काँग्रेस नेता लेखकद्वारा तटबन्धको अनुगमन
काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुरको महाकाली र जोगबुढा नदीमा रहेको तटबन्धको अवस्थाबारे अनुगमन गरेका छन् । शनिवार प्राविधिकहरुको टोली सहित नेता लेखकले अनुगमन गरेका हुन् । कञ्चनपुरको दोधारा–चाँदनीमा महाकाली र जोगबुढा नदीमा पानीको सतह बढेसँगै डुबानको समस्या रहँदै आएको छ ।
काँग्रेस नेता लेखकको पहलमा जोगबुढा र महाकाली नदीमा तटबन्धको काम समेत अगाडि बढेको छ । उक्त तटबन्ध निर्माणको कार्य समय सीमाभित्रै सम्पन्न गर्न र काममा लापर्वाही नगर्न नेता लेखकले प्राविधिक टोलीलाई निर्देशन गरेको उनका स्वकीय सचिव जनक भट्टले बताए ।
तटबन्धको अनुगमनका क्रम प्राविधिक टोलीले पनि काम समयभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । कञ्चनपुर–३ निर्वाचन क्षेत्र भएका कांग्रेस नेता लेखकले १ महिनादेखि आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएका छन् । नेता लेखक निरन्तर जनतामाझ टोल भेला देखि छलफल अन्तरक्रिया र समस्याहरूमा सामेल हुँदै आएका छन् ।