मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानाध्यापकबाट राजीनामा दिएर वैदेशिक रोजगारीमा फसेकाको उद्धार

बुधबार, १८ साउन २०७९, १२ : १७
बुधबार, १८ साउन २०७९

काठमाडौँ । हक्की स्वभाव, निर्भीक, उमेरले ६० पुगे पनि भर्खरको तन्नेरी जस्तो सक्रिय । एक कल फोनकै भरमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न सक्ने । 

सरकारी अधिकारीसँग प्रष्ट कुरा राख्न सक्ने, दलाललाई पानी पानी बनाइदिन सक्ने बनाएको उनलाई सानो मिहिनेतले होइन । त्यसका लागि १३ वर्ष लाग्यो । सिन्धुलीका ६० वर्षीय इन्द्रलाल गोलेले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आएको १३ वर्ष पूरा भयो । 

उनी नेपालमा भन्दा पनि विदेशमा अलपत्र परेका नेपालीको सहयोगमा बढी सक्रिय हुन्छन् । उनी वैदेशिक रोजगार उद्धार नेपाल (रेस्क्यु नेपाल) नामक संस्था खोलेर २०६६ सालदेखि निरन्तर लागिरहेका छन् । 

काठमाडौँमा श्रम विभाग, श्रम कार्यालयका कर्मचारीहरूसँग सधैँ झगडा पर्छ । तपाईंले देखेर आएको हो र भन्दै झपार्छन् । 

साउदीमा यस्ता समस्या सबैभन्दा धेरै छन्, दुबईमा मात्र भिजिट भिसामा जाने ६ हजार छन् । निवर्तमान श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र हामी मिलेर मान्छे ल्याउन खोजेका थियौँ, उहाँका पद नै गयो भन्छन् उनी । 

कुनै बेला गोले विद्यालयमा प्रधानाध्यापक थिए । अध्यापनसँगै उनी गाउँघरमा राजनीति पनि गर्थे । यो कुरा राज्यलाई पचेन । सुरक्षाकर्मी आएर उनलाई दुःख दिन थाल्यो । त्यसपछि शिक्षण पेसा नै छोडेर राजनीतिमा होमिन पुगे । 

कम्युनिस्ट विचारधारा बोकेका गोले काठमाडौँ आएर राजनीति गर्न थाले । उनले २०५६ सालमा  निर्वाचनसमेत लडे । पार्टीबाट टिकट नपाएपछि  स्वतन्त्र भएर पनि चुनाव लडे । तर पराजित हुन पुगे । त्यसपछि उनको बाटो मोडियो । राजनीतिप्रति पनि उनको वितृष्णा पैदा भयो । 

त्यसपछि उनी रेस्क्यु नेपाल संस्था खोलेर विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा लागे ।

प्रधानाध्यापक कसरी बने उद्धारकर्ता ? 

२०३५ सालदेखि सिन्धुलीको पञ्चकन्या प्राविको प्रधानाध्यापक थिए उनी । पढाउने क्रममा ‘रसुवाको मान्छे त बेच्यो ! नुवाकोटको मान्छे बेच्यो !’ भन्ने खबर दिनदिनै सुन्न थाले उनले ।  दिनदिनै यस्ता खबर आउन थालेपछि उनलाई ‘हैन मान्छे पनि बिक्री हुन्छ ?’ भन्ने लाग्यो । उनी अचम्ममा परे । यसलाई उनले निकै चासोका साथ हेरे । त्यसपछि उनले बुझे नेपालीलाई वैदेशिक रोजगारीमा पठाएर बेचबिखन गर्दा रहेछन् । यो कुराले उनलाई साह्रै पीडा भयो । 

एकातिर उनको मनमा मानव बेचबिखनको विषयले सताइरहेको थियो भने अर्कोतिर राजनीति गर्न लागेको भनेर राज्यले दुःख दिइरहेको थियो । 

त्यसपछि उनले जागिर छोड्ने निर्णय गरे । ‘तीन वर्षलाई बेतलबी अध्ययन बिदा लिएर पब्लिक युथ क्याम्पसमा पढ्न आएँ,’ गोलेले भने, ‘त्यसपछि म स्कुलमा गइनँ । राजीनामा चाहिँ २०५० सालमा गरेँ ।’  

काठमाडौँमै बसेर राजनीति गर्न थालेका उनलाई यो पेसाप्रति पनि वितृष्णा पैदा भयो । 

‘वैदेशिक रोजगारीमा गएकाहरू अलपत्र परेको भन्ने समाचार आइरहन्थ्यो । अनि यो विषयको अध्ययनतिर लागेँ । धेरै म्यानपावरमा गएँ । मैले उनीहरूलाई किन मानिस अलपत्र पर्छन् ? किन समस्यामा पर्छन् भनेर सोध्न थालेँ,’ उनले भने । 

यो क्षेत्रमा देखिएका समस्या पत्ता लगाएपछि उनी अब राज्यलाई सहयोग गर्छु भनेर अगाडि बढे । त्यसका लागि उनले दुई वर्ष जति अध्ययन पनि गरे । 

‘राज्यको मात्र मुख ताकेर मात्र हुँदैन । मैले राज्यलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो । सहयोग त गर्ने तर कसरी ? व्यक्तिको सहयोगको त अर्थ लाग्दो रहेनछ । त्यसपछि मैले संस्था खोल्ने निर्णयमा पुगेँ र संस्था खोलेँ,’ उनले भने । 

उनलाई यो संस्था खोल्न पनि एक वर्ष लाग्यो । राज्यले संस्था खोल्नसमेत अनुमति दिन आनाकानी ग¥यो । 

सरकारले दर्ता गर्न दिएन । क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाबाट सिफारिस ल्याउन भनियो, त्यहाँबाट सिफारिस ल्याए । वैदेशिक रोजगार विभागबाट, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट र परराष्ट्र मन्त्रालयबाट सिफारिस ल्याउन भन्यो । त्यो पनि ल्याए । तर अन्तिममा आएर श्रम मन्त्रालयका सहसचिवले फाइल नै फिर्ता पठाइदिए ।

त्यसरी सहसचिवले दर्ता गर्न मिल्दैन भनेर फाइल नै फिर्ता पठाएपछि उनी केही समय निकै तनावमा परे । 

एक महिनाको तनावपछि उनी एकाएक मन्त्रालयका सचिवलाई भेट्न पुगे । सचिवसँग सबै कुरा राखे । सचिवले फाइल ल्याउन भने । राज्यलाई सहयोग गर्न खोलिन लागेको संस्था दर्ता नगरेर हुन्छ भन्दै उनले सिफारिस गरिदिए । 

सचिव स्तरको निर्णयबाट यो संस्था दर्ता गर्न सिफारिस गर्दछ भनेर लेखिदिएपछि संस्था दर्ता भयो । १२ जेठ २०६६ मा संस्था दर्ता भयो । त्यसपछि मेनपावर व्यवसायीले निकै तनाव दिए ।

संस्था दर्ता भएपछि धमाधम उद्धारका काममा लागे । सुरुमा सबैभन्दा बढी बेचिएका नुवाकोट लगायतलाई प्राथमिकतामा राखे । केही दलालको पहिचान गरेर प्रहरीलाई जानकारीसमेत गराए । प्रहरीले पक्राउ गरेर जेल हालेपछि मानव बेचबिखन केही हदसम्म कम भयो ।  

लामो समय यही क्षेत्रमा काम गर्दै उनले धेरै देशमा नेपालीको अवस्थाबारे बुझ्ने मौका पनि पाए । अहिले सबैभन्दा बढी समस्या साउदीमा रहेको उनको भनाइ छ । नेपालबाट ड्राइभर भनेर पठाउने उता उट चराउन लगाउने, बाख्रा चराउन लगाउने गरेको उनको भनाइ छ ।

‘यताबाट जुन कामका लागि गएको हो, त्यही काममा लगाउनुपर्छ । एक महिना सिक्न टाइम लाग्ला, त्यसपछि त उसले काम गर्न थालिहाल्छ नि,’ उनले भने । 

ती देशमा रहेका नेपाली दूतावासले राम्रोसँग काम गर्न नसकेको उनको गुनासो छ । ‘दूतावासको कामै छैन । दूतावासले केही गर्नेवाला छैनन् । दूतावास स्थापना गर्नुको उद्देश्य त्यो देशमा नेपालीलाई समस्या प¥यो भने सहयोग गर्नु हो । तर कुनै पनि नेपालीले सहयोग पाउँदैनन् । विशेषगरी वैदेशिक रोजगारीमा गएका श्रमिकहरूले जति आशा गरेका हुन्छन्, उनीहरूले सहयोग पाउँदैनन् । दूतावासबाट सहयोग पाइएला भनेर आशावादी हुन्छन्, दूतावासमा पुगेपछि निराशावादी भएर फर्किनुपर्छ,’ उनले भने । 

उक्त संस्थाले अहिलेसम्म एक हजारभन्दा बढी अलपत्र परेका, समस्या परेका नेपालीहरूको उद्धार गरिसकेको छ । त्यस्तै २०० जना जतिको शव नेपाल ल्याइसकेको छ । संस्थाले विदेशमा मृत्युवरण गरेका नेपालीको शव ल्याउने, एग्रिमेन्ट अनुसारको तलबभत्ता नपाएका, काम नपाएर अलपत्र परेका नेपालीको उद्धार गर्दै आएको उनको भनाइ छ । 

विदेशमा नेपालीहरूमा सबैभन्दा ठूलो समस्या भाषाको देखिएको उनको भनाइ छ । ‘भाषा नबुझ्दा समस्या भइरहेको छ । अङ्ग्रेजी नबुझ्ने ठाउँमा त्यहीको भाषा बोल्नुपर्छ तर नेपालीहरू त्यो बुझ्दैनन् । भाषागत समस्या हुँदैनथियो, धेरै समस्या कम हुन्थ्यो,’ उनले भने । 

समस्यामा परेका नेपालीको उद्धारमा कठिनाइ रहेको उनको भनाइ छ । ‘विभागले श्रम स्वीकृति दिन्छ, भोलि विदेशमा अलपत्र प¥यो भने परराष्ट्र मन्त्रालयले उद्धार गर्नुपर्छ । यहाँ दुई सरकारी निकायबीच समन्वय हुँदैन,’ गोलेले भने ।

विश्व श्रम बजारमा नेपाली अत्यन्तै समस्यामा पर्ने गरेको उनको भनाइ छ । ‘विश्व बजारमा सबैभन्दा अप्ठ्यारो काम, सबैभन्दा सस्तो, सबैभन्दा जोखिम काम नेपालीलाई लगाउँछन् । अनि त्यहाँ मान्छेको मृत्यु हुने, अङ्गभङ्ग हुने कारणै त्यही हो,’ उनले भने । 

नेपाल सरकारको कमजोर नीतिका कारण विदेशमा नेपालीले हेपाइ सहनुपरेको उनको भनाइ छ । ‘कुनै पनि देशले हाम्रो देशको दूतावासलाई टेर्दैनन् । किन टेर्दैनन् भने हाम्रो राष्ट्रको पहुँच, नेपालको राजनीतिक उथलपुथल, मन्त्री ६/६ महिनामा फेरिरहने समस्या, राजनीतिक अस्थिरताका कारण ती देशले नेपाली दूतावासलाई टेर्दैनन्,’ गोलेले भने । 

मेनपावर व्यवसायीको लुटतन्त्र:

नेपालका धेरैजसो मेनपावर व्यवसाय राजनीतिक दलका नेता कार्यकर्ताकै भएको उनको दाबी छ । उनीहरूले मनलाग्दी पैसा लिँदा, विदेशमा नेपाली अलपत्र पार्दासमेत सरकारले कारबाही गर्न नसक्ने उनको भनाइ छ । 

‘कुनै मेनपावर व्यवसायी काँग्रेसको केन्द्रीय सदस्य छ, कोही एमालेको त कोही माओवादीको । अनि यस्तो अवस्थामा कारवाही गर्न सक्छ त ! त्यो व्यवसायीलाई कारवाही गर्न थाल्यो भने कर्मचारीको सरुवा गरिदिइहाल्छ नि,’ उनले भने । 

विदेश जाने नेपालीले सीप नसिकेर जाँदा स्वयं समस्यामा पर्ने गरेको उनको भनाइ छ । 

‘ड्राइभर भनेर जाने नेपालमा दुई दिन ट्याक्सी चलाएर विदेश गएपछि त्यो मान्छे अलपत्र नपरेर को पर्छ त ? हाम्रो कमजोरी यो हो । प्लम्बर भनेर गएर त्यो नजानेपछि भेडा नचराएर के गर्ने त ? सीप सिकेर, भाषा सिकेर जाने नेपालीमा त्यति समस्या छैन । त्यसैले म त सबैलाई के भन्छु भने भाषा र सीप सिकेर मात्र विदेश जानुहोस्,’ उनले भने । 

विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्ने दायित्व राज्यको हो । समस्या समाधान गर्ने काम राज्यको हो । तर राज्यले त्यो दायित्व पूरा गर्न नसकेपछि आफू अघि बढेको उनको भनाइ छ । 

‘इराकबाट मैले उद्धार गरेर ल्याउन सक्ने, राज्यले नसक्ने कारण के ? २२ देशमा हामीले प्रतिनिधि राखेर काम गरिरहेका छौँ । कुनै समस्या प¥यो भने त्यसरी नै हामीले तत्कालै पहल गर्छौं,’ उनले भने । 

१३ वर्षसम्म संस्था चलाएर बसेका गोलेले अहिलेसम्म कसैसँग पनि एक पैसा सहयोग नलिएको दाबी गरेका छन् । ‘आजको दिनसम्म कसैले रेस्क्यु नेपाललाई एक पैसा पनि दिएको छु भन्दै आयो भने म मरिदिन्छु,’ उनले भने । 

१३ वर्षको अविधमा उनले ३० देखि ४० लाख रुपैयाँ व्यक्तिगत खर्च गरेका छन् । उनका छोराछोरीसमेत विदेशमै छन् । पैसाको आवश्यकता परेको खण्डमा उनीहरूसँग माग्छन् । त्यहीँबाट आएको पैसाले संस्था चलाउँदै आएका हुन् । 

काम गर्दा ज्यान मार्ने धम्की 

काम गर्र्दै गर्दा उनलाई थुप्रै पटक ज्यान मार्ने धम्की आयो । कहिले १० मिनेटभित्र तँ मर्दैछस् भनियो भने कहिल्यै श्रीमतीलाई फोन गरेर तेरो श्रीमान् मर्दैछ, तँ विधवा हुँदैछस् भनेरसमेत धम्की आयो । तर उनी त्यस्ता धम्कीका अगाडि कहिल्यै डराएनन् । त्यसले उनलाई झन् बलियो बनायो । 

‘एक दिन मलाई बौद्धमा बोलाइयो । १० मिनेटभित्रमा आऊ भन्यो । जे पर्ला भनेर म गएँ । प्रहरी पनि सँगै लगेको थिएँ । त्यहाँ पुगेर फोन गरेँ । त्यसपछि उसले ‘पुलिस ल्याएर आएको होला भनेर भेट्न आएन,’ गोले भने ।  

उनकी श्रीमतीलाई पनि पटक पटक धम्की आयो । एक दिन त श्रीमती अफिसमा आएर खुट्टै समातेर अफिस छोडिदिनू, यो काम नगर्नू भनिन् । 

‘नआत्तिनु, छोरो मान्छे हुँ, मैले नराम्रो काम गरेको छु । यो सत्यको देश हो, पशुपतिको देश हो, बुद्धको देश हो । म त्यसै मर्छु भनेँ । छोराछोरी हुर्किसकेका छन् । मलाई केही भयो भने पनि किन डराउँछेउ र भनेँ,’ उनले भने । अहिले त उनलाई धम्की दिनेभन्दा पनि संस्थाको नाम लिनेबित्तिकै दलाल डराउँछन् । 

यत्रो १३ वर्षसम्म संस्था चलाइरहँदा उनले संस्थाको उत्तराधिकारी खोजिरहेका छन् । तर कोही पनि संस्थाको नेतृत्व लिन मानिरहेका छैनन् । यहाँसम्म पु¥याएको संस्थालाई कुनै सबल व्यक्तिको हातमा सुम्पिएर विश्राम लिने सोचमा उनी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप