आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नारायणगढ-बुटवल सडक निर्माण कम्पनीलाई उपप्रधानमन्त्री श्रेष्ठको चेतावनी,  ‘अब आलटाल स्वीकार्य हुँदैन’

मङ्गलबार, ०३ माघ २०७९, २० : ३९
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्ड, छ लेन सडक बिस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गरेका छन्। चिनियाँ कम्पनी 'चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड'ले ठेक्का पाएको एक सय १४ किलोमिटर लामो यो सडक, सम्झौताका हिसाबले हालसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने थियो। हाल एक वर्ष समय थप भए पनि काममा सन्तोषजनक प्रगति नभएको र निर्माण गतिको सुस्तताका कारण जनताले सास्ती भोग्नुपरेको यथार्थबीच उपप्रधानमन्त्री आफैँले निर्माण प्रगतिबारे स्थलगत चासो लिएका हुन् । 

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा र आयोजना प्रमुखहरूलाई साथमै लिएर निरीक्षणमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाको कार्यालय, गैंडाकोट पुगी निर्माण कम्पनीका प्रतिनिधिसँग योजना सुस्तताको कारणबारे प्रश्न गरेका थिए । कम्पनीका प्रतिनिधिले खानेपानी, विद्युत्, ढल, कोभिड, क्रसर व्यवसायीका समस्या जस्ता औपचारिक कारण देखाए पनि अब कामले द्रुततर र गुणस्तरीय गति लिने गरी अगाडि बढ्न उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए। 

'समस्या के हो प्रस्ट भन्नुस्, अब कुनै पनि बहानामा आलटाल स्वीकार्य हुँदैन।' त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भने- 'आर्थिक, सामाजिक गुणात्मक विकास र समृद्धिका लागि हामी परम्परागत होइन, गतिशील ढङ्गले काम गर्न खोजिरहेका छौँ। यसका लागि तपाईंहरूको सकारात्मक सहयोग हुनुपर्छ।' कम्पनीका प्रतिनिधिले समय सीमामै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप