शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनको संयुक्त भेला : अवसरको चाङ देखाउँदै कार्यकर्ता फकाउँदै !

देउवा उदार, शेखर फितलो, माधव र प्रचण्ड आक्रामक
शनिबार, ०५ कात्तिक २०७९, १९ : ३७
शनिबार, ०५ कात्तिक २०७९

‘गठबन्धनले जित्यो, बहुमत आएर सरकार बन्यो भने अवसर नै अवसर हुन्छन् । अहिले टिकट नपाएर मन खुम्चिएका साथीहरूलाई पनि भोलि हामी बहुमतका सांसद बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन्, संवैधानिक नियुक्ति हुन्छन्, राजदूत हुन्छन् के के हुन्छन् के के हुन्छन् । अहिले हारियो भने चाहिँ हामी सबै हालत खराब... त्यसो भएको हुँदा दुविधामा हामी कोही पनि बस्नु हुँदैन,’ विराटनगरमा शनिबार आयोजित सत्ता गठबन्धन दलको संयुक्त भेलामा माओवादी अध्यक्ष प्रचण्डले उत्साहित हुँदै भने, ‘त्यसकारण अवसर नै अवसर पाउनका लागि मन भाँचिएका, मन कुँडिएका, अँध्यारो अनुहार भएका साथीहरू पनि सरकार बनेर नियुक्ति पाएपछि उज्याला हुन्छन् ।’

प्रचण्डको यो अभिव्यक्ति आएपछि हलमा हाँसो गुन्जिएको थियो । बाहिर भने टिकट नपाएका नेताहरू नेतालाई देखाउँछु पख्लास् भन्ने शैलीमा खुलेआम हिँडिरहेका थिए । ‘बाम गठबन्धन भएको बेलामा कोही पनि चुनावमा उठ्न नचाहेको बेलामा उठेर जितेको क्षेत्र हो मेरो,’ काँग्रेसका एक नेताले अर्का नेतासँग आक्रोश व्यक्त गर्दै भन्दै थिए, ‘अहिले मलाई नदिएर अर्कैलाई टिकट दिएका छन्, हेरौँला न कसरी चुनाव जित्दारैछन् ।’ 

उनको मात्रै होइन समानुपातिक बन्द सूचीमा नाम राख्दा मेरो तल्लो नम्बरमा राखेको र मेरो माथिल्लो नम्बरमा राखेको भनेर गुनासा गर्ने उम्मेदवारहरु पनि निक्कै थिए । ‘मेरो १ नम्बरमा राख्ने भनेको थियो, कहाँ लगेर राखिदिए, पैसाकै आवश्यकता थियो भने बरु मलाई भनेको भए दिन्थे नि, यहाँ ठुलो चलखेल भयो,’ एक जना समानुपातिक उम्मेदवारले अर्को उम्मेदवारसँग गुनासो गर्दै थिए । 

कार्यकर्ताको आम गुनासोलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्ड तथा काँग्रेसका सभापतिसमेत रहेका  प्रधानमन्त्री शेरबहादुर देउवाले एकताबद्ध भएर भोट हाल्न आग्रह गरे । प्रचण्डले अवसरको चाङ देखाएर भोट गठबन्धनलाई हाल्न आग्रह गरिरहँदा शेरबहादुर देउवाले माओवादीको हँसिया हथौडा चुनाव चिन्ह, कलम वा अन्य गठबन्धनका चुनाव चिन्हको प्रचार गरिरहेका थिए । ‘मैले त हँसिया हथौडामा भोट हालिसकेँ, तपाईंहरुले हिच्किचाउनु पर्ने कुनै कारण छैन,’ प्रधानमन्त्री देउवाले भनेका थिए । 

उनले एमाले अध्यक्ष ओलीले बढ्ता बोलिरहेको भन्दै गठबन्धनलाई जिताएर जवाफ दिन कार्यकर्तालाई आग्रह पनि गरे । सभापति देउवाले आफ्ना कार्यकर्तालाई पार्टीभित्र पनि मिलिसकेको र गठबन्धनमा पनि कुनै विवाद नभएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरे । ‘हामी नेताहरू सबै मिलिसक्यौँ, पार्टीका नेता पनि मिलेका छौँ,’ देउवाले भने, ‘तपाईंहरु पनि मिलेर भोट हाल्नु होला ।’

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने अहिलेको निर्वाचन सङ्ग्राम भएको भन्दै भोट नदिए संविधान र गणतन्त्र धरापमा पर्न सक्ने बताए । ‘यो गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन हो । अर्को गठबन्धन गोरूगाडावालाहरुको गठबन्धन हो,’ प्रचण्डले भने, ‘त्यसकारण मंसिर ४ गते एउटा ठुलो सङ्ग्राम हुँदैछ ।’

उनले पनि आफूहरू एक ढिक्का रहेको भन्दै भोट दिँदा रूखमा, हँसिया हथौडा, कलमलगायतको चुनाव चिन्हमा हाल्न आग्रह गरे । उनले अबको दिशा राजनीतिक परिवर्तनलाई उल्ट्याउन नदिन समृद्धि, सुशासन ल्याउन पनि गठबन्धनले जित्नुपर्नेमा जोड दिए । ‘अब समृद्धि र सुशासन, ठूलाठूला आयोजनाहरूको निर्माण तथा स्थापना, श्रमजीवीलाई न्याय र समृद्धि दिनै पर्छ,’ उनको भनाइ थियो । 

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने आफूले लगाएको गुन तिर्न भोट दिनुपर्नेमा जोड दिए । ‘बेठिक मान्छेको हातबाट सत्ता खोस्न हामीले धेरै ठुलो त्याग गरेका छौँ, त्यसको गुन तिर्न पनि हामीलाई भोट हाल्नै पर्छ,’ नेपालले भने, ‘बेठिक मान्छेको हातमा पुगेको देशलाई सङ्कटबाट बचाउन हामीले नयाँ जोखिम लिएको हौँ ।’ आफूले गरेको त्यागले देशलाई जोगाएको उनको तर्क थियो । एमाले–राप्रपाबीचको गठबन्धन प्रतिगामीहरूको गठबन्धन भएको भन्दै उनले आफूहरूको गठबन्धनले एकताबद्ध भएर दृढताका साथ अगाडि बढेर त्यसलाई पराजित गर्ने पनि बताए । 

उनले २००७ साल, २०४७ सार तथा ०६२–०६३ मा काँग्रेससँग कम्युनिस्ट मिलेरै आन्दोलन गरेको भन्दै अहिलेको सत्ता गठबन्धन पनि स्वाभाविक गठबन्धन भएको दाबी गरे । केही गुनासा भए चुनावसम्म बिर्सिएर काममा लाग्नुपर्नेमा उनको जोड थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने यो गठबन्धन चुनाव जित्न र सत्ता पाउन मात्रै नभएको बताएका थिए । पूर्व राजा ज्ञानेन्द्र र केपी ओलीको सहकार्य भएको आशङ्का गर्दै उनले कोतपर्व र भण्डारखाल पर्व मच्चाउनेहरूले लोकतन्त्र आएपछि केही भएको छैन भनेर प्रचार गरेको बताए । ‘तर, अब प्रतिगमन फर्किँदैन’, उनले भने, ‘छद्मभेषिहरूले अनेक हत्कन्डा मच्चाउने कोसिस भएको छ । त्यसलाई जनताले चिन्नु पर्छ ।’

काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले भने केही रामो र राजनीतिक कुरामा जोड दिएका थिए । उनले माओवादीको दुई तिहाइ जनमत भएको रुकुम रोल्पामा समेत काँग्रेसलाई भोट हाल्न तयार भएको भन्दै प्रदेश १ मा पनि काँग्रेसले माओवादीलाई भोट हाल्नुपर्ने आशय व्यक्त गरे । ‘यो संविधान जनताप्रति समर्पित छ भन्ने प्रमाणित गर्नुपर्छ । रोल्पा र रुकुममा पनि गठबन्धन भएको छ भने हामीले सोही अनुसार गठबन्धनलाई स्वीकारेर जानुपर्छ,’ सिटौलाले भने ।

उनले संविधानले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा जानुपर्ने बताए । संघीताको सही ढङ्गले कार्यान्वयन गर्ने, जनताको आकाङ्क्षा पूरा गर्ने अठोटका साथ यो गठबन्धन बनेको उनको भनाइ थियो । विगतमा जस्तै सत्ताका भागबन्डा र लुछाचुँडीमा गठबन्धन लाग्दैन भन्ने विश्वास जनतामा लानुपर्ने उनको भनाइ छ । 

कार्यक्रमको सुरुमा सम्बोधन गरेका काँग्रेस नेता शेखर कोइरालाले भने छोटो मन्तव्य राखेका थिए । आफ्नै निर्वाचन क्षेत्रमा भएको गठबन्धनको संयुक्त कार्यक्रममा शीर्ष नेताहरू आउनु आफ्नो लागि सौभाग्य भएको उनको भनाइ थियो । संवैधानिक व्यवस्थाका कारण गठबन्धन बिना सरकार बन्न नसक्ने भएको कारण अहिले गठबन्धन गर्नुपरेको उनको भनाइ थियो । 

अहिलेको गठबन्धनले रेलको लिकबाट बाहिर गएको संविधानलाई ठिक ट्र्याकमा ल्याएको र चुनाव पछि पनि गठबन्धन कायम रहनुपर्नेमा उनले जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप