शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भागबण्डाप्रति धनुषामा गठबन्धन घटक असन्तुष्ट, भन्छन्– पुरानै दाबी कायमै

बिहीबार, १३ असोज २०७९, १५ : १२
बिहीबार, १३ असोज २०७९

-शिव अधिकारी यदुवंशी
सत्ता गठबन्धनले आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ भागबण्डा करिबकरिब टुङ्गो लगाए पनि सिट बाँडफाँट भएका जिल्लामै असन्तुष्टि देखिएको छ । धनुषाका चार निर्वाचन क्षेत्रमध्ये दुईमा नेपाली कांग्रेस, दुईमा जसपा नेपालको दाबी गरिरहेको अवस्थामा माओवादी केन्द्रले पनि एउटा सिटमा दाबी गरेको छ ।

नेपाली कांग्रेस धनुषाको सभापति योगी पजियारले धनुषाको ४ निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा कांग्रेसको मुख्य दाबेदारी रहेको बताए । उनले धनुषा निर्वाचन क्षेत्र ३ र ४ नेपाली कांग्रेसले पाउनुपर्ने अडान रहेको प्रस्ट पारे ।

०७४ को निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विमलेन्द्र निधि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग पराजित भएका थिए भने क्षेत्र नम्बर ४ मा सहमहामन्त्री महेन्द्र यादव नेकपा एमालेका रघुवीर महासेठसँग पराजित भएका थिए ।

यता जसपाले धनुषाको चारमध्ये एउटा क्षेत्र माओवादीलाई छोड्दा २ वटा क्षेत्र आफूले पाउनुपर्ने अडान राखेको छ । जसपा नेपालका धनुषा जिल्ला जिल्ला अध्यक्ष पशुपति यादवले यसअघि आफ्नो पार्टीले धनुषा–२ बाट जितेको तथा क्षेत्र नम्बर ३ र ४ मा पनि राम्रो मत आएको भन्दै कम्तीमा दुई क्षेत्र जसपाले पाउनुपर्ने अडान राखेका छन् ।

उनका अनुसार ०७४ को निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र २ मा जसपाका तत्कालीन नेता उमाशंकर अरगरियाले जितेका थिए । ३ मा जसपाबाट विभाजित भएर बनेको लोसपाका नेता राजेन्द्र महतो अघिल्लो निर्वाचनमा राजपा नेपालबाट जितेका थिए । सो सिटमा अहिले जसपाले दाबी गरेको छ । क्षेत्र नम्बर ४ मा जसपाका महाजन यादवको राम्रो पकड मानिएको छ । अध्यक्ष यादवले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधि ‘व्याक’ भएपछि जसपाले उक्त सिट पाउनुपर्ने बताए ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रबाट मातृका प्रसाद यादवको दाबेदारी मजबुत छ । यादवले ०७४ मा जसपा (तत्कालीन संघीय समाजवादी)का दिपक कार्कीलाई पराजित गरेका थिए । क्षेत्र नम्बर २ मा जसपाबाट नेकपा एमालेमा आएका गंगाराम यादव र बलराम महतोमध्ये एक जनालाई एमालेले उम्मेदवार बनाउने चर्चा छ । सो क्षेत्रबाट नेपाली कांग्रेसका रामकृष्ण यादव उम्मेदवार बन्ने लगभग निश्चित छ । क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी मुक्ता यादवको समेत दाबेदारी रहेकोमा उनी समानुपातिकमा गएपछि रामकृष्णको दाबेदारी सहज बनेको हो ।

क्षेत्र नम्बर ३ मा लोसपा नेता महतोसँग पराजित भएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि समानुपातिकमा गएपछि सो क्षेत्रमा कांग्रेसले नयाँ उम्मेदवार प्रमेश्वर महासेठलाई अघि सारेको छ । जसपाले पनि दाबी गरेको सो क्षेत्रमा जसपाबाट जितेन्द्र यादव दाबेदार देखिएका छन् । जितेन्द्र पार्टी अध्यक्ष उपेन्द्र यादवको विश्वास पात्र मानिन्छन् । जसका कारण यस क्षेत्रमा जसपा र काँग्रेसबीच विवाद बढ्दो छ । एमालेले भने यस क्षेत्रबाट जुली महासेठलाई उम्मेदवार बनाउने भएको छ ।

धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवलाई उम्मेदवार बनाउने लगभग पक्का छ । जसपाले पनि यो क्षेत्रमा महाजन यादवलाई उम्मेदवारी बनाउने तयारी गरेको छ । दुवै जना नेकपा एमालेका नेता महासेठसँग पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप