मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीको सभामुखमा राप्रपाबाट २ जनाको दाबी, कांग्रेस अलमलमा

बिहीबार, २८ पुस २०७९, ०८ : ३१
बिहीबार, २८ पुस २०७९

बागमती प्रदेशको सभामुखका लागि आज मनोनयन दर्ता हुँदै छ । बागमती प्रदेशसभा सचिवालय हेटौँडामा आज  बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको छ । 

प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार बिहीबार प्रदेशसभाका सभामुख पदको निर्वाचनका लागि बिहान १०ः३० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ । आजै २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । 

यसै गरी, आजै अपराह्न ४ बजेभित्र सभामुख पदको उम्मेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यपालिका रहेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले जानकारी दिए । 

सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए । 

प्रदेशसभाका सभामुखका लागि सत्ता गठबन्धन तर्फको राप्रपाबाट २ जनाले दाबी गरेका छन् । राप्रपाबाट सभामुखका लागि र राजु विष्टले दाबी गरेका छन् । सभामुखको उम्मेदवारका लागि राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले महामन्त्री भुवन पाठकको नाम अघि सारेको एक नेताले जानकारी दिए । 

त्यतै काठमाडौँ क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित सांसद विष्ट सभामुखमा दाबी गर्दै उम्मेदवारी दिनेबारे आफूले पार्टीभित्र छलफलमा रहेका छन् । बागमती प्रदेशमा राप्रपाको संसदीय दलमा आफ्नो बहुमत रहेको बताउँदै विष्टले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको र पार्टीमा छलफल गरिरहेको बताए । 

महामन्त्री पाठक समानुपातिक तर्फबाट प्रदेशसभामा सांसद भएका  हुन् ।  उनले पार्टीले सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभामुखमा उम्मेदवारका लागि तोकिएको समयमा प्रदेश सचिवालयमा उपस्थित भएर उम्मेदवारी दर्ता गर्ने बताए । 

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता एवम् प्रदेशका मन्त्री उद्धव थापाले सभामुखको उम्मेदवारका लागि अहिले केही बेरमा संसदीय दलको बैठक बसेर टुङ्ग्याउने बताए । पार्टीका अन्य केही सांसदले पनि आ-आफ्नो दाबी पेस गरेकाले सहमतिमा नै सभामुखको उम्मेदवार छान्ने उनले बताए । 

सत्ता गठबन्धनले सत्ता समीकरण मिलाउने क्रममा बागमती प्रदेशमा राप्रपालाई सभामुख दिने सहमति गरेको थियो । सोही अनुसार राप्रपाका पाठकले आज सभामुख पदका लागि उम्मेदवारी दिनेछन् । उनलाई सत्ता गठबन्धन दलहरू एमाले, माओवादी र राप्रपाको समर्थन छ । 

सत्ता गठबन्धन बाहिर रहेका दलहरू कांग्रेस, एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीका तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लागेको छैन । माओवादीका शालिकराम जम्कट्टेललाई मुख्यमन्त्रीमा समर्थन गर्ने दलहरू एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले सभामुखमा सत्ता गठबन्धन अनुसार नै अघि बढ्ने भएको छ । 

कांग्रेस पनि सभामुखको उम्मेदवारीको विषयमा छलफल मै रहेको कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुर सिंह लामाले जानकारी दिए । उनले सभामुखमा उम्मेदवारी दिने भए पनि उम्मेदवार को हुने भन्नेबारेमा छलफल भइरहेको बताए । उनका अनुसार बिहीबार उम्मेदवारको मनोनयन गर्ने समय अघि नै कांग्रेसले सभामुखको उम्मेदवार टुङ्गिने छ । 

११० सदस्यीय बागमती प्रदेशसभामा अहिले कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप