मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

महेसपुर–त्रिवेणी सडक मर्मतको अभावमा ध्वस्त

शुक्रबार, ०१ पुस २०७९, ०९ : १२
शुक्रबार, ०१ पुस २०७९

लामो समयदेखि मर्मतको अभावमा महेसपुर–त्रिवेणी सडक ध्वस्त भएको छ । तीन तहकै सरकारले उक्त सडकको मर्मतमा ध्यान नदिँदा अधिकांश ठाउँमा सडकको पिच भत्केर सडक ध्वस्त बनेको छ । 

करिब १५ किलोमिटर दुरीको उक्त सडक मर्मतमा तीन तहकै सरकारले चाँसो नदेखाउँदा सकड जीर्ण बन्दै गएको छ । वर्षामा हिलाम्मे र घाममा धुलाम्मे बन्ने उक्त सडकमा यत्रा गर्ने यात्रीलाई निकै सास्ती खेप्नु परेको स्थानीय युवराज मौर्य बताउँछन् । सडकको समयमै मर्मत नभएकाले सडकको अधिकांश ठाउँमा पिच भत्किएर ठुला–ठुला खाल्डाखुल्डी भएको  र आवत जावत गर्न यात्रीलाई निकै कठिनाइ हुने गरेको उनको भनाइ छ ।

एक दशक अगाडि तत्कालीन जिल्ला विकास समितिले विश्व बैंकको आर्थिक सहयोगमा ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजना (आरए आई डिपि) अन्तर्गत दुई चरणमा यो महेसपुर–वित्रेणी सडक निर्माण गरेको थियो । धुलो ढाक्न र सामान्य भारको सवारी साधन सहजै गुडन सक्ने बनाउने उद्देश्यले तत्कालिन जिविसले पाल्हीनन्दन गाउँपालिका वडा १ महेसपुरदेखि प्रतापपुर गाउँपालिका वडा ८ पिपरपातीसम्म करिब १५ किलोमिटर दुरीको उक्त सडकलाई दुई चरणमा ठेक्का गरि पिच गरेको थियो । करिब साढे ४ करोडमा सम्पन्न भएको उक्त सडक जिविस रहदासम्म मर्मत भयो तर जिविस खारेज भएपछि यस सडकको स्वामित्व कुनै पनि सरकारले नलिँदा अलपत्र बनेको स्थानीय अंगद यादव बताउँछन् ।  

यो सडक सीमावर्ती क्षेत्रमा ठुलो सडक संजाल रहेको छ । यसले सीमावर्ती गाउँपालिका पाल्हीनन्दन, सरवाल, प्रतापपुर हुदै सुस्ता गाउँपालिकालाई प्रत्यक्ष जोडेको छ । भारतीय सीमाबाट कतै १ किलोमिटर त कतै २ देखि ३ किलोमिटर भित्र भएर गएको यो सडक निकै चलायमान छ । यसमा नेपाल र भारतका अधिकांश सीमावर्ति बासिन्दाहरुको ओहोरदोहोर गर्ने गर्दछ । यस सडकमा सामान्य भारका सवारी साधान गुडने गरि ओटाशिल पिच गरिएको थियो तर सीमा क्षेत्रमा उखु, माटो, ढुंगागिट्टी बालुवा, खाद्यान्न, कबाड लगायतको बढि भार बोकेर ट्रक हाईवाहरु सहितका सवारीसाधन दगुर्न थालेपछि यो सडक दिनदिनै भत्किदै गएको छ ।

यता सडकलाई वृहत् मर्मतका लागि छटै सम्बन्धित निकायमा पहल गर्ने प्रदेशसभा सदस्य देवकरण कलवारले बताए ।

यस्तै नेपाली नहर हुँदै गएको बाटोको पनि हालत उस्तै छ । त्रिवेणी देखि सनईसम्मको कुल २२ किलोमिटर दुरीको बाटो पनि ठाउँठाउँमा भत्किएर ठुला ठुला खाल्डखुल्डी भएका छन् भने पिचहरु उध्रिएर ग्रावेल बाटोमा परिणत भएको छ । उक्त बाटोमा गोबरहियादेखि सनईसम्म बाटो पिच गर्न अझै बाँकी छ । यता तर्फपनि सम्बन्धित निकायको ध्यान नपुग्दा यात्रुलाई समस्या भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप