शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा एमालेबाट उम्मेदवारका आकांक्षी धेरै, गठबन्धनबाट कसको दाबी ?

शुक्रबार, २७ साउन २०७९, १६ : २५
शुक्रबार, २७ साउन २०७९

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई उम्मेदवार छान्न सकस पर्ने देखिएको छ । आकांक्षीहरु धेरै हुँदा एमालेलाई गठबन्धनको सामना गर्नुभन्दा पनि उम्मेदवार चयन नै चुनौतीपूर्ण हुने देखिएको हो । जिल्लाको पूर्वी भाग क्षेत्र नम्बर १ मा पर्दछ भने पश्चिमी भाग अर्थात् लोहोरे खोलाभन्दा पश्चिम क्षेत्र नम्बर २ मा पर्दछ । क्षेत्र नम्बर १ को तुलनामा २ मा एमालेका आकांक्षीहरु सशक्त र अत्यधिक छन् ।

क्षेत्र नम्बर १ मा यी हुन् आकांक्षी

जिल्ला सदरमुकामसमेत रहेको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि एमालेबाट रविन्द्रराज शर्मा नै सम्भावित उम्मेदवार हुन् । यद्यपि शर्माको विकल्पमा धर्मराज रेग्मीको नाम पनि चर्चामा छ । रेग्मी ०७४ मा माओवादीबाट प्रदेशसभामा निर्वाचित भए पनि हाल एमालेमा छन् ।

यता सत्तारुढ गठबन्धनमा भने यस क्षेत्रमा कसले उम्मेदवारी दिने भन्नेमा अन्योल छ । गठबन्धनभित्र यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाको दाबी रहने देखिन्छ ।

एमालेबाट ०७४ मा प्रदेशसभा सदस्य निर्वाचित उनी पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीतर्फ लागेका हुन् । थापा यो क्षेत्रबाट लामो समयदेखि चुनाव लड्दै आएका छन् भने समाजवादीको जनाधार भएको क्षेत्र पनि यही हो ।

यता काँग्रेसका नेताहरु पनि भागवण्डामा यो क्षेत्र आफ्नो भागमा पार्न कसरत गरिरहेका छन् । काँग्रेसबाट पूर्व जिल्ला सभापति कृष्णकुमार बिसी, गणेश खड्का सम्भावित उम्मेदवार हुन् । तर खड्का समानुपातिकमा बस्न सक्ने धेरैको आकलन छ भने नेकपा एकीकृतले दाबी नछाडे बिसी प्रदेशसभामा जान सक्ने देखिन्छ ।

यो निर्वाचन क्षेत्रमा ६ वटा पालिका पर्दछन् । गुराँस, डुङ्गेश्वर, भगवतीमाई गाउँपालिका प्रदेशसभा (क) अन्तर्गत पर्दछन् भने (ख) मा नारायण नगरपालिका, नौमुले र महावु गाउँपालिका पर्दछन् ।

प्रदेशसभातर्फ (क) मा काँग्रेसबाट कृष्ण बिसी, पूर्ण बहादुर खत्री, नगेन्द्र मल्ल, निराजन खत्री, खेमराज वली र पदम मल्ल आकांक्षी छन् । एमालेबाट भने (क) मा नन्दकिशोर बस्नेत, मानबहादुर विष्ट, राजु केसी, दान बहादुर थापा, कर्णबहादुर खड्काको नाम चर्चामा छ ।

गठबन्धन भएको खण्डमा प्रदेशसभा (ख) मा माओवादीले दाबी गर्ने देखिन्छ । माओवादीबाट प्रेम कटुवाल सम्भावित उम्मेदवार हुन् । माओवादीको नौमुलेमा जनाधार राम्रै भएकाले यहाँ माओवादीले दाबी गर्ने माओवादीका नेताहरुको भनाइ छ ।

गठबन्धन भएन भने प्रदेशसभातर्फ (ख) मा काँग्रेसका गणेश उपाध्यक्ष, प्रेस युनियनका पूर्व सभापति भूपेन्द्र शाही, मणीराम रेग्मी, भदे बुढामगर सम्भावित उम्मेदवार हुन् । (ख) मा एमालेबाट रत्नबहादुर खड्का, प्रेम थापा, तेजबहादुर चन्द र मिन बहादुर बुढा आकांक्षी देखिएका छन् ।

०७४ मा वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ बाट रविन्द्रराज शर्मा २३ हजार ७७३ मत प्राप्त गरी विजयी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक कुमार शाहीले १७ हजार २५२ मत ल्याएका थिए । ०७४ को निर्वाचनमा यहाँ काँग्रेसले राप्रपालाई साथ दिएको थियो । काँग्रेसको जनाधार राम्रै हुँदा पनि राप्रपालाई अघि सारेर काँग्रेसले ठुलो कमजोरी गरेको काँग्रेसका नेता, कार्यकर्तामा गुनासो थियो ।

प्रदेश सभातर्फ (क)मा माआ‍ेवादी केन्द्रबाट धर्मराज रेग्मीले  १० हजार ३६१ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका कृष्ण कुमार बिसीले ८ हजार ७६५ मत प्राप्त गरेका थिए । यस्तै (ख) मा एमालेबाट अम्मरबहादुर थापाले १२ हजार ५६७ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका जगतजंग थापाले १० हजार ५८६ मत प्राप्त गरेका थिए ।

क्षेत्र नम्बर २ मा एमालेमै घम्साघम्सी

क्षेत्र नम्बर २ मा तीन वटा नगरपालिका र दुई वटा गाउँपालिका गरी पाँच वटा स्थानीय तह पर्दछन् । जस अन्तर्गत २ (क) मा दुल्लु नगरपालिका र भैरवी गाउँपालिका पर्दछन् भने चामुण्डाबिन्द्रासैनी र आठबीस नगरपालिका तथा ठाटीकाँध गाउँपालिका (ख) अन्तर्गत पर्दछन् ।

प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेको बलियो जनाधार रहेको यो क्षेत्रमा नेकपा माओवादी केन्द्र केही कमजोर छ । यहाँ नेपाल मजदुर किसान पार्टी पनि प्रतिस्पर्धामा उत्रिने गरेको छ ।

०७४ मा वाम गठबन्धनबाट नेकपा एमाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा हावी भएको थियो । ०७४ मा कमजोर रहेको काँग्रेस गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो बन्न पुग्यो भने एमालेले अघिल्लो पटक जितेका पालिकाहरु यसपटक गुमाएको छ ।

पाँच वटा पालिकामध्ये आठबीस नगरपालिका बाहेक चार वटा पालिकामा काँग्रेसले वर्चश्व जमाएको छ । यद्यपि एमालेका नेताहरु भने आफ्नो पार्टीको जनाधार बलियो रहेको दाबी गर्दै आएका छन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्न आकांक्षा राख्ने एमाले नेताहरुको सूची लामो छ । एमाले जिल्ला इञ्चार्ज लक्ष्मी पोखरेल, राजबहादुर बुढा, सभामुख राजबहादुर शाही, विष्णु रिजाल, विनोद कुमार शाह एमालेबाट उम्मेदवारको आकांक्षी छन् ।

जसमध्ये युवा नेता रिजाल पहिलो पटक चुनावमा भाग लिने तयारीमा छन् भने ०७४ मा प्रदेशसभा जितेर सभामुख बनेका राजबहादुर शाहीले पनि प्रतिनिधिसभामा लड्ने तयारी गरिरहेका छन् ।

प्रदेश अध्यक्षसमेत रहेका विनोद कुमार शाह ०५६ सालमै चुनावी मैदानमा उत्रिएका थिए । यद्यपि पार्टी विभाजनका कारण उनी पराजित भएका थिए । लामो समयसम्म पार्टीभित्र जिम्मेवारी नपाएका उनी अहिले प्रदेश अध्यक्ष बनेका छन् तर उनले अन्य नेताहरुलाई मिलाएर लैजानुपर्ने बाध्यता पनि छ । आकांक्षी धेरै भएकाले सम्भवतः उनी समानुपातिकका जान सक्ने पनि नेताहरुको आकलन छ ।

पोलिटब्युरो सदस्यसमेत रहेका जिल्ला इञ्चार्ज पोखरेल प्रदेशसभामा आउन सक्ने आकलन पनि गरिएको छ । ०६४ र ०७४ मा जितेका राजबहादुर बुढाले जनतामाझ खासै राम्रो काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।

केन्द्रीय राजनीतिमा चर्चामा रहेका पूर्व पत्रकारसमेत रहेका प्रचार विभाग उपप्रमुख रिजाल आफू केन्द्रमै ब्यस्त हुने भएकाले प्रतिनिधिसभामै लड्ने इच्छा जाहेर गरिसकेका छन् । पुराना नेताबाट वाक्क भएर नयाँ अनुहारलाई मौका दिनुपर्दा रिजाल सम्भावित उम्मेदवारमा पर्छन् ।

यस्तै, सभामुख राजबहादुर शाही पनि बलियो सम्भावना बोकेका नेतामा पर्छन् । शाही शालिन एवं वौद्धिक छवि भएको नेतामा पर्छन् भने उनले टिकट पाउने सम्भावना प्रबल रहेको नेताहरुको भनाइ छ ।

यता काँग्रेसमा भने दिक्पाल कुमार शाही, शिवराज जोशी र मधुरविक्रम खनालको नाम चर्चामा छ । ०७४ मा यी तीनै जना नेता पराजित भएका थिए । जोशी प्रतिनिधिसभामा, शाही र खनाल प्रदेशसभामा पराजित भएका थिए । तीन जनाको विकल्पमा रंगबहादुर शाहीको नाम पनि चर्चामा छ ।

गठबन्धन नभएको खण्डमा माओवादीबाट थीर बहादुर कार्की सम्भावित उम्मेदवार हुन् । उनी ०६४ र ०७० मा चुनाव लडेका थिए । यद्यपि विजय प्राप्त गर्न सकेनन् । यस्तै एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष बरुनाथ योगी सम्भावित उम्मेदवार हुन् ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा काँग्रेसबाट घनश्याम भण्डारी, मात्रिका रिजाल र प्रेम विष्टको नाम चर्चामा छ । भण्डारी पाँच वर्ष दुल्लु नगरपालिकाको मेयर रहिसकेका छन् । उनी युवामाझ लोकप्रिय छन् । प्रदेशसभा (ख) मा पूर्व पार्टी सचिव भूपेन्द्र शाहीको सम्भावना देखिन्छ । उनी प्रदेशसभामा जानकै लागि पालिकाको चुनावमा भाग लिएका थिएनन् । उनको विकल्पमा शेर बहादुर शाही, कृष्ण जोशी, नारायण रेग्मी लगायतका नेताको नाम चर्चामा छ ।

एमालेबाट क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा प्रदेशसभा सदस्य सुशील थापा, सर्वराज महतरा, रमेश आचार्य, प्रेम बुढा लगायतका नेताको नाम चर्चामा छ । यद्यपि जिल्ला इञ्चार्ज लक्ष्मी पोखरेलले संघमा टिकट नपाउने भएपछि प्रदेशमा आउने सम्भावना रहेकाले उनको विकल्पमा अन्य नेताहरु नरहने एमालेभित्र चर्चा छ । माओवादीबाट चक्र सुनार सम्भावित उम्मेदवार हुन् ।

प्रदेशसभा (ख) मा एमालेबाट ठाटीकाँध गाउँपालिकाका पूर्व अध्यक्ष धीरबहादुर शाही, आठबीसका पूर्व मेयर खड्गराज उपाध्याय, ओमजंग शाही, पूर्व जिल्ला समन्वय समितिका सभापति सूर्यबहादुर शाही, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका पूर्व मेयर सूर्य बहादुर शाहीको नाम चर्चामा छ ।

यस्तै माओवादी केन्द्रबाट भने सुशील कुमार रावत (उपेन्द्र) सम्भावित उम्मेदवार हुन् । गठबन्धन भएको खण्डमा माओवादीले (ख)मा दाबी गर्ने तयारी गरेको छ । एकीकृत समाजवादीबाट निरक शाही, भुपेन्द्र शाही, केशरजंग माझी लगायतका नेताहरु सम्भावित उम्मेदवार हुन् ।

यस्तो छ ०७४ को अंकगणित

०७४ मा प्रतिनिधिसभा अन्तर्गत यो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट एमालेका राजबहादुर बुढाक्षेत्री उम्मेदवार बनेका थिए । उनले २३ हजार ३२३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत प्राप्त गरेका थिए । जोशी दैलेखमा काँग्रेसको पुराना नेता हुन् ।

यस्तै प्रदेशसभा अन्तर्गत निर्वाचन क्षेत्र २ (क) बाट नेकपा एमालेका सुशील कुमार थापाले ११ हजार ८१९ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका मधुरविक्रम खनालले ८ हजार ७९५ मत ल्याएका थिए । यस्तै नेमकिपाले २८२ मत प्राप्त गरेको थियो । क्षेत्र नम्बर २ (ख) मा एमालेका राजबहादुर शाही ११ हजार ४४५ मत ल्याएर निर्वाचित भएका थिए । उनी अहिले कर्णाली प्रदेशसभाको सभामुख छन् । उनका प्रतिस्पर्धी काँग्रेसका दिक्पाल कुमार शाहीले ८ हजार ४६९ मत प्राप्त गरेका थिए । यस्तै नेमकिपाले २ हजार ५७ मत प्राप्त गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप