शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

सीमाबासीको पीडा : ‘नेपाली हुँ’ भन्दै भारतको भर

आइतबार, २२ माघ २०७९, १३ : ३२
आइतबार, २२ माघ २०७९

दाङ । ‘उहिले पनि हाम्रा बाजे भन्थे । गाउँको बाटो बन्छ रे, बिजुली बल्छ रे । पानीका धारा घरघरमा आउँछन् रे । आधा उमेर आफ्नै ढल्किसक्यो, गाउँमा न मोटर बाटो बन्यो, न बिजुली आयो, न खानेपानीको धारा आए । नाका अझै उस्तै छ । जेनतेन हामी बाँचिरहेका छौँ । सलाईदेखि सिटामोलसम्मका लागि वारीबाट पारी जानु पर्छ । त्यो पनि पारीकाले जे भन्छ त्यही मान्नुपर्छ । सीमा क्षेत्रमा बाटो आए, बिजुली बले, पानीको धारा आए । उता किन जानु पर्थ्यो र ? बस्न घर वारी, बाँच्ने भर पारीको छ,’ राजपुर खंग्रा नाका धीरेन्द्र सारुले सीमावासीको पीडा यसरी पोखे । 

सीमावासीको यो पीडा राज्यले सुनेको भए उहिल्यै नाकामा बस जान्थ्यो, बिजुली बल्थ्यो, खोलाखोल्साका पानी गाउँमा आउँथ्यो । सानोतिनो व्यापार व्यवसाय पनि आफ्नै हुन्थ्यो । तर राज्यले सीमावासीको पीडा नसुन्दा अझै ‘नेपाली हुँ’ भन्दै भारतको भरमा बाँच्दै आइरहनु परेको उनले सुनाए । दाङ राजपुर र गढवा गाउँपालिकासँगै भारतको सीमा जोडिएको साना–ठुला गरी ३४ वटा नाका छन् । 

जसमा गढवा २ चिमचिम, वडा नं. ८ मुसी , कोइलाबास र खबरी नाकामा मात्रै बाटो र बिजुली पुगेको छ । बाँकी नाका अझै उस्तै छन् । बसोबासका हिसाबले सीमा क्षेत्रमा बस्ती बढ्दै गइरहेको छ । तर विकास बढ्न सकेको छैन । राजपुरको पतैनी, सिरिया, गुरुङ, बरुवा, सुर्काेनी भौवा, खंग्रा, अरवेरुवा, गन्देला सीमा क्षेत्रको अवस्था अझै नाजुक नै छ । उनले भने– ‘उता जान पनि कम्तीका मुस्किल छ । भारतीय सुरक्षाकर्मीले दिनुसम्मको दुःख दिन्छ । उसले दिएको दुःखलाई सहँदै भए पनि जानैपर्ने बाध्यता छ ।’ 

20170603201455_IMG_9033

‘न घर उज्यालो, न मन’

साना–ठुला गरी ३४ वटा नाकामा करिब १० हजार मान्छेको बसोबास छ । उनीहरूका लागि नाका क्षेत्रमा बाटो, पानी, बिजुली, स्वास्थ्य चौकी, विद्यालय जस्ता आधारभूत आवश्यकता विकास चुनावी एजेन्डा नै बन्छ । तर कहिले पुरा हुँदैन । राजपुर गन्देला नाका मोहनराम  अहिरले भने–‘ बाबु हाम्रा घर, मन, भविष्य सबै अन्धकार छ ।’ 

गाउँका बाटोघाटो, खानेपानी, बिजुली नहुँदा नाकावासीको घर र मन अँध्यारा देखिन्छन् भने गाउँमा राम्रो विद्यालय नहुँदा भविष्य नै अन्धकार बनिरहेको उनी बताउँछन् । उनले रातोपाटीलाई भने–‘ उता जाऔँ दुःख दिन्छ, नजाऔँ यता यस्तो दुःख छ । भाकै मर्न सकिँदैन । राज्यले केही गर्दैन । नाकामा सदियौँदेखि दुःख र पीडा झेल्दै बाँचिरहेका छौँ ।’ विकासको अभाव र पीडामा बाँचेका सीमावासी नेपाली हौँ भने पनि राज्यले उपेक्षा गरिरहेको महसुस हुने गरेको उनले सुनाए ।  

सीमामा बाटो र बिजुली पुर्‍याउँछौँ

सीमा क्षेत्रको विकासको पहिलो आवश्यकता नै बाटो र बिजुली रहेकाले अघिल्लो कार्यकालमा बाटो र बिजुलीका रेखा कोर्ने काम भए पनि यस कार्यकालमा कपिलवस्तु र पश्चिममा बाँके जोडिने एउटा सडक र उत्तर दक्षिणको ३ वटा सडक निर्माणको काम अघि बढ्ने दाङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकास मन्त्री मेटमणि चौधरीले बताए । थोरै लगानीका काम भइरहेकाले उक्त लगानीले सीमाका सबै सीमा क्षेत्र भ्याउन नसकिने भएकाले एक पटकमा एउटा परियोजना निर्माण गरी सीमा क्षेत्रको विकास गर्ने योजनामा आफू रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप