रहेको बताउँदै छानविन गरी कारवाही गर्न उनीहरुले माग गरे ।  प्रतिनिधिसभाको विशेष समय लिएर बोल्दै काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले गभर्नर एमालेको सल्लाहकार भएर अहिलेको सरकारलाई सहयोग नगरी यो सरकार श्रीलंका जस्तो हुन्छ, अब टाट पल्टिन्छ भनेर निजी क्षेत्रलाई हतोत्साही बनाएको बताए ।

अधिकारीले शेयर मार्केटका ४० लाख मानिसहरुलाई हतोत्साही गर्ने, शेयर मार्केटलाई आतंकित पार्ने काम गरेको बताए । उनले गभर्नर अधिकारीको जथाभावी बोल्ने र नागरिकहरुलाई आतंकित बनाउने काम रोक्न सभामुख अग्नि सापकोटालाई रुलिङ गर्न समेत माग गरे । उनले राज्यको जिम्मेवार व्यक्तिले व्यापारी, नागरिक सबैलाई आतंकित गरेकोले त्यसलाई बन्द गर्न माग गरे । 

अर्थतन्त्रको पुरै जिम्मेवारी लिएको गभर्नर आफैले मुलुक श्रीलंकातर्फ जाँदैछ भनेको प्रति आपत्ति समेत जनाए । उनले जिम्मेवार व्यक्तिले छिमेकी देशको नाम लिएर नेपालको अवस्था चित्रण गर्न खोज्नु कुटनीतिक हिसावले पनि ठिक नभएको बताए । 

यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंक जस्तो देशको अर्थतन्त्र सम्हाल्ने संस्थाको प्रमुख गभर्नर महाप्रसाद अधिकारी एमालेमा आवद्ध हुनु राष्ट्र बैंक ऐन, कर्मचारी नियमावलीको विपरित रहेको बताइन् ।  उनले भनिन्– ‘एकातर्फ हामी देशको अर्थतन्त्र बिग्रियो भनेर चिन्ता गरिरहेका छौँ अर्कोतिर कसका कारणले यस्तो भएको भनेर आरोप प्रत्यारोपमा लागिरहेका छौँ । त्यसले गम्भीर रुप पनि लिएको छ । अर्कोतिर राष्ट्र बैंकका प्रमुख राजनीतिक दलमा आवद्ध भएका छन् । कुनै पनि ब्यक्ति राजनीतिक दलमा लागेपछि सो पार्टीको निर्देशन मान्नुपर्छ, दलको आलोचना अनुशासन पालना गर्नुपर्छ । गभर्नर जस्तो व्यक्ति कुनै पनि दलको सदस्यको रुपमा बस्दा उहाँले यो सरकारको निर्देशन पालना गर्नुहुन्छ कि प्रतिपक्षी दल एमालेको ?’

उनले अहिले अर्थतन्त्रमाथि नियोजित ढंगले प्रहार भइरहेको बताउँदै गभर्नर अधिकारीमाथि गम्भीर ढंगले छानविन गर्न माग गर्दै दोषी उपर कारवाही गर्न माग गरिन् ।  

गगनको कटाक्ष : मेरो सुझाव गभर्नरलाई हो, एम अधिकारीले बुझ्नु भएमा क्षमा चाहन्छु

नेपाली काँग्रेसका सांसद गगन थापाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति कटाक्ष गरे । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै काँग्रेस महामन्त्री थापाले मौद्रिक नीतिबारे एमालेको अर्थ योजना विभागका सदस्य एम अधिकारीलाई नभई गभर्नरलाई सुझाव दिएको उल्लेख गरे । 

आफ्ना सुझावहरु राखेपछि थापाले भने–‘मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो, नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’

यस्तै उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने बताए ।  ‘तरलताको अभाव, चुलिँदा व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, आकासिँदो मूल्यबृद्धि र मागमा संकुचन जस्ता चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ,’ उनले भने । 

परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणाली बाहिर रहेको पैसालाई सिस्टममा ल्याउने र केही घरानाको कब्जामा रहेको इकोनोमीलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिमा गरिनुपर्ने भनाइ छ । शेयर बजारमा सुधार गर्ने भनेर ल्याइएको ४–१२ को नीतिले ठूला घरानालाई पोस्ने, सानोलाई कस्ने काम भएको थापाले बताए । ‘शेयर बजारमा सुधार गर्ने भनेर ४–१२ को नीति ल्याइयो । सरले ठूला घरानालाई पोस्ने, सानोलाई कस्ने काम भयो ।’
राष्ट्र बैंकले जे सोचेको भएपनि अपेक्षा गरेको परिणाम नआइसकेपछि अब शेयर बजार नीति सच्याउनुपर्नेमा थापाले जोड दिए । 

एमालेले गर्यो गभर्नर महाप्रसाद अधिकारीको बचाउ 
एमालेले प्रतिनिधिसभा बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बचाउ गरेको छ । बिहिबार संसदमा सत्तापक्ष सांसदहरुले प्रचलित कानुन विपरित गभर्नर अधिकारी एमालेको सदस्य रहेको भन्दै छानविन गर्न माग गरेपछि एमालेले बचाउ गरेको हो । 

एमाले सांसद कृष्णभक्त पोखरेलले गभर्नर महाप्रसाद अधिकारी आफ्नो दलमा नरहेको भन्दै बचाउ गरेका हुन् ।  उनले भने–‘एम अधिकारी भन्ने व्यक्ति एमालेको अर्थ विभागमा रहेको र उहाँ राष्ट्र बैंकको गभर्नर हो भनी सत्तापक्षका सांसदहरुले अर्थ मन्त्रालयको असक्षमता लुकाउन विषयान्तर गरी मनोगत भावना राखेको देख्दा दयाभाव जागिरहेको छ । स्वयं महाप्रसादजीले म कुनै पार्टीमा छैन भन्ने वक्तब्य दिइरहेको विषय संसदमा प्रश्न उठाउन मिल्ने विषय पनि हैन ।’

उनले गठबन्धन सरकारले अवैध अरबौं रुपैयाँ बैध बनाउन दिएको आदेश नमान्दा देश श्रीलंका जस्तो हुन्छ भन्ने सत्तापक्षको बुझाई हो भने त्यसमा एमालेको दयाभाव बाहेक अरु केही नजाग्ने टिप्पणी गरे । 

गभर्नर विरुद्ध आन्दोलन चर्काउँदै लगानीकर्ताहरु

धितोपत्र बजारका लगानीकर्ताहरूले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध आन्दोलन चर्काउने भएका छन् । राष्ट्र बैंकको जिम्मेवार पदमा बहाल रहेकै समयमा गभर्नर अधिकारीको नेकपा एमाले पार्टीको विभागीय जिम्मेवारीमा समेत नाम जोडिएर आएपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन् ।

गभर्नर अधिकारीले गभर्नरभन्दा बढी पार्टीको कार्यकर्ताको रुपमा परिचालित भएको भन्दै लगानीकर्ताहरूले त्यसको भन्डाफोर गर्दै राजीनामा समेत माग गर्ने बताएका छन् ।  यसअघि नै गभर्नर अधिकारीले ४/१२ को नीति ल्याएर सेयर बजारलाई नियन्त्रण गर्ने लागेपछि लगानीकर्ताहरु उनीसँग रुष्ट बन्दै आएका छन् । 

गभर्नरलाई तत्काल बर्खास्त गर्न विद्यार्थी संगठनको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । अधिकारीले कानुन विपरित दलीय जिम्मेवारी लिएको भन्दै संगठनले गभर्नरलाई बर्खास्त गर्न माग गरेको हो ।

अध्यक्ष पन्चा सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र बैंक सञ्चालनको निम्ति बनेको नेपाल राष्ट्र बैंक ऐन २०५८, को दफा २१ को उपदफा –क) मा  भनिएको छ, ‘गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त व्यक्ति “राजनैतिक दलको सदस्य वा पदाधिकारी” भएमा नियुक्त हुन अयोग्य हुने छ ।’ उनले प्राप्त गरेको दलीय जिम्मेवारीले  नेपाल राष्ट्र बैंक ऐन २०५८, को उल्लेखित दफाको उल्लङ्घन गरी कानुनको धज्जी उडाएको हुँदा उनलाई तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौँ ।’

‘राष्ट्र बैंकको गभर्नर नेपाल सरकारको मौद्रिक नीति निर्माणको नेतृत्व हो । सरकारको वित्तीय नीतिलाई सफल बनाउने गरी मौद्रिक नीति निर्माण गर्ने र वित्तीय क्षेत्रको नेतृत्व गर्नुपर्ने नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर विगत देखि नै विभिन्न सेयर कारोबारमा अवैध संलग्नता, क्रिप्टो करेन्सी लगायत प्रकरणमा विवादास्पद बनेका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘उनले हालै मात्र प्रमुख प्रतिपक्ष दलको अर्थ तथा योजना विभागको सदस्यको रूपमा जिम्मेवारी प्राप्त गरेको कुराले हामीलाई गम्भीर बनाएको छ ।’  गभर्नरलाई तत्काल बर्खास्त नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।

हु इज एम अधिकारी ? सडकमा माओवादीको प्रदर्शन 
एमालेको अर्थ तथा योजना विभागको सदस्यमा नियुक्त भएका खोटाङ घर भएका ‘एम.अधिकारी’ को व्यापक खोजी भयो । ‘एम अधिकारी’ भनेका व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको धेरैको दाबी छ । यसअघि पनि अधिकारी एमालेकै सोही विभागका सदस्य रहेका थिए ।

यसपटक गभर्नर पदमा भएका कारण उनको नाम छोटकरीमा ‘एम अधिकारी’ राखिएको आरोप छ । किनभने कानुनले गभर्नर पदमा रहँदा कुनै पनि पार्टीमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ । एमालेले एम अधिकारी को हुन् अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । यसले गभर्नरमाथि थप आशंका पैदा भएको छ ।

बुधबार साँझ माओवादी निकट विद्यार्थी संगठनले गभर्नर एमालेकै कार्यकर्ता रहेको पुष्टि भएको बताउँदै राजधानीमा प्रदर्शन गरेको छ । उनीहरुले गभर्नर अधिकारीको राजीनामा समेत माग गरेका छन् । उता, सेयर बजारका लगानीकर्ताहरु पनि गभर्नर विरुद्ध सडकमा उत्रिएका छन् । 

मंगलबार एमालेको अर्थ तथा योजना विभागको सदस्यमा ‘एम अधिकारी, खोटाङ’भन्ने विवरण सार्वजनिक भएसँगै लगानीकर्ताहरु आन्दोलित भएका छन् । यद्यपि, एम अधिकारी स्वयम् गभर्नर अधिकारी नै हुन वा होइनन् सो भने अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

विभागीय जिम्मेवारीमा रहेको उक्त व्यक्ति आफू नभएको अधिकारीको दाबी छ । नेकपा एमालेका नेताहरुले पनि एम अधिकारी गभर्नर अधिकारी नभएको बताइरहे पनि ती व्यक्ति को हुन् भनेर स्पष्ट पार्न सकेको छैन ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप