शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान गराउनुपर्ने

बिहीबार, १९ साउन २०७९, २२ : ३५
बिहीबार, १९ साउन २०७९

नेपालमा शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान गराउने दर कम भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विश्व स्तनपान सप्‍ताह अन्तर्गत बिहीबार काठमाडौंमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो चिन्ता व्यक्त गरेका हुन् । 

परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाले आयोजना गरेको अन्तरक्रियामा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक गोमा निरौलाले जन्मने वित्तिकै  स्तनपान गराउने दर घटेको भन्दै स्तन पानसम्बन्धी प्रोटोकल बनाउनुपर्ने बताइन् ।  स्तन पानसम्बन्धी समुदायमा रहेका गलत मान्यताहरुलाई जनचेतना कार्यक्रममार्फत कम गर्नुपर्ने पनि उनको भनाइ छ । 

नेपालमा जन्मिएको एक घण्टाभित्र जम्मा ४२ प्रतिशतले मात्रै स्तनपान गराउने गरेको पाइएको छ । निरौलाले भनिन्, ‘स्तनपान गराउने टेक्निक नजानेका कारण समस्या सृजना भयो । शिशुलाई स्तनपान कसरी गराउने भन्नेबारे स्कुलको पाठ्यक्रममा विषयवस्तु समावेश गर्न लविङ गर्न अति आवश्यक छ ।’

सामुदायिक स्वास्थ्य कार्यक्रममार्फत स्तनपानसम्बन्धी जनचेतना घरघरमा पुर्याउनुपर्नेमा पनि उनले जोड दिइन् । यस्तै, कार्यक्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले स्तन पानको नैसर्गिक अधिकार भएपनि पछिल्लो समयमा पर्याप्त स्तनपान गराउने आमाहरुको सङ्ख्या कम हुँदै गएको उनले बताए । 

कार्यक्रममा परोपकार तथा स्त्रीरोग अस्पतालका बालरोग विशेषज्ञ डाक्टर कल्पना उपाध्याय सुवेदीले शिशुलाई जन्मिएदेखि  आमाले आफ्नो स्तनबाट निस्कने प्रकृतिक दूध खुवाउन अतिआवश्यक भएको उनले बताइन् ।

 शिशु जन्मेको एक घण्टाभित्र दुध ख्वाउन सुरु गर्नुपर्ने भन्दै ६ महिना पुरा नभएसम्म आमाको दूधमै बच्चामा निर्भर हुने बताइन् । शिशुलाई कम्तीमा २ वर्षसम्म निरन्तर स्तनपान गराउन पनि उनको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप