शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा नेपालीले मनाए यसरी लक्ष्मी पूजा

मङ्गलबार, ०८ कात्तिक २०७९, ०८ : २०
मङ्गलबार, ०८ कात्तिक २०७९

अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधामसँग श्रद्धाभक्तिको साथ लक्ष्मी पूजा मनाएका छन् । अमेरिकाका विभिन्न राज्यहरुमा लक्ष्मी पूजा सम्पन्न भइसकेको छ । अमेरिकाका विभिन्न राज्यहरुमा ३ घण्टा सम्मको समय फरक हुने हुँदा केही राज्यका शहरहरुमा लक्ष्मी पूजा प्रारम्भ हुँदै गरेको अवस्था छ । अमेरिकामा पनि नेपालमा जस्तै पूजा सामग्रीहरु प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री, दियो, कलस, फलफूल, मिठाई लगायत सामग्रीहरु नेपाली समुदायले जुटाएका छन् ।

नेपालीहरुले आफ्ना घर आँगन अगाडि र कोठाभित्र पनि विभिन्न ढाँचाका रंगोली बनाइ घर सजाएका छन् । नेपालकै झझल्को आउने झिलीमिली बत्ती बाली घर उज्यालो परेका छन् । अमेरिकामा कोरोना भाइरस बिरुद्धको  खोप सबैले लगाएकोले यस बर्ष देखि  निर्धक्क साथ नेपाली समुदायले लक्ष्मी पूजा मनाइ रहेका छन् ।

लक्ष्मी पूजाको दिन साँझ भएपछि ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, भ-याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिएको छ । अमेरिकामा पनि आँगनदेखि मूल ढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म चामलको पीठो र अवीरले लक्ष्मीको पाइला बनाएका छन् ।

अमेरिकामा आगलागीको डर हुनाले दियोमा बत्ति बाल्ने भन्दा मैनबत्तीको प्रयोग ज्यादा गरेका छन् । अमेरिकामा बत्ति बल्दा घरमा जडान गरेको आगो लागेको सूचक यन्त्रले आवाज दिने हुनाले घरभित्र कम र बाहिर नै ज्यादा बालिने गरिन्छ । सोही अनुसार नेपालीहरुले मनाइ रहेका छन् ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाआरधना गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । यस बर्ष देउसी भैलो विभिन्न संघ/संस्थाले शनिबार र आइतबार गरि मनाई सकेका छन् । र ,यो क्रम भाइ टीकासम्म चल्ने छ । यस पटक साथीभाइ ,आफन्तका घरमा समेत देउसी खेलिएको छ भने अझै जारी रहेको छ ।  

सुख(सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित लक्ष्मी पूजाको दिन माता लक्ष्मी तथा लक्ष्मीको स्वरूप धन पैसा, गरगहनाको विशेष रूपमा पूजाआजा र अर्चना गरी लक्ष्मीकै प्रसाद स्वरूप आफ्ना कन्तुर, सन्दुक, सुरक्षित राखनधरण आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभ लाभ लेख्नु हाम्रो धार्मिक परम्परा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप