शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुष्ठरोग निवारणको १२ वर्ष बित्यो, तर अझै दुई हजारभन्दा बढी सङ्क्रमित

११ जिल्लाबाट बढेर १६ जिल्लामा फैलियो रोग
बिहीबार, १९ माघ २०७९, १३ : ०१
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले २०१० मा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गर्‍यो ।  त्यतिबेला प्रति १० हजारमा ०.७७  अर्थात एक जनाभन्दा कम रोगीको सङ्ख्या हुँदा घोषणा गरिएको थियो । त्यतिबेला नेपालमा कुल ३ हजार ४२ जना नयाँ बिरामी फेला परेका थिए । तर, कुष्ठरोग निवारणको १२ वर्ष बितिसक्दा पनि समस्या ज्युँका त्युँ देखिएको छ । आर्थिक वर्ष ०७८÷७९ मात्रै २ हजार २८५ नयाँ रोगीको पहिचान गरिएको छ । 

यतिमात्रै होइन सरकारले २०२० सम्ममा कुष्ठरोग उन्मुलन नै गर्ने लक्ष्य राखेको थियो । तर, सरकार कुष्ठरोग उन्मुलन गर्नबाट चुकेको कुष्ठरोग नियन्त्रण तथा अपाङ्ग व्यवस्था शाखाको तथ्याङ्कले देखाउँछ । 

देश सङ्घीयता गइसकेपछि स्थानीय, प्रादेशिक र केन्द्रबाट कुष्ठरोग सम्बन्धी कार्यकक्रका लागि बजेट विनियोजन गर्ने गरिएको छ । उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा फैलाउन नसक्दा समस्या भएको शाखाकै स्वास्थ्यकर्मी स्वीकार्छन् । 

जसका कारण कुष्ठरोग निवारण भनेर घोषणा गरिए पनि रोगीको सङ्ख्या बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षभन्दा यस वर्ष कुष्ठरोगी बिरामी सङ्ख्या बढेको छ । सन् २०२०-२१  मा २ हजार १७३ जना पुुष्टि हुँदा सन् २०२१-२२ नयाँ कुष्ठरोगी २ हजार २८५ भेटिएका हुन् । यस वर्ष अघिल्लो वर्षभन्दा ११२ जना बिरामी पुष्टि भएको शाखाको तथ्याङ्कले देखाएको हो । 

यस्तै, सन् २०१७-१८ मा ३ हजार २४९ हुँदा २०१८÷१९ मा ३ हजार २८२ पुष्टि भएको शाखाले जनाएको छ ।  सन् २०१९÷२० मा भने १८ सय ५३ बिरामी फेला परेका थिए । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार यस वर्ष थपिएका नयाँ बिरामीको सङ्ख्या २ हजार २८५ अर्थात् प्रति १ लाख जनसङ्ख्यामा ७.८१ प्रतिशत हुन आउँछ । 

१६ जिल्लामा सङ्क्रमित

हाल ७७ जिल्लामध्ये १६ जिल्लामा कुष्ठरोग सङ्क्रमित छन् ।  सबैभन्दा धेरै सङ्क्रमित तराई क्षेत्रमा रहेका छन् । जसमा झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलबस्नु, बाँके, बर्दिया, अछाम र कैलालीमा प्रभावित धेरै छन् । पहाडी जिल्लामा पनि कुष्ठरोगी रहेको पाइएको छ । 

कुष्ठरोग निवारण भनेर घोषणा गर्दा ११ जिल्लामा यो रोग निवारण भएको थिएन । २०२३ सम्म आइपुग्दा निवारण नभएका जिल्ला बढेर १६ पुगेको हो । प्रदेश नम्बर २ मा सप्तरी जिल्ला बाहेक अन्य जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन ।  

कुष्ठरोगी फेरि बढ्न थालेसँगै सूक्ष्म अनुसन्धान गर्न सरकारले बजेटको आकार बढाउन आवश्यक रहेको शाखाका कर्मचारी सुनाउँछन् । यद्यपि निवारण नै उन्मुलन हो भन्ने भ्रम भएको कारण समस्या सृजना भएको उनीहरूको भनाइ छ । 

सङ्क्रमितमा पुरुष बढी

यस वर्ष कुष्ठरोग पुरुषमा बढी देखिएको छ । महिलाभन्दा ३०७ जना बढी पुरुष सङ्क्रमित भएको पाइएको हो । १ हजार २९६ पुरुषमा सङ्क्रमण पुष्टि हुँदा ९८९ जना महिला देखिएको हो ।

 यस्तै, आर्थिक वर्षको अन्त्यमा उपचारमा रहेका बिरामी सङ्ख्या २ हजार ३७३ अर्थात् प्रति १० हजार जनसङ्ख्यामा ०.८१ प्रतिशत रहेका छन् ।

 बिरामीमध्ये १४ वर्षमुनिका बालबालिका ७३ जना रहेका छन् । नयाँ बिरामीमध्ये असमर्थताको तह २ भएका १६५ जना रहेका छन् । 

नयाँ बिरामीहरूमध्ये  १४ वर्ष मुनिका असमर्थताको तह २ भएको सङ्ख्या ६ जना रहेको छ । अनुपातमा यो ०.२६ हो । 

 कति बिरामी र उपचारमा ?

सातै प्रदेशमा कुष्ठरोग सक्रङ्क्रमित रहेको कुष्ठरोग नियन्त्रण तथा आपङ्गता व्यवस्थापन शाखाका अनुसार सबैभन्दा धेरै बिरामीको सङ्ख्या मधेस प्रदेशमा छन् ।  यस वर्ष जहाँ ९१० जना बिरामी छन् । मधेस प्रदेशपछि सात प्रदेशमध्ये कम बिरामी बागमती प्रदेशमा ६८ जना  रहेको आँकडाले देखाएको छ । यस्तै, मधेस प्रदेशपछि दोस्रो नम्बरमा कुष्ठरोगी सङ्ख्या लुम्बिनी प्रदेशमा ५८१ जना रहेका छन् । 

प्रदेश नम्बर एक ३४५ सङ्क्रमितका साथ तेस्रो नम्बरमा छ । त्यसपछि सुदूरपश्चिम प्रदेश २०५, गण्डकी प्रदेश ९३, बागमती प्रदेश ८३ जना रहेका छन् ।  

मधेस प्रदेशमा प्रति १० हजार जनसङ्ख्यामा वर्षको अन्त्यमा उपचार रहेका बिरामीको दर १.४३ प्रतिशत अर्थात १४३ जना रहेको शाखाको तथ्याङ्कमा उल्लेख छ । 

त्यसपछि लुम्बिनी प्रदेशमा प्रति दश हजारमा १.१२ प्रतिशत अर्थात ११२ जना उपचाररत छन् । उता सुदूरपश्चिम प्रदेशमा ०.९३ प्रतिशत अर्थात ९३ जना छन् । यसैगरी प्रदेश नम्बर एक ०.७२ प्रतिशत अर्थात ७२ जना उपचाररत छन् । क्रमशः कर्णाली प्रदेशमा ०.४९ प्रतिशत अर्थात ४९ जना उपचाररत छन् । गण्डकी प्रदेशमा प्रति दश हजार जनसङ्ख्या ०.४७ प्रतिशत अर्थात्  ४७ जना परेको पाइएको छ । सबैभन्दा कम बाग्मती प्रदेशमा १७ प्रतिशत अर्थात् १७ जना उपचाररत रहेको तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप