बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–रापप्रा कित्तामा गएर जसपाले गल्ती गर्‍यो : उमेश यादव

मङ्गलबार, २९ कात्तिक २०७९, १२ : २६
मङ्गलबार, २९ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला अध्यक्ष उमेश यादव प्रतिनिधि सभा सदस्यमा चुनाव लड्न तयारी गरिरहेका थिए । तर सत्ता गठबन्धनको सिट बाँडफाँटमा सप्तरी–२ जसपाको भागमा परेपछि उनले प्रदेश सभामा उम्मेदवार बन्ने निर्णय गरे । र त्यही अनुसार आफ्नो तयारी सुरु गरे ।माओवादी केन्द्रले सप्तरी–२ मा प्रतिनिधि सभा लिएर प्रदेश सभा छाडेको थियो । त्यही समीकरणअनुसार जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवक्ता प्रवक्ता मनिष सुमनको नाम समानुपातिकमा पठाएर माओवादी केन्द्रका लागि सप्तरी २ (ख) खाली राखे ।

यद्पि अन्तिम समयमा जसपाले सत्ता गठबन्धन छाडेपछि उनलाई पुन: प्रतिनिधि सभामा फर्कन अफर गरियो । तर यादव प्रतिनिधि सभामा फर्किन चाहेनन् । उनी २०७० को संविधान सभा चुनावमा सप्तरी–२ बाट चुनाव जितेका थिए तर २०७४ को चुनावमा उनी जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले २१ हजार मत ल्याउँदा उमेश यादवले ११ हजार मत ल्याएका थिए । २०७० संविधान सभा सदस्य भएको बेला उनी सिँचाइ मन्त्री पनि भएका थिए ।

आसन्न निर्वाचनमा यादव उम्मेदवार बनेको सप्तरी २ (ख) मा जसपा–एमाले गठबन्धनबाट जसपाका लक्ष्मण यादवले उम्मेदवारी दिएका छन् भने नेपाल संघीय समाजवादी पार्टीबाट मो.फरमुद, जनमत पार्टीबाट महेश प्रसाद यादव, हाम्रो नेपाली पार्टीबाट खेलानन्द कुमार दास, राप्रपा नेपाल फुदन लाल खङ खत्वे, नेपाल मजदुर किसान पार्टीबाट महादेव प्रसाद चौधरी, राप्रपा, फलेन्द्र मण्डल, नेपाली काँग्रेस (बीपी)बाट प्रतिमा कुमारी देवले उम्मेदवारी दिएका छन् । 

दुर्गानन्द यादव, रिंकु देवी यादव, सकुन्ताला देवी यादव र निरजकुमार साहीले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । 

सत्ता गठबन्धनबाट उम्मेदवार बनेको कारण उनी ‘ग्रीन जोन’मा रहेका छन् तर माओवादी केन्द्र छाडेर जनमत पार्टीबाट महेश यादवले उम्मेदवारी दिएको कारण उनको लागि चुनौती बनेको छ । 

नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले  पदमा भएको बेला सप्तरीका लागि काम पनि गरेको कारण उमेश यादवको दाबेदारी बलियो रहेको सुनाए । उनले भने, ‘माओवादी द्वन्द्व चर्किरहेको बेला पनि उहाँले सप्तरीका लागि थुप्रै काम गर्नु भएको छ ।’

नेता उमेश यादवले संघीयतालाई अझै सुदृढ पार्न आफ्नो उम्मेदवारी प्रदेश सभा सदस्यका लागि परेको बताउँदै युवाको सीप र क्षमतालाई अनुदानमा आधारित उत्पादनमा जोड्दै कृषि औद्यौगिकरण गर्न आफ्नो लक्ष्य रहेको पनि बताए । संविधानलाई व्यवहारमा लागु गराउनका लागि तथा सीप, श्रम, बुद्धि र पसिना स्वदेशमै कसरी बगाउने त्यसका लागि आफूले काम गर्ने बताउँदै उनले वडामा गुणस्तरीय अस्पताल अशक्तलाई घरदैलोमा स्वास्थ्य सेवा प्रदान गर्न आफ्नो उम्मेदवारी परेको बताए ।

प्रस्तुत छ, उनले चुनाव जित्नका लागि के के गर्दैछन्, प्रतिनिधि सभा छाडेर प्रदेश किन राजे, के एजेन्डा लिएर चुनाव भिड्दै छन् लगायतका विषयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सप्तरी २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार उमेश यादवसँग गरिएको कुराकानी:

पहिला संघीय संसद्मा पुग्नु भएको थियो किन अहिले प्रदेश संसद्मा उम्मेदवारी दिनुभयो ?

पार्टीको निर्णय मानेर अगाडि बढ्नुपर्छ । त्यसैले पार्टीको निर्णय र गठबन्धनको आवश्यकता औचित्यलाई सम्बोधन गर्न प्रदेशसभामा पुग्नका लागि उम्मेदवारी दिएको हुँ ।

कतै प्रतिनिधिसभामा चुनाव लड्न डराएर प्रदेशसभामा उम्मेदवारी दिनुभएको त होइन ?

मुक्ति र मृत्युको लडाइ लडेका मान्छेलाई चुनावसँग डर हुँदैन । चुनावमा हार्ने डर भएर प्रदेशमा उम्मेदवारी दिएको होइन । मलाई पार्टीले तिम्रो आवश्यकता प्रदेशसभामा छ भनिसकेपछि प्रदेशसभामा झरेको हुँ । प्रदेशसभामा म मात्रै नभएर कतिपय उच्च तहका नेताहरू झर्नुभएको छ । 

पार्टीले हजुरलाई मुख्यमन्त्री बनाउँछु भनेको छ ?

पार्टी र गठबन्धनले दुवैले मुख्यमन्त्री बनाउँछु भनेका छैनन् । तर, प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री बन्ने संवैधानिक अधिकार छ । त्यसलाई कसले पनि अस्वीकार गर्न सक्दैन ।

चुनाव प्रचारप्रसार कस्तो चलिरहेको छ ?

चुनाव नजिकिँदै गर्दा घरदैलो गरिरहेका छौँ । विभिन्न स्थानमा अन्तरक्रिया गरिरहेका छौँ । चुनाव प्रचारप्रसारको क्रममा विगतमा हामीले जनताका लागि गरेका कामका विषय सविस्तार सुनाउँछौँ । यस्तै, वामगठबन्धको औचित्यका बारेमा पनि प्रष्ट पारिरहेका छौँ । प्रचारप्रसारका क्रममा आगामी दिनमा गर्ने कार्य योजनाबारे जानकारी दिँदै घरदैलो गरिरहेका छौँ ।

लोकतान्त्रिक गठबन्धनको स्थिति अल्लि कमजोर भनिएको छ । जसपाका अध्यक्षले यस क्षेत्रबाट चुनाव लड्नु भएको छ । तपाईंले चुनाव जित्ने स्थिति छ ?

वाम लोकतान्त्रिक गठबन्धनको स्थिति एमाले जसपाको गठबन्धनभन्दा दोब्बरले मजबुत छ । त्यसैले जनताले हामीलाई निर्वाचित गराएर पठाउँछन् । हामीले उहाँहरुले भन्दा डबल मत प्राप्त गर्छौँ। प्रतिस्पर्धीले के-के भन्नुभयो त्यसको उत्तर दिँदै हिँड्दिनँ । चुनाव चाहिँ वामगठबन्धलाई जनताले जिताउँछन् । 

चुनाव जित्ने आधारहरू के के हो ?

चुनाव जित्ने आधार भनेको वाम लोकतान्त्रिक गठबन्धनमा संलग्न दल र दलले प्राप्त गरेको मत एउटा आधार हो । दोस्रो वाम लोकतान्त्रिक गठबन्धनमा जोजो हुनुहुन्छ १२ बुँदे यात्राका सहयात्रीहरू हुनुहुन्छ । 

यस्तै २०६२/६३ को जनआन्दोलनका सहयात्रीहरू र शहीदहरूको गठबन्धन हो । वाम लोकतान्त्रिक गठबन्धनले संविधानका रक्षाका कुरा गर्छन् । संविधानको परिमार्जनका कुरा गर्छन् । आवश्यकता अनुसार संशोधनका कुरा गर्छन् । वाम लोकतान्त्रिक गठबन्धनले जनताको रक्षा गर्ने, जनताको आवश्यकता अनुसार अवस्था बदल्छ ।

 वाम लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभाबाट पारित भएका नागरिकता विभेदलाई राष्ट्रपतिले एक किसिमले च्यात्नुभयो । नागरिकता विधेयकलाई रोकेर संविधानलाई च्यातिन र त्यसको लागि हामी रक्षा गर्छौँ । 

वाम लोकतान्त्रिक गठबन्धन उग्र दक्षिणपन्थीहरूसँग दुरदुरसम्म कुनै साइनो र सम्बन्ध छैन भन्ने कुरा राजनीतिक ढङ्गले हामीले पुष्टि गरिरहेका छौँ । सप्तरीको विकास निर्माणको सन्दर्भमा आफै संविधानसभाको सदस्य भएको समयमा हामी जहाँ उभिएका छौँ यो मोटरबाटो वान लेन थियो टु लेन भयो । 

राजविराजको विमानस्थल सञ्चालनमा थिएन हामीले सञ्चालन ल्याएका हौँ । यहाँका व्यापारी, कर दर्ता लाहान जानुपर्ने वाध्यता थियो अहिले त्यस्तो अवस्था छैन । खाडोको बाढी राजविराजमा आउँथ्यो त्यसलाई हामीले नियन्त्रण गर्‍यौँ  । राजविराजका सडकको अवस्था जीर्ण थियो । हामीले भौतिक पूर्वाधार तथा सहरी विकास अन्तर्गत लगभग ३२ किलोमिटरको सडकका योजनाहरूलाई ल्याएर सडकको स्तरोन्नतिको काम भइरहेको छ । 

राजविराज चक्रपथका कुरा कसैले उठाएका थिएनन् । हामीले चक्रपथ निर्माणका कुरालाई अगाडि बढायौँ । त्यतिमात्रै होइन राजविराज एउटा मात्रै भलुवाइ नदी छ । त्यस नदीको छेउमा पाँच सय बस्ती छन् । बस्ती नै सखाप हुने स्थितिलाई हामीले नियन्त्रण गरेको हो । खाँडो नदी नियन्त्रण आउनाले भारतको बिहारको गुलौलीसँग जोड्ने पुल निर्माण प्रक्रियालाई समेटेको छ । म सिँचाइ मन्त्री हुँदा चक्रबेलीब्रिजको सर्भे प्रक्रियालाई अगाडि बढाएर अध्ययन प्रतिवेदन मन्त्रालयलाई बुझाइ सकिएको छ । 

त्यसको डिपिआर तयार गरी टेन्डर गरेर अगाडि बढाउँदा सप्तरी मात्रै नभएर मोरङ, झापा, सिराहा र धनुषासम्मका किसानलाई सिँचाइको तनावबाट मुक्त हुने आधारहरू निर्माण गरेका छौँ । विकास निर्माणका काम अगाडि बढाएका छौँ । खाडो नदी नियन्त्रण गरेकै कारणले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि जग्गा प्राप्त गर्न सफल भएका छौँ ।

 विगतमा हामीले संविधानसभा र प्रदेशसभाको संसद्मा लडेको एउटा भूमिका छ । मन्त्रालय सम्हाल्दा मधेस केन्द्रित योजना कसले ल्याएको थियो ? समृद्ध मधेस तराई विकास सिँचाइ होस वा तराई मधेस बाढी व्यवस्थापन योजनाका कुरा होस । चक्रबेलीब्रिजका कुरा होस, सुनकोसी कमला नदी डाइभर्सनको अध्ययन गर्ने कुराको प्रक्रियालाई अगाडि बढाउने पहलकदमी हामीले लिएका छौँ ।

जनताले यी कुराहरूलाई बुझेका छन् । हामीले नै दलित छात्रावास बनाउने पहिलो प्रयास गरेका हौँ । सप्तरी जिल्लामा मात्रै नभएर मधेस प्रदेशमा पहिलो पटक दलित छात्रावास बनाउने नेतृत्व हामीले गरौँ । त्यति मात्रै नभएर डुम, चमारको छोराछोरीलाई एमबिबिएस पढाउने सवालमा माओवादीकै नेता गिरिराजमणि शिक्षामन्त्री हुँदा पहलकदमी लिएर पढाउन सहयोग गर्‍यौँ  ।  

विभेदरहित समाज निर्माण संरचनाका कुरा गर्छौँ । जहाँ यस्ता संरचना विभेदसहितका कुराहरू गरिन्छ त्यसको विपक्षमा हामी उभिन्छौँ ।

आगामी दिनका लागि प्रष्ट योजना र एजेन्डाहरू छन् । राजविराजको भन्सार कार्यालयको अपग्रडिङ नगरीकन यहाँ औद्योगिक क्षेत्र सञ्चालन हुँदैन । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई यति लामो समयसम्म पनि सञ्चालनमा ल्याउन नसक्नुको कारण काँकडभित्ता र वीरगन्जबाट माल ल्याएर यहाँ समान उत्पादन गर्न सम्भव छैन । 

त्यसैले यहाँबाट पुजी र व्यापारीहरु पलायन भइराखेका छन् त्यसलाई रोक्नका लागि राजविराज भन्सारका कुरा, बिहारमा एनस ५७ छ त्यससँग सप्तरीलाई जोड्ने, सप्तरीलाई सोलुखुम्बुसम्मको जोड्ने प्रष्ट योजनाहरू हामीसँग छ । धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्र बनाउने आधार छन् ।

तपाईंले यी कुरा गरिरहँदा यहाँका सामान्य जनताहरूसँग कुरा बुझ्दा तपाईं सिँचाइ मन्त्री पनि हुनुभयो । तर, बेरोजगार र गरिबीका मुद्दा हजुरको एजेन्डामा त पर्दैन ?

सिँचाइ मन्त्री हुँदा चक्रब्यारेज कुरा, धेरै मझौला सिँचाइ योजना ल्याएको हो । म मन्त्रीबाट हटेपछि ती योजनामा पैसा कम राखियो । मन्त्री हुनुभन्दा अगाडि दुई वटा डिपवोरिङ आउने थियो त्यसलाई २० गुणा पुर्‍याएका छौँ । पहिला सप्तरीको बजेट २५/३० करोडमा सीमित हुन्थ्यो, हामी बढाएको छौँ ।

मधेस प्रदेशमा मधेस कारखानाका कुरा गर्छौँ । यहाँ कारखानाको आवश्यकता छ । अरू देशको अनुदान र किनेर मात्र हामीले भरथेग गर्ने कुरा गरिरहेका छौँ । हामी अव आफ्नै ढङ्गबाट अगाडि बढ्छौ । कृषि पेशा उत्तम खेतीमध्ये उत्तम व्यापार, सबैभन्दा अन्य भनिन्थ्यो जागिरको कुरा । 

वर्तमान समयमा अहिले उल्टो भएको छ । पहिला जागिर,व्यापार र अन्त्यमा सबैभन्दा खतम चाहिँ खेती भएको छ । हामीले यसलाई सुल्टो बनाउने प्रयासहरू गर्छौँ । 

यहाँ युवाहरूलाई रोजगार दियौँ । जन्मनासाथ जन्मदर्ताको कर लिने, विवाह गरे पनि विवाह दर्ताको कर लिने, मरेपछि पनि नछाड्ने राज्यले युवालाई बेरोजगार अथवा जनताको समस्या समाधान गर्न पनि या त्यसले बेरोजगार समस्या समाधान गर्नुपर्छ । वा बेरोजगार युवालाई भत्ता दिनुपर्छ । भत्ताको नाममा त्यसलाई आरसी बनाउने होइन । त्यसको स्वरोजगारसँग जोडेर उत्पादनको प्रक्रिया लगाउनुपर्छ ।

मधेस प्रदेशमा पहिलो जसपा त्यसपछि एमालेको पनि बढ्दो क्रेज छ । दुईवटा दल मिलिसकेपछि तपाईंंहरुले जित्ने आधार छैन भन्ने सुनिन्छ नि ?

सबैभन्दा पहिला एमालेको कुनै क्रेज छैन । मधेसी जनताले प्राप्त गरेको राजनीतिक उपलब्धिका लागि थुप्रै बलिदान गरेको छ । पछिल्लो चरणमा दुई दुई पटक प्रतिनिधिसभा विगठन गर्दा तपाईंंले काठमाडौँमा सहर र सडक देखेको लहरमा सबैभन्दा बढी मधेसका जनता गएर आन्दोलन गरेका थिए ।

त्यहाँ आन्दोलन गर्न सबैतिरबाट आएका थिए । तर, मधेसका जनता धेरै गएका थिए । त्यसैले त्यस उपस्थितिले सामान्य कुरा सङ्केत गर्दैन । संघीयता समानुपातिक प्रणाली, समावेशी चाहिएको वर्षौँदेखिको आफ्नै देशमा विदेशीको ट्याकबाट मुक्त हुनका लागि जनआन्दोलन र मधेस विद्रोहले गरेको आन्दोलन त्यसबाट प्राप्त राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्ने सवालमा मधेसी जनता चुक्दैनन् । 

मधेसी जनताले संविधानको रक्षा गर्ने कार्य गठबन्धनले भन्ने कुरा मधेसी जनतालाई थाहा छ । दोस्रो जसपाको सन्दर्भमा जसपा घोर दक्षिणपन्थीसँग जोडिएको छ । जसपाले विगतमा गरेका आन्दोलनलाई हेर्दा स्वाभाविक रूपमा मधेसका विद्रोहहरूलाई सतहमा ल्याउने काम गरेको थियो । 

तर, त्योभन्दा अगाडि नै मधेसलाई छुटै सरकार बनाएर जनयुद्धका क्रममा लगभग १६०० सय जति मधेसी मूलकै युवाहरूले बलिदान दिएर मधेसी मुद्दालाई स्थापित गरेका थिए ।

पुरकका रूपमा मधेस विद्रोहले संस्थागत गर्न सहयोग गरेको हो । तर, इतिहासले एउटा कालखण्डमा घुमन्ते युग भन्दा पशुपालन युग प्रगतिशील भयो । त्यसपछि सामन्ती युग प्रगतिशील भयो । सामन्ती युगभन्दा पुँजीवादी युग प्रगतिशील युग भयो । पुँजीवादी युगभन्दा समाजवादी युग प्रगतिशील हुन्छ । एउटा काल खण्डमा प्रगतिशील चरित्र बोकेको व्यक्ति संस्था, प्रवृत्ति चाहिँ अर्को चरणमा गएर त्यो प्रतिगामी कित्तामा फैलन सक्छ । 

त्यो भए जसपा प्रतिगामी कित्तामा गयो त ?

मलाई के लाग्छ भने त्यो फेरिन सक्छ । हिजोका क्रान्तिकारीहरू महान् जनयुद्धमा हामीलाई नेतृत्व गर्नेहरू, ज्यान फाल्न तयार भएका कमान्डरहरू कता भासिएका छन् । त्यसर्थ जसपा चाहिँ एमाले राप्रपामा गएर राजनीतिक रूपमा गल्ती गरेको छ भन्ने कुरा हो । 

जसपाले मधेस प्रदेशमा सिङ्गो बहुमतको सरकार बनाउने उपेन्द्र जीहरूले भन्नु भएको छ । त्यो सम्भावना छ ?

एउटा कुरा कसले चाहिँ मेरो पार्टी हार्छ भनेर भन्छ । उहाँ आफ्नै पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँ यही क्षेत्रबाट चुनाव लडिराख्नु भएको छ । उहाँको भनाइमा त्यो तथ्य मिल्दैन । राजनीतिक रूपमा उहाँ जुन गठबन्धनमा सामेल हुनुभएको छ त्यहाँ चुक्नु भएको छ । मलाई कसैप्रति नकारात्मक भावना छैन । तर, हामीले प्राप्त गरेको राजनीतिक उपलब्धिलाई जोगाउने वा सिध्याउने कि के गर्ने भन्ने कुरा नै ठुलो हो । अहिले हामीलाई व्यवस्था बदल्न नै समय  लाग्यो ।

मधेस प्रदेशमा जसपाको अवस्था कमजोर हुन्छ ?

जसपा र उनका गठबन्धनका अवस्था कमजोर हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप