आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

०७४ मा झैं देशलाई फेरि चकित पार्ला बर्दिया–१ ले ?

शुक्रबार, १८ कात्तिक २०७९, १६ : ००
शुक्रबार, १८ कात्तिक २०७९

बर्दिया–१ मा आगामी मंसिर ४ को निर्वाचनका लागि प्रतिनिधिसभातर्फ १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर जित–हारमा ‘ह्याट्रिक’ गरेका वामदेव गौतम यसपटक चुनावी मैदान बाहिर छन् । सत्ता गठबन्धनले कांग्रेका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमलाई चुनावी मैदानमा उतारेको छ । गौतमलाई टक्कर दिन एमालेका केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् ।

जसपाबाट रेशम बहादुर खत्री, राप्रपाबाट सूर्य बहादुर सिंह, नेमकिपाबाट हरिलाल न्यौपाने, जनमत पार्टीबाट सोहराव पठान, नागरिक उन्मुक्ति पार्टीबाट ठाकुर सिंह थारु, नेशनलिष्ट पिपल्स पार्टीबाट रामरतन थारु र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रवेश भुसाल उम्मेदवार छन् । यस्तै देवीप्रसाद तिवारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यहाँ मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेका उम्मेदवारबीच हुने देखिन्छ । तर गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा कैलालीका ४ पालिकामा अप्रत्यासित जित हात पारेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार पनि यहाँ कांग्रेस र एमालेका लागि चुनौती बन्न सक्ने विश्लेषण भइरहेको छ ।

सत्ता गठबन्धन असोज २७ बाट चुनावी अभियानमा छ । उसले बर्दिया–१ का ३८ वडामा घरदैलो अभियान गर्न भ्याइसकेको छ । ३८ वटै वडामा गठबन्धनले सम्पर्क कार्यालय स्थापना पनि गरिसकेको उम्मेदवार गौतमले बताए ।

एमालेले भने बाँसगढी नगरपालिका र बडयाताल गाउँपालिकामा एकसरो घरदैलो सकेको छ । गुलरिया र बाराबर्दियाको घरदैलो शुक्रबारबाट सुरु हुने ज्ञवालीले सुनाए ।

यस्तै, नागरिक उन्मक्ति पार्टीले पनि चुनावी अभियान तीव्र पारेको छ । एक महिनादेखि नागरिक उन्मुक्तिले घरदैलो अभियान र संगठन निर्माण सँगसँगै गरिहेको छ । जिल्लाका ३८ वटै वडाको घरदैलो अभियान सकिएको सो पार्टीका उम्मेदवार थारुले रातोपाटीसँग बताए । उनले भने, ‘हामीले टोल–टोलमा कमिटी गठन गरेका छौं । एमाले, कांग्रेस र माओवादीका कार्यकर्ता पार्टी छाडेर हाम्रो पार्टीमा लाग्नु भएको छ । उहाँहरुबाटै टोल, वडा, पालिका कमिटीको संरचना बनाएका छौं ।’

थारुको इन्ट्री दुवैलाई चुनौती

बर्दिया–१ मा भिजेका कांग्रेस र एमालेका उम्मेदवारको बीचमा पहिलो पटक नागरिक उन्मुक्ति पार्टी चुनावी मैदानमा आएको छ । बर्दिया–१ मा कांग्रेस र एमालेसँग संगठन र उम्मेदवारको विरासत छ । बर्दियाको गुलरिया–६ का स्थायी बासिन्दा सञ्जय गौतम २०३६ सालदेखि राजनीतिमा छन् ।

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी २०३६ सालको आन्दोलनका बेला तीन महिनासम्म भद्रगोल जेलमा परेका थिए । गौतमले २०४९ सालमा वडाध्यक्ष भएर जिल्ला विकास समितिको उपसभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

पार्टीको गाउँ सचिव, क्षेत्रीय सचिव, जिल्लाको सह–सचिव, सचिव हुँदै गौतम पार्टीको जिल्ला सभापति भएका थिए । ०५९ मा कांग्रेस विभाजन हुँदा उनी संस्थापन पक्षबाट बर्दिया सभापति बनेका थिए ।

गौतम २०६२÷०६३ को आन्दोलनका क्रममा पनि तीन महिना जेल परेका थिए । पहिलो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका गौतम त्यतिबेला असफल भए । दोस्रो संविधानसभामा विजयी भएका उनी सिंचाईमन्त्री समेत बनेका थिए । ०७४ मा बर्दिया–१ बाट तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार एमालेका उपाध्यक्ष बामदेव गौतमलाई पराजित गरेपछि सञ्जयको चर्चा चुलिएको थियो ।

अहिले बामदेव गौतमकै ज्वाई लक्ष्मण ज्ञवाली सञ्जयसँग बदला दिन एमालेबाट चुनावी मैदानमा उत्रिएका छन् । बर्दियामा बलियो संगठन बनाएका ज्ञवाली एमालेका पुराना नेता हुन् । ज्ञवाली २०३५ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा थालनी गरेका थिए । ०३७ सालमा तत्कालीन मालेको ईलाका कमिटीबाट संगठित हुँदै ०३८ मा उनी अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य भए । सोही बखत पक्राउ भएका ज्ञवालीले ६ वर्ष दाङको जेलमा बिताए ।

त्यसपछि पार्टीले उनलाई राप्ती अञ्चलबाट भेरी अञ्चलमा खटायो । तत्कालीन पञ्चायती शासनले ज्ञवालीलाई डेढ वर्ष नेपालगञ्जको जेलमा राख्यो । जेलबाट छुटेपछि उनी पार्टीको भेरी, कर्णालीको क्षेत्रीय कमिटीमा आबद्ध भए ।

उनी २०४६÷०४७ ताका मालेको बाँके–बर्दिया संयुक्त कमिटीको सचिव थिए । हाल उनी एमालेको बर्दिया इन्चार्ज, लुम्बिनी प्रदेश सहइन्चार्ज र केन्द्रीय सदस्य छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा बर्दिया–३ बाट उनी पहिलो पटक चुनावी मैदानमा उत्रिएका थिए । उनको पहिलो प्रयास असफल भयो । उनी दोस्रो पटक बर्दिया–१ बाट संसदको यात्रा तय गर्न तम्सेका छन् । तर गठबन्धनका सञ्जयसँगै लक्ष्मणलाई कडा चुनौती दिन नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारु मैदानमा छन् ।

एमालेको समानुपातिक सांसद बन्ने प्रयास असफल भएपछि उनी नागरिक उन्मुक्तिबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । गौतम र ज्ञवालीसँगको प्रतिस्पर्धामा थारुको ‘इन्ट्री’ले बर्दिया–१ मा चुनावी रौनक बढेको छ ।

थारु एमालेको जिल्ला कमिटीबाट राजीनामा दिएर रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिबाट चुनावी मैदानमा उत्रिएका हुन् । उनी प्रेस चौतारीको जिल्ला उपाध्यक्ष र अध्यक्षका साथै नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षसमेत भएका थिए । त्यसपछि उनी जिल्ला फर्किएर एमालेको जिल्ला राजनीतिमा प्रवेश गरे । उनी एमाले जिल्ला कमिटी सदस्य र प्रचार विभाग प्रमुख भए ।

बर्दिया–१ मा कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार आ–आफूले चुनाव जित्ने बताउँछन् । बर्दिया–१ मा एमालेसँग मुख्य प्रतिस्पर्धा हुने भए पनि आफू सहजै चुनाव जित्ने कांग्रेसका उम्मेदवार गौतमको दाबी छ । ‘साथीहरुलाई हामी गठबन्धनको स्प्रिटभन्दा बाहिर जान दिँदैनौं । चुनाव सहजैै जित्छु,’ उनले भने ।

यता ज्ञवालीले आफू इमानदारिपूर्वक जनताको सेवामा समर्पित भएको भन्दै चुनाव जित्नेमा ढुक्क रहेको रातोपाटीलाई बताए । उनले भने, ‘मतदाता कसैका दास होइनन् । गठबन्धनको कुनै असर पर्दैन । जातीय राजनीतिको अर्थ छैन । मेरो चुनावी माहोल राम्रो बनेको छ । बर्दिया–१ मा एमालेले चुनाव जित्दैछ ।’

एमाले उम्मेदवार ज्ञवालीलाई कम आक्दै थारुले भने आफ्नो मुख्य प्रतिस्पर्धा गठबन्धनका उम्मेदवार गौतमसँग हुने दाबी गरे । उनले भने, ‘एमाले अहिले मेरो प्रतिस्पर्धी नै होइन । मेरो मुख्य प्रतिस्पर्धा गठबन्धनका सञ्जय गौतमसँग हो ।’

कांग्रेस, एमाले र माओवादीले पहिचानको मुद्दा छाडेपछि जनलहर आफूतिर देखिएको थारुको भनाइ छ । थारुले एमालेको मत काट्ने आकलन गरिएको छ । उनी कांग्रेसको अन्तरद्वन्द्व, गठबन्धन, एमाले पृष्ठभूमि र जातीय फ्याक्टरबाट भोट बटुल्ने रणनीतिमा छन् । बर्दिया–१ मा थारुको मत निर्णायक छ ।

ठाकुरसिंहलाई कांग्रेस र एमालेबाट थारु उम्मेदवार नहुनुको फाइदा छ । तर नेकपा विभाजनपछि राष्ट्रिय एकता अभियान चलाइरहेका बामदेव गौतमको भूमिका बर्दिया–१ मा निर्णायक देखिन्छ ।

एमालेबाट राजीनामा दिएका गौतम राष्ट्रिय एकता अभियानबाट राजनीतिमा सक्रिय छन् । अहिले चुनावी मैदान बाहिर रहेका गौतमले कुनै उम्मेदवारप्रति पक्षधरता नदेखाएको अवस्था छ ।

एमालेका ज्ञवालीमाथि ०७४ मा आफ्नै जेठान बामदेव गौतममाथि अन्तरघात गरेको आरोप छ । सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा प्युठानबाट चुनाव लड्ने बामदेवको इच्छा थियो । तर सत्ता गठबन्धन बामदेवलाई उम्मेदवार बनाउन राजी भएन ।

यस्तो अवस्थामा गौतमको झुकाव सञ्जय र लक्ष्मणमध्ये कसप्रति हुन्छ भन्न सकिने अवस्था छैन । बामदेवको सचिवालयले भने बर्दिया–१ मा उनको भूमिका तटस्थ रहने रातोपाटीलाई बतायो । बामदेवका स्वकीय सचिव दिपक टमाटाले भने, ‘बामदेव कमरेडले गठबन्धन र एमाले दुवैका उम्मेदवारलाई समर्थन गर्नुहुँदैन । हाम्रो पार्टीको कसैलाई समर्थन नगर्ने निर्णय छ ।’

कुन उम्मेदवारका एजेण्डा कस्ता छन् ?

कांग्रेसका गौतमले बर्दिया–१ मा भन्सार नाका खोल्ने र भुरीगाउँ–सुर्खेत सडक निर्माणलाई मुल मुद्दा बनाएर भोट मागिरहेका छन् । उनले भने, ‘संविधान बनाउने बेलामा अरु काम गर्ने फुर्सद नै भएन । विगतको ४ वर्ष मेरो अनुकुल रहेन । मैले सोचेको जति काम गर्न सकेको छैन । बर्दियाको समृद्धिका लागि धेरै काम गर्न बाँकी छ । अहिले योजना बनाएर अगाडि बढेको छु ।’

यस्तै ज्ञवालीले बर्दियाका अव्यवस्थित बसोबास, बाटाघाटो, सीमा समस्या, आरक्षणसँग गाँसिएका समस्या, शिक्षा र स्वास्थ्यलाई एजेण्डा बनाएको बताए । राजनीतिक स्वार्थ र संरक्षणका कारण गुणस्तरीय काम नहुँदा भत्किएको जगदिशघाटको पुल निर्माणलाई पनि उनले उच्च प्राथमिकताका साथ उठान गरेका छन् । बिउ र मलको समस्या सम्बोधन गर्ने ज्ञवालीको आश्वासन छ ।

यस्तै थारुले ‘सुशासन र पहिचान, समृद्धि र आत्म सम्मान’ नारालाई मुख्य मुद्दा बनाएको पाइएको छ । थारुले विगतमा निर्वाचित भएर गएकाहरुले कुनै काम गर्न नसकेको बताए ।

बर्दियाको निर्वाचन इतिहास यस्तो छ

पञ्चायतकालमा बर्दियाको प्रतिनिधित्व, युवराज जंग शाह, शालिग्राम चौधरी, शिवलाल चौधरी, पदम बहादुर सापकोटाले गरेको पाइन्छ । ०४६ मा बहुदल आएपछि ०४८ मा भएको आम चुनावमा बर्दियाका तीन वटै निर्वाचनमा एमालेले जितेको थियो ।

बर्दिया–१ बाट बामदेव गौतम, २ बाट खगराज शर्मा र ३ बाट गोविन्दराज ज्ञवाली निर्वाचित भएका थिए । ०५१ को मध्यावधि निर्वाचनमा पनि बर्दिया–१ मा बामदेव गौतम, २ मा श्यामप्रसाद ढकाल र ३ मा काशिराम थारु विजयी भएका थिए ।

०५६ को आम निर्वाचनमा बर्दिया कांग्रेसमय भएको थियो । बर्दिया–१ मा कांग्रेसका कासी पौडेल, २ मा मंगलप्रसाद थारु र ३ मा खेमराज भट्ट मायालुले जित हात पारेका थिए ।

०६४ को पहिलो संविधानसभा निर्वाचनताका बर्दियामा एउटा निर्वाचन क्षेत्र थपियोे । त्यतिबेला बर्दियाका ४ वटै निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले बाजी मा¥यो ।  बर्दिया–१ मा सरला रेग्मी, २ मा विष्णुप्रसाद चौधरी थारु, ३ मा सन्तकुमार थारु र ४ मा रामचरण चौधरी थारु विजयी भएका थिए ।

०७० मा बर्दिया–१ मा एमालेका बामदेव गौतम, २ मा कांग्रेसका सञ्जय गौतम, ३ मा माओवादीका सन्तकुमार थारु र ४ मानबहादुर थारु विजयी भएका थिए ।

प्युठान र बर्दिया १ बाट चुनाव जितेका गौतमले प्युठान रोजेपछि बर्दिया–१ मा उपनिर्वाचन भएको थियो । उक्त निर्वाचनमा एमालेका श्यामप्रसाद ढकाल विजयी भएका थिए ।

०७४ मा बर्दियालाई ४ बाट २ वटा क्षेत्रमा झारियो । जसमा १ बाट कांग्रेसका सञ्जय गौतम र २ बाट माओवादीका सन्तकुमार थारु निर्वाचित भएका थिए । विगत र वर्तमानको चुनावी परिणाम हेर्दा बर्दिया कम्युनिस्टको उर्भर भूमि देखिन्छ । यसपटक दुई कम्युनिस्ट घटकको साथमा सञ्जय गौतम कम्युनिस्टकै विरुद्धमा चुनावी मैदानमा छन् ।

स्थानीय निर्वाचनको परिणाम अनुसार गौतमका लागि चुनावी प्रतिस्पर्धा सहज देखिन्छ ।

यहाँ वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमालेको ३६ हजार ८१२, कांग्रेसको ३४ हजार ६२२, माओवादीको २४ हजार ३४१, राप्रपाको ३ हजार १९०, जसपाको २ हजार २३७, नेकपा एकीकृत समाजवादीको एक हजार ६५२ र लोसपाको १५६ मत छ । स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको मत यहाँ अत्यन्त न्युन छ । यस आधारमा गठबन्धनका गौतम २३ हजार ८०३ मतले अगाडि देखिन्छन् । ०७४ को जस्तो अर्को चमत्कार नभए तथा पार्टीभित्रको अन्तरद्वन्द्व र गठबन्धन मिलाए गौतम सहज अवस्थामा देखिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप