शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा तत्काल सरकार गठनको आह्वान नहुने, केन्द्रीय समीकरणको प्रतीक्षा

सोमबार, ०४ पुस २०७९, १२ : १९
सोमबार, ०४ पुस २०७९

बागमती प्रदेशमा सरकार गठनको प्रक्रिया तत्काल सुरु नहुने भएको छ । संघमा नयाँ सरकार गठनको स्पष्ट समीकरण बनेपछि मात्र बागमती प्रदेश सरकारको गठन प्रक्रिया सुरु हुने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र संघीय सरकार गठनका लागि आह्वान गरेसँगै प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशले सोपछि मात्र सरकार गठनको प्रक्रिया सुरु गर्ने तयारी गरेको हो । 

निर्वाचन आयोगले शनिबार प्रदेश सभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको थियो । यससँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ला भएपनि त्यसको प्रक्रिया भने एक साता पछिमात्र सुरु गरिने भएको हो । सोही अनुसार प्रदेश प्रमुख शर्मा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र दलका नेताहरुसँग छलफलमा रहेको बागमती प्रदेश प्रमुखका स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिए ।

आयोगको प्रतिवेदन प्राप्त भएसँगै सरकार गठन प्रक्रियाको बाटो खुला भएपनि प्रदेश प्रमुखले सबैसंग परामर्शपछि मात्र सरकार गठनका लागि आह्वान गर्ने उनको भनाइ छ । आयोगले प्रतिवेदन पेश गरेको ३५ दिनभित्र प्रदेश सरकार गठन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।  सो अवधिभित्र प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि आह्वान गरी सबै प्रक्रिया र काम पुरा हुने उनले बताए ।

‘पहिलो त सांसदहरुको शपथग्रहण नै बाँकी छ । आयोगको प्रतिवेदन प्राप्त भएको ३५ दिन भित्र सरकार गठन भइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार प्रदेश प्रमुखमार्फत सरकार गठनको लागि आह्वान हुन्छ,’ उनले भने ‘अहिले संसद् सचिवालय जेष्ठ सदस्यको शपथ ग्रहणको तयारीमा रहेको छ । ज्येष्ठ सदस्यको पहिचानपछि प्रदेश प्रमुखबाट शपथग्रहण गराउने र ज्येष्ठ सदस्यले अन्य सदस्यहरुलाई सपथ ग्रहण गराउनुपर्छ ।’

उनका अनुसार पहिलो संसद बैठकपछि सरकार गठनको प्रक्रियाले तीव्रता पाउनेछ । ‘सांसदहरुको पथ पछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गर्छ । सोसँगै प्रदेशमा सरकार गठनको प्रक्रियाले तीव्रता पाउँछ ।

बागमती प्रदेशमा कुनै पनि दललाई एकल बहुमत प्राप्त नभएकाले संविधानको धारा १६८ को उपधारा (१) स्वतः निष्कृय हुने देखिन्छ । कुनै एक दलको बहुमत नहुँदा संविधानको धारा १६८ को उपधारा (२)अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन पाउने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार बन्न सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार बहुमत जुटाउन सक्ने दल वा प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

११० प्रदेश सभा सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसले ३७, एमालेले २७, माओवादी केन्द्रले २१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३, एकीकृत समाजवादीले ७, नेपाल किसान मजदुर पार्टीले ३ र हाम्रो नेपाली पार्टीले २ सिट पाएका छन् । बागमती प्रदेशमा सरकार गठनको लागि कुल सदस्यमध्ये ५६ जनाको समर्थन आवश्यक हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप