आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रवासी नेपालीलाई मतदानको अधिकार प्राप्त हुनेमा राउतको आशंका

सोमबार, २४ वैशाख २०८१, २२ : १६
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ  । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आगामी निर्वाचनमा प्रवासी नेपालीहरूले मतदान गर्न सक्ने कुनै पनि विश्वासिलो आधार नदेखिएको बताएका छन् । सोमबार उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै अध्यक्ष राउतले प्रवासी नेपालीले आगामी निर्वाचनमा मतदान गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेमा त्यसको कुनै विश्वसनीय आधार नदेखिएको बताएका हुन् ।

पासपोर्ट नवीकरण गर्न समेत ४–५ महिना कुर्नुपर्ने अहिलेको अवस्थामा प्रवासी नेपालीहरूले विदेशबाट मतदान गर्न पाउँछन् भन्ने कुरा विश्वसनीय आधार नरहेको उनले बताए । अध्यक्ष राउतले अन्तिम समयमा पुनः सरकारले प्राविधिक तयारी नपुगेको भन्दै प्रवासी नेपालीहरूलाई मतदानको अधिकारबाट वञ्चित गरेको स्पष्ट संकेत देखिएको बताए । उनले प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको विषयमा गम्भीर भई अहिलेदेखि नै सोको तयारीमा लाग्न परराष्ट्र मन्त्री श्रेष्ठलाई आग्रह समेत गरे ।

उनले भने, ‘प्रवासी नेपालीहरूको “पैसा चल्ने तर भोट नचल्ने” अवस्था अझै पनि देखिएको छ ।’ राउतले हरेक देशका नेपाली दूतावाससँग सो देशमा भएका नेपाली कामदारको विवरण नरहेको बुझिएको उल्लेख गर्दै अधिकांश दूतावासमा कर्मचारीको अभाव समेत रहेको भन्दै परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

कामदारको सहयोगका लागि ठाउँ ठाउँमा हेल्पडेस्कको व्यवस्था गनुपर्नेमा जोड दिँदै अध्यक्ष राउतले दूतावासमा प्रशिक्षित, विनम्र, निष्पक्ष र कामदारहरूले बुझ्ने भाषामै कुरा गर्न सक्ने कर्मचारीहरू राखी मल्टिपल हटलाइनको व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।

राहदानी नवीकरण गर्न समेत ४–५ महिना कुर्नुपर्ने, पटक–पटक दूतावास धाउनुपर्ने, ठुलो रकम खर्च हुने, कतिपय ठाउँमा त आफ्नो एक महिनाको तलब नै मजदुरहरूले खर्चिनुपर्ने, दूतावासका कर्मचारीहरूलाई पैसा खुवाउनुपर्ने जस्ता समस्याहरू देखापरेको मन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

उनले जनमत पार्टीसम्बद्ध प्रवासी जनमत सङ्घ र गैरआवासीय मधेसी सङ्घलाई पहिचान गर्न मातहतका दूतावास तथा नियोगहरूलाई सर्कुलर जारी गर्न पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप