शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली चेली भारतदेखि मेक्सिकोसम्म यसरी बेचिन्छन्

मुख्य रुट दिल्ली र दुबई
शनिबार, २२ असोज २०७९, ०९ : ४३
शनिबार, २२ असोज २०७९

काठमाडौं । नुवाकोट, दुप्चेश्वर घर भएकी ३४ वर्षीय महिला आफ्नै पतिबाट १ लाख ६० हजारमा बेचिइन् । भारतको नयाँ दिल्ली र आगराको वेश्यालयमा ६ वर्ष बिताएपछि उनी २०७८ असारमा नेपाल फर्किइन् ।  उनलाई आफ्नै पतिले दलालसँग मिलेर दिल्लीको वेश्यालयमा पठाएका हुन् । नेपाल फर्केर उनले पतिविरुद्ध कानुनी लडाइँ लडिरहेकी छन् ।

उनको १९ वर्षअघि प्रेम विवाह भएको थियो । ५ बच्चा जन्मिए । कान्छो छोरा ४ वर्षको भएपछि पारिवारिक सम्बन्धमा खटपट आयो । पतिले वास्ता गर्न छाडे । २०७१ मंसिरमा पासाङ तामाङले फोन गरेर पीडितलाई दुप्चेश्वर मन्दिरमा भेट्न प्रस्ताव गरे । त्यतिन्जेल पीडित महिला र पासाङको बीचमा चिनजान थिएन । पासाङले उनलाई फकाएर ‘विवाह प्रस्ताव’ राखे ।

पासाङले ‘तिम्रो दाइसँग कुरा भएको’ भनेर उनलाई विश्वासमा लिए । सुखमय जिन्दगी दिने सपना देखाएर काठमाडौं ल्याएपछि पासाङले उनका पतिलाई १ लाख ६० हजार ‘जार खर्च’ पठाए । तिनै ‘जार’ले उनलाई दिल्ली लगेका हुन् ।

जागिरको सपना देखाएर नयाँ दिल्लीमा म्हेण्दो तामाङ नाम गरेकी महिलासँग उनले भेट गराए । म्हेण्दोले उनलाई दुई जना पुरुषको साथ लगाएर आगरा पठाइन् । आगरामा रहेको वेश्यालयमा पुगेपछि उनी ‘जागिरको सपना’ बाट ब्यूँझिइन् । दिल्ली र आगरामा  दैनिक १५ देखि २५ जनासँग यौन सम्पर्क गर्न बाध्य पारिएको पीडितले प्रहरीलाई बताएकी छन् ।

भारतीय प्रहरीले वेश्यालयमा छापा मारेर उनलाई उद्धार गरेको थियो । नेपाली दुतावास र शक्ति समूहसँगको सहकार्यमा उनी १४ जुन २०२१ मा काठमाडौं आइन् । उनलाई वेश्यालयमा बेच्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घर भएका पासाङ तामाङ र पीडितकै पतिविरुद्ध अहिले मुद्दा चलिरहेको छ ।

पासाङको समूहजस्तै काठमाडौंबाट दिल्ली र दुबईलाई ट्रान्जिट बनाएर नेपाली महिला बेच्ने धेरै समूह सक्रिय छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ यता १ हजार ४५२ जना मानव बेचबिखनमा संलग्न भएको फेला परेको छ । मानव बेचबिखनमा संलग्नमध्ये ५७९ जना अझै फरार छन् ।

२०७५ साउनपछि ८८१ जनालाई पक्राउ गरिएको मानव बेचबिखन ब्यूरोका प्रवक्ता (एसपी) दानबहादुर मल्लले रातोपाटीलाई बताए । उनले भने, ‘मानव बेचबिखनबारे ६७३ वटा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेका छौं ।’

२०७५/०७६ यताका चार आर्थिक वर्षमा ९८९ जना मानव बेचबिखनको सिकार भएका छन् ।

आर्थिक वर्ष २०७५–०७६ यता ब्यूरोले एक बालिकासहित ३०३ जनाको उद्धार गरेको छ । सो अवधिमा देशभरबाट १३३ बालिका उद्धार गरिएको छ । मानव बेचबिखन ब्यूरो र गैरसरकारी संस्थाको प्रयासमा कुल ५५३ जनाको उद्धार गरिएकोमा ३७३ जना महिला छन् । १७६ जना पुरुषलाई उद्धार गरिएको छ ।

दिल्लीदेखि मेक्सिकोसम्म  

दाङ घर भएका मुक्ति नारायण केसी र उनकै पत्नी सुधा देवकोटाले ‘अमेरिका सपना’ देखाएर एक महिलालाई २०७५ माघ ११ मा त्रिभुवन विमानस्थलबाट ईथियोपियासम्म पुर्‍याए । १९ लाख नगद लिएर उनीहरुले ती महिलालाई मेक्सिको हुँदै अमेरिका लैजाने सपना देखाएका थिए । तर, जकार्ताको एयरपोर्टबाट फर्काएपछि ती दम्पतीले उनलाई फेरि ईथियोपिया पठाए । ईथियोपियाको बोले सहरमा आफूलाई ३ महिना बन्धक बनाएको पीडितले दाबी गरेकी छन् । नेपाल फर्केर अहिले ती महिलाले आरोपिहरुबिरुद्ध मुद्दा लडिरहेकी छन् ।

मुक्ति नारायण दम्पतीले अर्की एक जना महिलालाई पनि जकार्ता पुर्‍याएर अलपत्र बनाएको आरोप छ । २०७८ मंसिर २८ मा ब्यूरोबाट खटिएको प्रहरीले २४ वर्षीय सुधालाई पक्राउ गरेको थियो । अहिले उनी पुर्पक्षका लागि केन्द्रीय कारागारमा छिन् । उनका पति मुक्तिनारायण फरार छन् ।  

मानव तस्करहरुले पछिल्लो समय भारतको नयाँ दिल्ली हुँदै दुबई र कुवेतमा धेरै महिलालाई लैजाने गरेको बताउँछन् मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) दान बहादुर मल्ल । उनी भन्छन्, ‘भारतको नयाँ दिल्लीदेखि मेक्सिकोसम्म नेपाली चेलीबेटीहरु बेचिने गरेका छन् ।’

भिजिट भिसाको दुरुपयोग गरेर मानव तस्करहरुले महिलालाई विदेश पठाउने र त्यहाँ अलपत्र छाड्ने गरेका छन् । भिटिज भिसाको दुरुपयोग भएको गुनासो बढेपछि ब्यूरोले भिजिट भिसामा जानेहरुलाई रोक्न थालेको छ । भदौ १८ बाट भिजिट भिसामा जानेहरुमाथि निगरानी बढाएर गिरोहबारे अनुसन्धान थालिएको एसपी मल्लले जानकारी दिए । ‘भिजिट भिसामा विदेशिन खोज्ने ३ सय यात्रुमाथि अनुसन्धान गर्दा २५ जनाको कागजात दलालले बनाएको खुलेको छ,’ एसपी मल्ल भन्छन्, ‘भिजिट भिसामा जानेहरुमाथि निरन्तर निगरानी गर्छौं ।’ 

२५ वर्षअघिको घटना पटाक्षेप

२५ वर्षअघि काभ्रे घर भएकी एक जना युवती बेचिइन् । भारतको कलकत्तामा लगेर दुई जना पुरुष र एकजना महिलाले उनलाई भारतीय रुपैयाँ ३० हजार लिएर नेपाली महिलाले चलाएको कोठीमा बेचेका थिए ।

२०५३ असारमा ती युवतीलाई वेश्यालयमा बेच्ने ४८ वर्षीय लक्ष्मी परियारलाई २०७८ असोजमा प्रहरीले पेप्सीकोलाबाट पक्राउ गर्‍यो । लक्ष्मीविरुद्ध अहिले मुद्दा चलिरहेको छ ।

गाउँबाट काठमाडौंमा ल्याएर ती युवतीलाई लक्ष्मीले एक जना युवकसँग भेट गराइन् । न्यूरोडस्थित होटलमा युवतीसँग दुई दिन बसेपछि युवकले ‘विवाह गर्छु’ भनेर अर्को आश्वासन देखाए । युवकसँगै दुई दिन राखेर उनीहरुले मकवानपुरको हेटौंडास्थित एउटा घरमा ‘खाना पकाउने र लुगा धुने काम लगाइदिन्छौँ’ भनेर दुई जना पुरुषको साथमा ट्रकमा चढाएर पठाए । 

मुग्लिङ पुगेपछि ट्रकबाट ओराले, बसमा चढाएर काँकडभिट्टा हुँदै उनलाई कलकत्ता लगियो । वेश्यालयमा उनीहरुले ३० हजारमा बेचे । ती युवती बिरामी परिन्, कोठी सञ्चालकले उपचारका लागि अस्पताल लगेका थिए । अनि, त्यहाँबाट आँखा छलेर उनी भागिन् । संयुक्त नेपाली केन्द्रीय सेवा संघको समन्वयमा उनको उद्धार गरियो ।  २०५३ साउन १ मा उनी काठमाडौं फर्किइन् ।

काठमाडौं आएपछि पीडितले हनुमानढोकामा उजुरी गरिन् । जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई त्यतिबेला हनुमानढोका भनेर चिनिन्थ्यो । लामो समय आफूलाई बेच्नेहरु पक्राउ नपर्दा पीडितलाई न्यायको आश हराएको थियो । तर, २५ वर्षपछि उनलाई खोज्दै प्रहरी पुगे । अनि, फोटो देखाएर सोधे–‘उहाँलाई चिन्नुहुन्छ ?’

पीडितले भनिन्, ‘मलाई बेच्नेमध्येको एउटी उही हो !’ त्यसपछि प्रहरी लक्ष्मी परियारको खोजीमा जुट्यो । प्रहरीको पुरानो फाइलमा उनको फोटो नत्थी गरेर राखिएको रहेछ ।

‘पुराना फाइल हेर्दै थियौं,’ अनुसन्धानमा संलग्न ब्यूरोका एक जना अधिकृतले भने, ‘फोटोबाट पहिचान खुलेपछि लक्ष्मीलाई पक्राउ गर्न सफल भयौं ।’

लक्ष्मी परियारले आफूलाई लक्ष्मी केसी र लक्ष्मी विश्वकर्मा भनेर वास्तविक थर लुकाएर बसेकी थिइन् । तर, २५ वर्षपछि उनी पक्राउ परिन् ।

डेढ लाखमै बेचिन्छन्

नेपाली महिला समुन्द्रपारी डेढ लाखमा पनि बेचिएका छन् । बहराइन स्थित अस्पतालमा बिरामीको स्याहार गर्ने काम मिलाइदिन्छु भनेर खोटाङका चन्द्रबहादुर राई भन्ने चन्द्रदीपले एकजना महिलालाई बहराइन पठाए । २०५८ माघमा ५० हजार लिएर राईले उनलाई बहराइन पठाएका थिए । बहराइनमा उनलाई किन्ने महिलासँग चन्द्र बहादुरले ५ सय दिनार (१ लाख ६९ हजार नेपाली रुपैयाँ) लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

बहराइनमा यौन शोषणको सिकार भएपछि ती महिला राजदूतावासको सहयोगमा नेपाल फर्किइन् । ब्यूरोले चन्द्रदीपलाई २०७८ पुसमा पक्राउ गरेर मुद्दा चलाएको छ । अहिले अदालतमा मुद्दा चलिरहेको छ ।

बहराइनमा मात्र होइन, गाउँले महिलालाई काठमाडौंमा जम्मा गरेर बिचौलियाहरुले दुबईबाट मेक्सिको हुँदै अमेरिकासम्म लैजाने गरेको बताउँछन् एसपी दान बहादुर मल्ल । उनी भन्छन्, ‘मेक्सिकोबाट अमेरिका र ग्रीस हुँदै युरोप पठाउने थुप्रै गिरोह सक्रिय रहेको हाम्रो अनुसन्धानबाट थाहा भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप