शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सांसदका लागि संघीय संसद सचिवालयले गर्दैछ यस्तो तयारी

आइतबार, ११ मङ्सिर २०७९, १७ : ०८
आइतबार, ११ मङ्सिर २०७९

संघीय संसद सचिवालले नयाँ संसदका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार तयारीको काम थालेको छ । मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेसँगै नयाँ सांसदको स्वागत गर्न तथा नयाँ पार्टीका लागि संसदीय दलको कार्यालय व्यवस्थापन लगायतको तयारीमा जुटेको हो । सभा हल, फर्निचर व्यवस्थापन लगायतका भौतिक तयारीको काम भइरहेको संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले रातोपाटीलाई जनाकारी दिए ।

उनले भने– ‘संघीय संसद सचिवालयले सभाहलको मर्मत संभार गर्ने, सरसफाई गर्ने, रंगरोगन गर्ने  लगायतका काम गर्दैछौँ । नयाँ संसदको कारबाही प्रारम्भ गर्नका लागि व्यवस्थापनको काम अगाडि बढाइरहेका छौँ । नयाँ दलहरु जो प्रतिनिधिसभामा प्रवेश गर्ने अवस्थामा हुनुहुन्छ, उहाँहरुका लागि स्थान व्यवस्थापन, कार्यालय व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसका लागि संघीय संसद सचिवालयले अहिले प्रयोग गरेका संरचनाहरुमा त्यस्तो सुविधा दिन सक्ने अवस्था नभएकोले नयाँ दललाई कार्यालय दिनका लागि सरकारसँग अनुरोध गर्नुपर्नेछ । त्यसका लागि अहिले हामी तयारी गरिरहेका छौँ, सम्बन्धित सरकारी निकायलाई पत्राचार गरेर उहाँहरुसँग छलफल गरेर व्यवस्था गर्दैछौँ ।’

संसदीय दलको कार्यालय स्थापना गर्नका लागि भवन तथा कोठाहरु, सभाहल, थप सवारीसाधनहरु, फर्निचरहरु चाहिने भएकोले त्यसको व्यवस्थापनमा लागेको उनले बताए । २ जना मात्र सांसद निर्वाचित भएको पार्टीले पनि संसदीय दलको कार्यालय खोल्न पाउने कानुनी व्यवस्था रहेको  छ ।

त्यस आधारमा यो पटकको संसदमा थप चार पार्टीका लागि कार्यालय व्यवस्था गर्नुपर्नेछ । अघिल्लो संसदमा एक सिट रहेको राप्रपाले योपटक ७ जना सांसद प्रत्यक्ष निर्वाचित भएका छन् भने समानुपातिकमा पनि ७ देखि ८ जना सांसद पाउने अवस्था बन्दैछ ।

यस्तै यो वर्षमात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका लागि पनि संसदीय दलको कार्यालयको व्यवस्था गर्नुपर्ने भएको छ । यसका लागि सचिवालयले भवन तथा कोठा खोजिरहेको उल्लेख गर्दै निर्वाचन आयोगको पत्रको प्रतिक्षा गरिरहेको बताए ।  

प्रवक्ता डा.पाण्डेले भने– ‘नवनिर्वाचित सांसदहरुका लागि हामीले गर्नुपर्ने व्यवस्थापनका कामहरु सुरु गरिसकेका छौँ । अहिले हामी निर्वाचन आयोगको पत्रको प्रतिक्षामा पनि रहेका छौँ ।’ आयोगले मतगणना सम्पन्न गरेर निर्वाचित सांसदहरुको अन्तिम लिष्ट संघीय संसद सचिवालयमा पठाएपछि संसदको सपथ ग्रहणको काम सुरु हुनेछ ।

त्यसपछि सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । सभामुख निर्वाचित हुनुअघि संसदका जेष्ठ सदस्यले राष्ट्रपतिबाट सपथ लिनेछन् र अन्य सांसदहरुलाई सपथ गराउँनेछन् । संसद सचिवालयले विशेष कार्यक्रम गरेर सपथ ग्रहणको कार्यक्रम राख्ने समेत तयारी गरेको छ । 

अघिल्लो पटक २०७४ सालमा संसदीय निर्वाचन मंसिरमा भएपनि फागुन २० गते मात्रै प्रतिनिधिसभाका सदस्यले सपथ लिएकोमा यसवर्ष अलि छिटो संसद बैठक बस्ने देखिएको छ । निर्वाचन आयोगले मंसिर २० गते भित्र निर्वाचनको अन्तिम परिणाम सकेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । राष्ट्रपतिलाई प्रतिवेदन बुझाएलगतै संघीय संसद सचिवालयलाई निर्वाचित सांसदहरुको सूची संसद सचिवालयमा पठाउनेछ । 

सांसदहरु जानेछन् पुरानै भवन, नयाँ भवन निर्माणकै क्रममा 
सिंहदरबारस्थित पुतली बगैंचामा नयाँ भवन निर्माणको क्रममा रहेकाले  संसद बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुरानै भवनमा बस्ने भएको छ । २०७६ असोज १ गते शिलान्यास भएको सो भवन शहरी विकास मन्त्रालयले बनाइरहेको छ । 

प्रवक्ता पाण्डेले भने– ‘अहिले नयाँ भवनमा संसद बैठक राख्न सम्भव छैन, आगामी चैतसम्म निर्माण सम्पन्न गर्ने समय नै बाँकी रहेको छ । भौतिक निर्माण नै सकेको छैन, त्यसपछि डेकोरेशन गर्नपनि समय लाग्ने हुनाले संसद बैठक पुरानै ठाउँमा बस्छ ।’

निर्वाचनको अन्तिम परिणाम आउने बेलासम्म सबै व्यवस्थापनको काम सक्नेगरी संसद सचिवालयले काम गरिरहेको उनले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप