आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन जरुरी : उद्योगमन्त्री

मङ्गलबार, २५ वैशाख २०८१, १३ : २६
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

‘तुलनात्मक लाभ लिई व्यापार विस्तार गर्न पनि स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न आवश्यक छ,’ मन्त्री भण्डारीले भने, ‘यसका लागि आगामी बजेटमा व्यवस्था हुनेछ । उद्योगको प्रवर्द्धन गर्न, स्वदेशी उद्योगलाई उच्च महत्त्व दिन पनि मन्त्रालय प्रतिबद्ध छ, सोही दिशामा अर्थ मन्त्रालयलाई सुझाव दिइएको छ ।’

मन्त्री भण्डारीले देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा न्यून रहेको उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताए । उद्योग क्षेत्रको योगदान अर्थतन्त्रमा नभएसम्म आर्थिक समृद्धि नहुने उनको भनाइ छ । सरकार निजी क्षेत्रसँग मिलेर उद्योगमा लगानी प्रोत्साहन गर्दै यसको योगदान बढाउन सबै अगाडि बढ्नुपर्ने मन्त्री भण्डारीको जोड थियो ।

‘स्वदेशी लगानीका साथै विदेशी लगानी पनि आकर्षित गर्न, उद्योग क्षेत्रमा लगानी कसरी प्रवर्द्धन गर्न सकिन्छ र विदेशी लगानीकर्तालाई भित्र्याउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको अनुभवसमेतका आधारमा विदेशी लगानीकर्ता प्रोत्साहन गर्न निजी क्षेत्रबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मन्त्री भण्डारीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप