सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बाबुरामलाई नेताहरूको सुझाव - समाजवादी केन्द्र ध्रुवीकरणको नेतृत्व लिनुहोस्

मङ्गलबार, २६ पुस २०७९, ११ : ०८
मङ्गलबार, २६ पुस २०७९

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई अधिकांश नेताहरूले समाजवादी केन्द्र ध्रुवीकरणको नेतृत्व लिन सुझाव दिएका छन् । आइतबार र सोमबार दुई दिनसम्म चलेको राजनीतिक समितिको बैठकमा नेताहरूले बाबुरामलाई माओवादी केन्द्रसँग एकता गर्ने भन्दा समाजवादी ध्रुर्वीकरणमा जानु सुझाएका हुन् ।

नेसपा माओवादी केन्द्रसँग एकता गरेपछि विचार मिल्ने पार्टीहरुसँग एकता गर्दै समाजवादी ध्रुवीकरण गरेर जान सुझाव दिएको नेता गंगानारायण श्रेष्ठले बताए । ‘पार्टीको बैठकमा सबै सहभागीले खुलेर आफ्ना कुरा राख्नुभयो । माओवादीबाट अलग भएदेखि अहिलेसम्मको अवस्थामा के के भयो त्यसमा धारणा राख्नुभयो’ रातोपाटीसँग कुरा गर्दै श्रेष्ठले भने, ‘माओवादी सहित अरु  पार्टीलाई समेत जोडेर नयाँ ठाउँमा पुग्ने गरी एकता गरौं भन्ने सुझाव आएका छन् ।’ माओवादी सहित एकीकृत समाजवादी, जसपा, आम जनता पार्टी लगायत विचार मिल्ने पार्टीसँग समाजवादी केन्द्र वा अन्य कुनै नाममा ध्रुवीकरण हुने गरी गएमा राम्रो हुने सुझाव दिएका छन् ।

पार्टी बैठकमा नेकपा वा अन्य कुनै कम्युनिस्ट फुर्को जोडेर ध्रुर्वीकरणमा नजाने नेताहरूले धारणा राखेको नेता रोशन पोखरेलले बताए । ‘तत्कालीन एमाले माओवादीले एकता गरेर नेकपा बनाएर गएपछि असफल भयो । पुनः नेकपा बनाएर वा अन्य कुनै कम्युनिस्ट पार्टी बनाउनु हुँदैन भन्नु धारणा छ’ पोखरेलले भने,‘अब समाजवादी केन्द्र वा अन्य कुनै पार्टी बनाएर नयाँ ठाउँमा जाने गरी एकतामा जानुपर्छ । कुनै अर्को पार्टीमा विलय हुने गरी जानुहुँदैन भन्ने छ ।’ 

नेता गंगानारायण श्रेष्ठको संयोजकत्वमा बनाएको समितिले माओवादी सहित एकीकृत समाजवादी,जसपा, आमजनता पार्टी लगायत दलसंग छलफल गर्ने भएको छ । एमाले बाहेक कम्युनिस्ट पार्टीलाई जोड्नेगरी श्रेष्ठले पार्टीको तर्फबाट पहल गर्ने भएका छन् । 

यस्तै माओवादी समेत पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा ५  सदस्यीय कार्यदल बनाएको छ । जसमा महासचिव देव गुरुङ,उपमहासचिव जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल रहेका छन् ।  तत्काल माओवादी र नेसपा एकता हुने वातावरण बन्दै गएको छ । त्यसपछि एकीकृत समाजवादी, जसपा लगायत दलसंग एकता गर्नेगरी छलफल हुने माओवादी नेताहरूले बताएका छन् । माओवादी नेताहरू समेत विभिन्न शक्तिहरुसँग एकता गरेर भएपनि समाजवादी केन्द्र जाने पक्षमा पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप