शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

अर्थतन्त्रलाई लिएर नेकपा एसको चिन्ता, अन्य राष्ट्रिय दलहरू के गर्दैछन् ?

लिखित रूपमै सरकारलाई सुझाव दिने तयारीमा जसपा
मङ्गलबार, १७ माघ २०७९, १९ : ५०
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । पछिल्लो समय मुलुकको खस्कँदो आर्थिक स्थितिलाई लिएर नेकपा एकीकृत समाजवादी पार्टी (एस) ले चिन्ता व्यक्त गरेको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी नेकपा एसले २० बुँदे सुझाव पत्र बुझाएको हो । 

पार्टीका उपमहासचिव समेत रहेका डा.विजय पौडेलको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा पछिल्लो समय आर्थिक नीति कार्यान्वयनमा देखिएको उदासीनता, युवा शक्तिको बढ्दो विदेश पलायन, आर्थिक मन्दी, बढ्दो बजार महँगी लगायतका विषयमा चिन्ता व्यक्त गरिएको छ । 

पछिल्लो समय देशको आर्थिक अवस्था गम्भीर सङ्कटतर्फ उन्मुख भएको भन्दै नेकपा एसले मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि कठिन भइरहेको बताएको छ । यसको समाधानका लागि पार्टीले सरकारलाई बैंकिङ ब्याजदर बढीमा १२ प्रतिशतसम्म झार्न र अनौपचारिक क्षेत्रको पैसा बैंकिङ च्यानलमा ल्याउन नोटबन्दीको नीति समेत अङ्गीकार गर्न सरकारलाई सुझाव दिएको छ । 

अध्यक्ष माधवकुमार नेपालद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन समेत ढिला नगर्न सुझाव दिइएको छ । 

यसरी लिखित रूपमा प्रधानमन्त्री प्रचण्डलाई अर्थतन्त्रको सुधारका लागि सुझाव दिने नेकपा पहिलो पार्टी हो । तथापि, नेकपा एस संघीय निर्वाचन २०७९ मा निर्वाचित राष्ट्रिय दल बन्न नसकेको १० सिटे दल हो ।

राष्ट्रिय दलहरू के गर्दैछन् ?

खास गरी वर्तमान नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकार जस्तै बनेको छ । संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठुलो दल नेपाली काँग्रेससँगै नेकपा एमाले समेत सरकारलाई समर्थन जनाएको छ । यस्तै संघीय संसद्को चौथो दलको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), संघीय लोकतान्त्रिक पार्टी, नेपाल (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), सिके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टी लगायतले समेत प्रचण्ड सरकारलाई समर्थन गरेको छ । 

नेकपा एमाले आफैले अर्थ मन्त्रालयको नेतृत्व गरिरहेकोमा मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको बताउँदै अतालिनु नपर्ने बताएको छ ।

यसरी राष्ट्रिय सर्वसम्मतिको सरकार बनेको स्थिति भए पनि सरकारमा भने नेकपा माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा सरकारमा सहभागी छ ।

नेकपा एमाले आफैले अर्थ मन्त्रालयको नेतृत्व गरिरहेकोमा मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको बताउँदै अतालिनु नपर्ने बताएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफू नेतृत्वमा आएसँगै मुलुकको अर्थतन्त्र सहजतातर्फ उन्मुख हुँदै गएको बताएका छन् ।

खस्कँदो बैंक तरलताका बीच बढ्दो ब्याजदर कम हुनुका साथै देशमा पछिल्लो समय उद्योग कलकारखाना र उत्पादनको वृद्धिले, पर्यटन व्यवसायको सुधारले, रेमिट्यान्स समेत बढ्दा विदेशी मुद्राको सञ्चितिमा सुधार आएको बताएका छन् । यसले गर्दा अर्थतन्त्रप्रति चिन्ता नै मान्नुपर्ने स्थिति नरहेको उनी बताउँछन् । थप पछिल्लो समय सेयर बजार समेत सुधारोन्मुख रहेकाले अर्थतन्त्र लयतर्फ उन्मुख रहेको उनको भनाइ छ । 

यस्तै, सरकारको नेतृत्व समेत सम्हालिरहेको नेकपा माओवादी केन्द्रले मुलुकको अर्थ व्यवस्था सन्तुलित रूपमै अघि बढिरहेको बताएको छ । 

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले ‘मुलुकको अर्थव्यवस्था संविधानले निर्देशन गरे बमोजिम, मौद्रिक नीतिले बनाएको खाका अनुसार नै चल्न छ । यसमा चिन्ता गर्नुपर्ने अवस्था छैन, सुधार हुँदैछ’ भन्ने प्रतिक्रिया दिए । 

यता सरकारमा समेत सहभागी रहेको जनता समाजवादी पार्टीका नेता एवम् पूर्वमन्त्री प्रदीप यादवले सरकारले भने जस्तो अहिले मुलुकको अर्थतन्त्र त्यति सहज अवस्थामा नरहेको बताउँदै एक सूत्रीय नीति बनाएर सरकार अर्थतन्त्र बचाउन लाग्नुपर्ने बताए । 

‘मुलुकको अर्थतन्त्र त्यति सहज अवस्थामा छैन । यसलाई बेलैमा सुधार गर्न सकिएन, नियन्त्रण गर्न सकिएन भने पुनः नेपाल श्रीलङ्का बन्न पनि सक्छ । यसलाई सरकारले बेलैमा सोच्न जरुरी छ’ यादवले भने, ‘हामी यस विषयमा संघीय संसद्मा जोडदारले आवाज उठाइरहेका छौ । थप लिखित रूपमै सरकारलाई सुझाव दिने तयारीमा समेत हामी छौँ’ उनले भने । 

हाल जसपाका अध्यक्ष उपेन्द्र यादव राजधानी बाहिर भएकाले तत्काल निर्णय गर्न नसकिएको तर उनी फर्किए लगत्तै पार्टीमा छलफल गरेर जाने तयारी रहेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप