शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कालिकोटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

शनिबार, १० मङ्सिर २०७९, १४ : ०६
शनिबार, १० मङ्सिर २०७९

कालिकोटमा तीनवटै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ गरी तीनै उम्मेदवार विजयी भएका हुन् । कालिकोटमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलबीच गठबन्धन भएको थियो ।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही तथा प्रदेशसभा (१) मा माओवादी केन्द्रका दुर्गबहादुर रावत र प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका हुन् ।

माओवादी केन्द्रका शाही एमालेका नगेन्द्र शाहीभन्दा ६ हजार मतान्तरले विजयी भएका हुन् । कालीकोटमा खसेको कूल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार शाहीले २३ हजार सात सय २७ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले शाहीले १६ हजार सात सय १८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । 

कालीकोट प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गबहादुर रावत निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गरे । रावत नौ हजार ११ मतले विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गरेका छन् ।

कालीकोट प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनी १३ हजार सात सय ८३ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका वीरेन्द्रबहादुर बोगटीले पाँच हजार आठ सय ३९ मत पाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप