मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

किसानलाई चटारो, नेतालाई हतारो

आइतबार, २७ कात्तिक २०७९, ११ : ४७
आइतबार, २७ कात्तिक २०७९

तल मर्दी खोला । माथि मर्दी हिमाल । जङ्गलको बीचमा समथर भूभागमा बस्तीसँग ठूलो फाँट छ । पोखराबाट झन्डै ३० किलोमिटर उत्तर कास्कीको लाहचोकमा चट्ट मिलेको बस्ती छ । एउटा गाउँ, जहाँ सबै जातजातिका मानिस मिलेर बसोवास गर्छन् । 

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र लाहचोक पुग्न गतिलो पक्की सडक छैन । जोखिम मोलेर पालिका केन्द्र पुग्नुपर्ने अवस्था छ । उम्मेदवार भोट माग्न आउँदा गाडीमै आउँछन् । प्राकृतिक सम्पदाले भरीपूर्ण यो गाउँपालिकामा मतदाता पनि धेरै भएकाले उम्मेदवारको नजर छ । उनीहरूले विकासको आश्वासन पनि बाँड्छन् । पर्यटकीय विकास गर्ने उद्घोष गर्छन् । तर यति बेला नेतालाई चुनाव लागे पनि गाउँलेलाई धान थन्क्याउने चटारो छ । उनीहरू नेताका आमसभामा भन्दा वर्ष दिनमा फलेको धान थन्क्याउन खेतबारीमा व्यस्त छन् । 

लाहचोक फाँटमै धान थन्क्याइरहेका हेमन्त शाहीलाई पनि चुनावी चटारोभन्दा धान थन्क्याउने हतारो थियो । भन्छन्, ‘चुनाव त आयो । तर हामीलाई धान थन्क्याउन हतारो छ । नेता भोट माग्न आउँछन् । हामी घरमा बस्ने फुर्सद छैन ।’ शाहीले असारमा लगाएको धान थन्क्याउन आफूलाई हतार भएको सुनाए । ‘बल्लबल्ल फलाएको बाली छ । पानी आए भिजिहाल्छ । थन्क्याउन पनि मौसमले साथ दिनुप¥यो । अहिले चुनावभन्दा हामीलाई बाली थन्क्याउने चटारो छ,’ शाहीले भने । 

शाहीसँगै यति बेला लाहचोकवासी धान थन्क्याउन व्यस्त छन् । साढे २ सय हेक्टर जमिनमा लगाइएको धान थन्क्याउन प्रायः लाहचोकवासी मेलापातमा दौडिरहेका छन् । नेताहरू पनि विगतको चुनावभन्दा कमै चुनाव प्रचारमा हिँडेको शाही बताउँछन् । 

‘हामी २, ३ दिन भयो बाली थन्क्याउन व्यस्त छौँ । विगतभन्दा कमै नेता भोट माग्न आएको देख्छु,’ उनले भने । यो क्षेत्रमा स्थानीय चुनावमा पनि कांग्रेस वडाध्यक्षले जितेका छन् । कांग्रेस बलियो रहेको यो क्षेत्रमा सङ्घ र प्रदेश दुवैमा कांग्रेस उम्मेदवार छैनन् । शाहीले आफूहरूमा केही उत्साह नभएको बताए । उनले भने, ‘पुरानै एजेन्डा पूरा भएका छैन । नयाँको के आशा गरौँ ?’ 

शाही आफूले कुनै पार्टीमा कार्यकर्ता भएर भोट नमागेको बताउँछन् । तर नेताले धान रोप्ने बेला निरन्तर पानी आउने समस्या पनि समाधान नगरेकोमा उनी रूष्ट देखिन्छन् । 

लाहचोक र घाचोकको सिँचाइ हुने लस्तीखोलाको मुहानबाट पानी आउने ठाउँ झ्याल र ढोकाजस्तो भएको शाही बताउँछन् । भन्छन्, ‘घाचोकतिर पानी धेरै भएपछि मात्र लाहचोकतिर आउँछ । हामीले बारम्बार पानी ल्याउनुपर्ने माग राखेका छौँ तर कुनै नेताले समाधान गरिदिएनन्,’ उनले भने, ‘जनप्रतिनिधिले समाधानको उपाय खोजेनन् ।’ पानीको विषय मुद्दा मामिला पनि बन्यो । अदालत पुग्यो । अदालतले गाउँपालिकाको न्यायिक समितिमा पु¥याइयो । तर लाहचोकमा पानी आएको छैन । 

जेठ, असार र साउनमा धान रोप्दा पानीको खडेरी परेर घाचोकका मानिससँग झगडा गरेर पानी ल्याउनुपर्ने अवस्था आफू जन्मेदेखि थाहा पाएको तर नेताले प्रत्येक चुनावमा एजेन्डा भए पनि समाधानका लागि केही नगरेको उनले आरोप लगाए । 

दुई गाउँबीच पानीको विषयलाई लिएर वर्षदेखि पानी बाराबारको सम्बन्ध रहेको नहरका अध्यक्षसमेत रहेको शाहीले बताए । उनले लस्तीखोलाबाट पानी ल्याउने विवाद ०४८ सालदेखि भएको बताए । 

लाहचोक माछापुच्छे« गाउँपालिका वडा नम्बर ४ मा पर्छ । यो क्षेत्र कास्की क्षेत्र नम्बर ३ मा पर्छ । गण्डकी प्रदेश सभातर्फ भने यो क्षेत्र ३ को (क)मा पर्छ । विगतमा यो क्षेत्रमा प्रतिनिधि सभामा एमालेबाट जगत विश्वकर्मा र प्रदेश सभामा माओवादीका रामजी बरालले जितेका थिए । आसन्न निर्वाचनमा कास्की–३ मा एमालेबाट दामोदर वैरागी र गठबन्धनबाट माओवादीका रामजी बराल चुनावी मैदानमा छन् । प्रदेश सभातर्फ भने एमालेबाट गणेशमान गुरुङ र माओवादीका दुर्गादत्त भण्डारी चुनावी मैदानमा छन् । जुनसुकै पार्टीले जिते पनि पानी समस्या र सडक मर्मतलाई प्राथमिकतामा राख्न शाहीको अनुरोध छ । 

लाहचोक फाँटमा धान धन्क्याउने काम गरिरहेका मतदातासँग कुरा गर्दा पनि अधिकांश मतदाता नेताको झुटा आश्वासले दिक्क देखिन्थे । उनीहरूले पुरानै एजेन्डा पूरा नगरेकाले नयाँ आशा गर्नु बेकार रहेको सुनाए । स्थानीय युवा मतदाता युवराज अधिकारी र घनश्याम अधिकारीले यसपालि पुराना दलभन्दा नयाँ दलको विकल्प खोज्ने सुनाए । नयाँ विकल्प भन्दै उनीहरूले रवि लामिछानेको घण्टी चिन्हमा भोट दिने सङ्केत गरे । भन्छन्, ‘यो पटक झुटा आश्वासन दिनुभन्दा इमानदार भएर काम गर्ने नेतृत्वलाई भोट दिने इच्छा छ ।’ 

०७४ चुनाव फर्केर हेर्दा 

कास्की क्षेत्र नम्बर ३ संसदीय निर्वाचनमा एमालेका जगत विश्वकर्मा विजयी भएका थिए । विश्वकर्मा ३२ हजार ६ सय ९० मतसहित निर्वाचित भए । उनले नेपाली कांग्रेसका शुक्रराज शर्मालाई ८ हजार ५ सय २६ मतान्तरले पराजित गरेका हुन् । 

यस्तै ३ (क) बाट माओवादी केन्द्रका रामजी बराल विजयी भएका थिए । बरालले २ हजार ७ सय ६६ मत मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार शारदा पौडेललाई पराजित गरेका थिए । बरालले १५ हजार ८ सय २३ मत ल्याउँदा पूर्वसांसद पौडेलले १३ हजार ५७ मत प्राप्त गरेकी थिइन् । कास्की ३ प्रदेश सभा (ख)मा एमाले उम्मेदवार राजिव पहरी विजयी भएका थिए । उनले १६ हजार १ सय ६७ मत ल्याएर विजयी भए । 

उनका प्रतिस्पर्धी कांग्रेसका धोजबहादुर गुरुङ ‘सिकन्दर गुरुङ’ले १० हजार ८ सय ७६ मत पाए । अघिल्लो पटकको चुनावी नतिजामा निकै धेरै मतान्तर भएको हुँदा फेरि आफूले जित्ने दाबी एमालेको छ । तर एमालेबाहेक मिलेर जाँदा आफूहरूले जित्ने पाँच दलीय गठबन्धनको जिकिर छ । तर खास निर्णायक मत भने थपिएका नयाँ मतदाता हुन सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप