शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कुष्ठरोग निवारणको १२ वर्ष बित्यो, तर अझै दुई हजारभन्दा बढी सङ्क्रमित

११ जिल्लाबाट बढेर १६ जिल्लामा फैलियो रोग
बिहीबार, १९ माघ २०७९, १३ : ०१
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले २०१० मा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गर्‍यो ।  त्यतिबेला प्रति १० हजारमा ०.७७  अर्थात एक जनाभन्दा कम रोगीको सङ्ख्या हुँदा घोषणा गरिएको थियो । त्यतिबेला नेपालमा कुल ३ हजार ४२ जना नयाँ बिरामी फेला परेका थिए । तर, कुष्ठरोग निवारणको १२ वर्ष बितिसक्दा पनि समस्या ज्युँका त्युँ देखिएको छ । आर्थिक वर्ष ०७८÷७९ मात्रै २ हजार २८५ नयाँ रोगीको पहिचान गरिएको छ । 

यतिमात्रै होइन सरकारले २०२० सम्ममा कुष्ठरोग उन्मुलन नै गर्ने लक्ष्य राखेको थियो । तर, सरकार कुष्ठरोग उन्मुलन गर्नबाट चुकेको कुष्ठरोग नियन्त्रण तथा अपाङ्ग व्यवस्था शाखाको तथ्याङ्कले देखाउँछ । 

देश सङ्घीयता गइसकेपछि स्थानीय, प्रादेशिक र केन्द्रबाट कुष्ठरोग सम्बन्धी कार्यकक्रका लागि बजेट विनियोजन गर्ने गरिएको छ । उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा फैलाउन नसक्दा समस्या भएको शाखाकै स्वास्थ्यकर्मी स्वीकार्छन् । 

जसका कारण कुष्ठरोग निवारण भनेर घोषणा गरिए पनि रोगीको सङ्ख्या बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षभन्दा यस वर्ष कुष्ठरोगी बिरामी सङ्ख्या बढेको छ । सन् २०२०-२१  मा २ हजार १७३ जना पुुष्टि हुँदा सन् २०२१-२२ नयाँ कुष्ठरोगी २ हजार २८५ भेटिएका हुन् । यस वर्ष अघिल्लो वर्षभन्दा ११२ जना बिरामी पुष्टि भएको शाखाको तथ्याङ्कले देखाएको हो । 

यस्तै, सन् २०१७-१८ मा ३ हजार २४९ हुँदा २०१८÷१९ मा ३ हजार २८२ पुष्टि भएको शाखाले जनाएको छ ।  सन् २०१९÷२० मा भने १८ सय ५३ बिरामी फेला परेका थिए । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार यस वर्ष थपिएका नयाँ बिरामीको सङ्ख्या २ हजार २८५ अर्थात् प्रति १ लाख जनसङ्ख्यामा ७.८१ प्रतिशत हुन आउँछ । 

१६ जिल्लामा सङ्क्रमित

हाल ७७ जिल्लामध्ये १६ जिल्लामा कुष्ठरोग सङ्क्रमित छन् ।  सबैभन्दा धेरै सङ्क्रमित तराई क्षेत्रमा रहेका छन् । जसमा झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलबस्नु, बाँके, बर्दिया, अछाम र कैलालीमा प्रभावित धेरै छन् । पहाडी जिल्लामा पनि कुष्ठरोगी रहेको पाइएको छ । 

कुष्ठरोग निवारण भनेर घोषणा गर्दा ११ जिल्लामा यो रोग निवारण भएको थिएन । २०२३ सम्म आइपुग्दा निवारण नभएका जिल्ला बढेर १६ पुगेको हो । प्रदेश नम्बर २ मा सप्तरी जिल्ला बाहेक अन्य जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन ।  

कुष्ठरोगी फेरि बढ्न थालेसँगै सूक्ष्म अनुसन्धान गर्न सरकारले बजेटको आकार बढाउन आवश्यक रहेको शाखाका कर्मचारी सुनाउँछन् । यद्यपि निवारण नै उन्मुलन हो भन्ने भ्रम भएको कारण समस्या सृजना भएको उनीहरूको भनाइ छ । 

सङ्क्रमितमा पुरुष बढी

यस वर्ष कुष्ठरोग पुरुषमा बढी देखिएको छ । महिलाभन्दा ३०७ जना बढी पुरुष सङ्क्रमित भएको पाइएको हो । १ हजार २९६ पुरुषमा सङ्क्रमण पुष्टि हुँदा ९८९ जना महिला देखिएको हो ।

 यस्तै, आर्थिक वर्षको अन्त्यमा उपचारमा रहेका बिरामी सङ्ख्या २ हजार ३७३ अर्थात् प्रति १० हजार जनसङ्ख्यामा ०.८१ प्रतिशत रहेका छन् ।

 बिरामीमध्ये १४ वर्षमुनिका बालबालिका ७३ जना रहेका छन् । नयाँ बिरामीमध्ये असमर्थताको तह २ भएका १६५ जना रहेका छन् । 

नयाँ बिरामीहरूमध्ये  १४ वर्ष मुनिका असमर्थताको तह २ भएको सङ्ख्या ६ जना रहेको छ । अनुपातमा यो ०.२६ हो । 

 कति बिरामी र उपचारमा ?

सातै प्रदेशमा कुष्ठरोग सक्रङ्क्रमित रहेको कुष्ठरोग नियन्त्रण तथा आपङ्गता व्यवस्थापन शाखाका अनुसार सबैभन्दा धेरै बिरामीको सङ्ख्या मधेस प्रदेशमा छन् ।  यस वर्ष जहाँ ९१० जना बिरामी छन् । मधेस प्रदेशपछि सात प्रदेशमध्ये कम बिरामी बागमती प्रदेशमा ६८ जना  रहेको आँकडाले देखाएको छ । यस्तै, मधेस प्रदेशपछि दोस्रो नम्बरमा कुष्ठरोगी सङ्ख्या लुम्बिनी प्रदेशमा ५८१ जना रहेका छन् । 

प्रदेश नम्बर एक ३४५ सङ्क्रमितका साथ तेस्रो नम्बरमा छ । त्यसपछि सुदूरपश्चिम प्रदेश २०५, गण्डकी प्रदेश ९३, बागमती प्रदेश ८३ जना रहेका छन् ।  

मधेस प्रदेशमा प्रति १० हजार जनसङ्ख्यामा वर्षको अन्त्यमा उपचार रहेका बिरामीको दर १.४३ प्रतिशत अर्थात १४३ जना रहेको शाखाको तथ्याङ्कमा उल्लेख छ । 

त्यसपछि लुम्बिनी प्रदेशमा प्रति दश हजारमा १.१२ प्रतिशत अर्थात ११२ जना उपचाररत छन् । उता सुदूरपश्चिम प्रदेशमा ०.९३ प्रतिशत अर्थात ९३ जना छन् । यसैगरी प्रदेश नम्बर एक ०.७२ प्रतिशत अर्थात ७२ जना उपचाररत छन् । क्रमशः कर्णाली प्रदेशमा ०.४९ प्रतिशत अर्थात ४९ जना उपचाररत छन् । गण्डकी प्रदेशमा प्रति दश हजार जनसङ्ख्या ०.४७ प्रतिशत अर्थात्  ४७ जना परेको पाइएको छ । सबैभन्दा कम बाग्मती प्रदेशमा १७ प्रतिशत अर्थात् १७ जना उपचाररत रहेको तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप