बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पुरानालाई हटाएर आफन्तलाई जागिर खुवाएपछि लुम्बिनीमा विवाद

बुधबार, २५ साउन २०७९, १३ : ००
बुधबार, २५ साउन २०७९

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा विवाद उत्पन्न भएको छ । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेर आफ्ना आफन्त भर्ना गरेको र पुराना कर्मचारीलाई हटाएको भन्दै विवाद सृजना भएको हो । नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले यस्तो गरेपछि अन्य कर्मचारी आन्दोलित भएका छन् । 

करारका कर्मचारीहरुलाई विनाकारण निकालेको र कामै गर्न नसक्ने अदक्ष आफन्तलाई विभिन्न नियुक्ति दिएपछि नगरपालिकाका काम प्रभावित भएको उपप्रमुख कल्पना हरिजनले बताइन । नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गोप्य रुपमा टिप्पणी उठाएर यही साउन १ गतेदेखि करारमा रहेका ९ जना कर्मचारीलाई बर्खास्त गरी १३ जना नयाँ कर्मचारी भर्ना गरेकाे बताइएको छ ।

नयाँ कर्मचारीलाई भर्ना गर्ने निर्णय गरेपछि विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले निर्णय कार्यान्वयनका लागि निमित्त प्रमुख रचना गौतम पाण्डेय क्षेत्रीलाई निर्देशन गरेका थिए । निमित्त प्रमुख रचना पाण्डेयले कानून सम्बत नभएको भनेपछि र प्रमुख प्रशासकिय अधिकृतले भने अनुसार नगरेको कारण उनलाई पनि वडा सचिवमा सरुवा गरेका छन । कार्यपालिकामा निर्णय  नै नगरी फर्जी निर्णय गराई कर्मचारी हटाउने तथा नयाँ कर्मचारी भर्ना गरेकोले आफूहरुले बिरोध जनाउँदै आएको उपप्रमुख हरिजनले बताइन् ।

नगर प्रमुख मुसलमानले आफ्नो छोरालाई अहेब र ज्वाईंलाई सहायक सब इन्जिनियर त्यस्तै आफ्नै नातामा सालो पर्नेलाई कम्प्यूटर अपरेटरको पदमा नियुक्ती दिएका छन् । कर्मचारीहरुले विज्ञप्ति नै निकालेर नगर प्रमुख र प्रशासकीय प्रमुखको विरोध गरेका छन् । साउन १ गतेदेखि विदामा बसेका प्रमुख प्रशासकिय अधिकृतको साउन १५ मा सरुवा पत्र आएको र अहिले पनि हाजिर नभई रातीमा कार्यालय खोलेर बस्ने गरेको कर्मचारीहरुले आरोप लगाएका छन् । 

नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले कर्मचारीलाई काम गर्न नगरपालिकामा अप्ठ्यारो महसुस भइरहेको बताए । काम गर्न सहज वातावरण नभएपछि सबै शाखाका कर्मचारीहरुले नगर प्रमुखलाई ध्यानाकर्षण गराएको उनले बताए ।

प्रमुख प्रशासकिय अधिकृत पाण्डेले जनशक्ति व्यवस्थापन आवश्यकता अनुसार नै भएको प्रतिक्रिया दिएका छन् । नगर प्रमुख सजरुद्दिन मुसलमान भने यसबारे प्रतिक्रिया दिन चाहँदैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप