शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व सभामुख सरोज यादवलाई स्वतन्त्र उम्मेदवारको चुनौती

सोमबार, २१ कात्तिक २०७९, १५ : ५२
सोमबार, २१ कात्तिक २०७९

मधेस प्रदेश सभाका पूर्व सभामुख सरोजकुमार यादव बारा–१ (ख) बाट आफूलाई मधेस प्रदेशको भावी मुख्यमन्त्री रुपमा प्रस्तुत गर्दै मत मागिरहेका छन् । तर उनलाई स्वतन्त्र उम्मेदवारहरुले कडा चुनौती दिएका छन् । 

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालको सिफारिसमा सभामुख भएका यादव जसपा विभाजनपछि जसपामा कि लोसपामा धेरै दिनसम्म कुनै कित्तामा खुलेका थिएनन् । 

चुनावको मिति घोषणा भएपछि मात्र उनी आफू जसपामै रहेको भन्दै सो पार्टीबाट टिकट लिएर चुनावी मैदानमा उत्रिएका छन् । उनलाई अहिले एमालेले साथ दिएको छ । बारा–१ (ख) मा प्रदेश सभा सदस्यका लागि १४ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमध्ये ६ जना दलबाट र ८ जना स्वतन्त्र उम्मेदार छन् । 

जसमा नागेन्द्रकुमार कानुले काँग्रेस, बतहु राय यादवले नेकपा एकीकृत समाजवादी पार्टी, सिताराम प्रसाद नेपालीले जनमत पार्टी, उमेश प्रसाद कलवारले नागरिक उन्मुक्ति पार्टी र जोखु साह कानु राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट उम्मेदवारी दिएका छन् ।

त्यस्तै, संजयप्रसाद यादव, विन्देश्वर यादव, कमरुल्लाह अन्सारी, अशोककुमार यादव, राजकुमार प्रसाद साह, अरुण कुशवाहा र प्रभुदास तत्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

२०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच गठबन्धन थियो । सोही गठबन्धनबाट सरोज यादव चुनाव लडेका थिए । उनले त्यतिबेला १४ हजार २६९ मत ल्याएर विजयी भएका थिए । त्यस्तै, काँग्रेसका भागवतप्रसाद साहले ८ हजार १२६ तथा माओवादीका मोहम्मद इस्लाम अन्सारीले ५ हजार ४३५ मत ल्याएका थिए । त्यतिबेला माओवादीलाई एमालेको पनि साथ थियो । 

जसपा–लोसपा (त्यतिबेलाको फोरम–राजपा) गठबन्धनबाट चुनाव जितेका सरोज यादव यसपटक जसपाबाट चुनाव लडेका छन् । नेपाल सद्भावना पार्टीमा लामो समय राजनीति गरेका उनी राजेन्द्र महतोको साथमा राजपामा थिए । राजपा–समाजवादी पार्टी मिलेर जसपा बनेको थियो । राजपा अर्थात् लोसपा अहिले पाँच दलीय गठबन्धनमा छ । लोसपाले काँग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार नागेन्द्रकुमार कानुलाई सघाइरहेको छ । 

बारा–१ (ख) मा तीनवटा पालिका छन् । जसअन्तर्गत सिम्रौनगढ नगरपालिका लोसपाले जितेको छ भने आदर्श कोतवाल गाउँपालिका काँग्रेस र बारागढी गाउँपालिका जसपाले जितेको छ । यो क्षेत्रमा बारागढी गाउँपालिकाका तीनवटा वडा मात्र पर्छन् । त्यो तीनमध्ये जसपाले दुई र काँग्रेसले एउटा वडा जितेका छन् । 

यता सत्ता गठबन्धनमा दुईजना उम्मेदवार भएका छन् । काँग्रेस नागेन्द्रकुमार कानु र नेकपा एकीकृत समाजवादी पार्टीका बतहु राय यादव उम्मेदवार बनेका छन् । त्यसै गरी, लोसपाबाट विद्रोह गरी संजय यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनमा भएको विवादको फाइदा संजय यादवलाई भइरहेको छ । 

बाराका स्थानीय पत्रकार सिकेन्द्र साहले भने, ‘चुनाव जित्ने सम्भावना सरोज यादवको छ तर स्वतन्त्र उम्मेदवार संजय यादवले कडा टक्कर दिएका छन् ।’ सरोज यादवका लागि स्वतन्त्र उम्मेदवार संजय यादव चुनौती बनेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका संजय यादव मधेस राजनीतिका पुराना नेता हुन् । मधेस आन्दोलनदेखि मधेसी जनअधिकार फोरम हुँदै लोसपासम्म पुगेका नेता हुन् उनी । उनलाई आन्तरिक रुपमा लोसपालगायत अन्य पार्टीहरुको पनि समर्थन रहेको पत्रकार साह बताउँछन् । 

सत्ता गठबन्धनमा दुईजना उम्मेदवार भएकाले उनीहरु त्यतिकै कमजोर भएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) र काँग्रेसको आआफ्नै उम्मेदवार छन् । लोसपाबाट संजय यादव विद्रोह गरेर उम्मेदवारी दिएका छन् । गठबन्धनमा रहेको माओवादीले कसलाई मत दिन्छ, त्यसमा पनि चुनावी नतिजा भर पर्ने पत्रकार साहको विश्लेषण छ । 

सिम्रौनगढ नगपालिकास्थित नगर आँखा अस्पतालमा कार्यरत डा. दिलिप यादवले यहाँका मतदाताले नयाँपन खोजेको बताए । सरोज यादवको पारिवारिक पृष्ठभूमि राजनीतिमय छ, लामो समयदेखि राजनीतिमा छन् तर यहाँका जनताका लागि उपलब्धिमुलक कार्यक्रम नगरेको उनको गुनासो छ । 

सरोज यादव संघीय मन्त्री पनि भइसकेका हुन् । उनी नेपाल सद्भावना पार्टी तथा राजपा नेपालका उच्च पदमा रहिसकेका छन् । मधेस प्रदेशका प्रदेशसभाका सभामुख जस्तो गरिमामय पदमा रहिसकेका छन् तर यहाँका जनताका लागि उनले कुनै काम नगरेको गुनासो क्षेत्रभरि सुन्न सकिन्छ भन्छन् डा. दिलिप यादव । 

काँग्रेस, एमाले, माओवादी पहिलादेखि नै यहाँ कमजोर छन् । ती दलहरुले गठबन्धन बनाएपनि यसमा विवाद छ । घरदैलो कार्यक्रममा जसपा र काँग्रेसभन्दा बढी भीडभाड स्वतन्त्र उम्मेदवार संजय यादवकोमा देखिने गरेको छ । यसले संजयको पलरा भारी रहेको दावी डा यादवको छ ।   

तत्कालीन नेपाल सद्भावना पार्टीदेखि नै सरोज यादवका साथमा काम गरेका जगत कुशवाहा पनि संजय यादवको पक्षमा उभिएका छन् । उनी भन्छन्, ‘सरोज यादवले यस क्षेत्रका जनतालाई धोका दिएका छन् । लोसपाबाट सभामुख बने, सधँै लोसपाको वकालत गरे तर टिकट लिनेबेला जसपामा गए । यसले  यहाँका जनता उनीप्रति रुष्ट छ ।’

सरोज यादवका भाइ रामकिशोर राय यादव पनि उनका साथमा छैनन् । रामकिशोर राय यादव बारा–१ मा प्रतिनिधि सभा सदस्यका आकाँक्षी थिए । तर जसपाले उनलाई टिकट नदिएपछि उनी बारा–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । रामकिशोरलाई टिकट नदिएको कारण त्यहाँका स्थानीय जसपाका नेताहरु सरोज यादवप्रति पनि असन्तुष्ट रहेको नेता कुशवाहाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप