शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ऐना झ्यालको पुतली’ ट्रेलर : सहरमा पढ्न चाहाने किशोरीको सपना

सोमबार, ३० साउन २०७९, १७ : १२
सोमबार, ३० साउन २०७९

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउँने अवरोधलाई देखाएको हो ।

ट्रेलरले दिदीभाइको सम्बन्धका आयामलाई पनि प्रस्तुत गरेको छ । फिल्म भदौ २४ मा सार्वजनिक प्रदर्शनमा आउँदैछ । ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनौट भइसकेको फिल्म हो । 

बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेता बनाएको थियो । लेखक÷ निर्देशकको रुपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यू हो । सुजितले यसअघि ‘सावित्री’ को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु फिल्म थियो । 

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । तर जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभूंग हुन्छ । सुजितले किशोरीको पढ्ने सपनालाई  ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए ।

फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय छ । सिरु बिष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन् । आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्मको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र  सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् ।  फिल्ममा  अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन र पुष्पा संगमको संगीत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप