शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा पढ्न विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र दिन कडाई

बिहीबार, २६ माघ २०७९, ११ : ०२
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । चिकित्सा शिक्षा पढ्न विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र दिन कडाई गरिएको छ । चिकित्सा शिक्षा आयोगले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयोगबाट अध्ययन अनुमतिपत्र लिएर मात्र अन्य प्रक्रिया सुरु गर्न सूचित गरेको छ । नेपालबाट अन्य मुलुकमा चिकित्सा शिक्षा अध्ययन गर्नका लागि आयोगले दिने एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने कानूनी प्रावधान छ । सोही आधारमा आयोगले अध्ययन अनुमतिपत्र (ईलिजिबिलिटी लेटर) दिनेछ । 

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६ ले विदेश पढ्न जाने विद्यार्थीले आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरेको छ भने राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको नियम २७ मा विदेशमा अध्ययन गर्न जाने नेपाली नागरिकलाई अध्ययन अनुमतिपत्र (ईलिजिबिलिटी लेटर) दिने अधिकार आयोगलाई दिएको छ । 

आयोगले अनुमतिपत्र दिएपछि मात्रै स्टेटमेन्ट अफ नीड, नो अब्जेक्सन लेटर, गुड स्ट्याण्डिङ सर्टिफिकेट जस्ता सिफारिस पत्र लिन सबैलाई आयोगले अनुरोध गरेको छ । पछिल्लो समय प्रवेश परीक्षा पास नगरेकालाई समेत विदेशमा पढ्न जान दिन थालेपछि आयोगले त्यसतर्फ सचेत गराएको हो । विशेषगरी भारतीय सीमावर्ती क्षेत्रमा पछिल्लो समयमा खुलेका मेडिकल शिक्षालयहरूमा त्यसरी पढ्न जानेको संख्या उल्लेख्य रूपमा वृद्धि हुन थालेको छ । 

त्यसरी आयोगको प्रवेश परीक्षा पास नगरेर विदेश पढ्न गएका विद्यार्थीहरूले उताबाट चिकित्सा शिक्षा अध्ययन गरेर नेपाल फर्किएमा लाइसेन्स नपाउने समस्या हुन्छ । भोलि गएर विभिन्न समस्या हुनसक्ने भन्दै आयोगले समयमै सचेत गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप