शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
गठबन्धनमा गडबड

सत्ता गठबन्धनमा प्रचण्ड–ओली ‘शक्ति’को होडबाजीमा

बिहीबार, २६ माघ २०७९, १२ : २१
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । गृह मन्त्रालय नपाएको भन्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छाडेपछि सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमाले रक्षात्मक अवस्थामा पुगेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका मन्त्रालयमा प्रधानमन्त्री प्रचण्डले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलाई सामेल गराउने प्रयास थालेका छन् । त्यसका लागि प्रचण्डले उनीहरूसँग निरन्तर संवाद गरिरहेका छन् । 

एमालेका अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ सांसदलाई साथमा लिएर सरकारमा आफ्नो दबदबा बनाएका थिए । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जसपा, नागरिक उन्मुक्ति पार्टी र तीनजना स्वतन्त्र सांसद सरकारमै गएका छैनन् । जसपा र उन्मुक्ति सरकारमा गएको भए प्रधानमन्त्री प्रचण्डलाई केही भरथेगको आस बढ्न सक्थ्यो ।

प्रचण्डले विश्वास गरेका दलहरू बाहिर भएपछि एमाले अध्यक्ष ओलीले राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाई रहेका छन् । यसको छनक माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री प्रचण्ड दिइसकेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले आफूलाई अपेक्षित सहयोग नगरेको र गठबन्धनभित्र हालीमुहाली गर्न खोजेको धारणा नै राखेका थिए ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट अलग भएपछि प्रधानमन्त्री प्रचण्डलाई केही राहत भएको माओवादी केन्द्रका नेताहरू बताउँछन् । तर ओलीको जोडबल राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा सहभागी गराउने नै छ ।

माओवादीका एकजना स्थायी कमिटी सदस्यले रातोपाटीसँग भने, ‘रविजी आवेगमा आएर आफ्नो पार्टीलाई सरकारबाट बाहिर निकाल्नुभयो तर अहिले सोही पार्टीका नेताहरू सरकारमा आउन उकुसमुकुस गरिरहेका छन् ।’ त्यसो त लामिछाने स्वयंले पनि सरकारमा सहभागी हुने सङ्केत गरिरहेका छन् ।

सोही कारण एमाले अध्यक्ष ओलीले तत्कालै मन्त्रिपरिषद्लाई पूर्णता दिन हतार नगर्न प्रधानमन्त्री प्रचण्डसँगको भेटमा भन्ने गरेका छन् । ती नेताका अनुसार अध्यक्ष ओलीले सरकारमा फर्काउन राष्ट्रिय स्वतन्त्र पार्टीसँग पुनः छलफल गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डलाई दबाब दिँदै आएका छन् ।

तर प्रधानमन्त्री प्रचण्डको चाहना राष्ट्रिय स्वतन्त्र पार्टी सकभर सरकारमा नआओस् भन्ने रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका कारण आफ्नो नेतृत्वको सरकारका बारेमा नकारात्मक टीकाटिप्पणी भइरहेको प्रचण्डको बुझाई छ । यस्तै टिप्पणीका कारण प्रधानमन्त्री प्रचण्डले सांसदमै जवाफ समेत दिइसकेका छन् । प्रचण्डले सरकारका मन्त्रीहरूबाटै सङ्घीयता र गणतन्त्रका बारेमा टिप्पणी गर्न छुट नदिने चेतावनी दिएका थिए तर पनि मन्त्रीहरुका अभिव्यक्तिमा लगाव लागेको छैन । प्रचण्डको चेतावनी खासगरी राप्रपा र रास्वपाका मन्त्री लक्षित भन्ने बुझ्न कुनै कठिनाइ छैन । त्यही भएर यी दुई पार्टी सरकारमा नहुन् भन्ने प्रधानमन्त्री प्रचण्डको चाहना देखिन्छ । खाली रहेका मन्त्रालयमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपालाई सरकारमा ल्याउन सके आफूलाई सहज हुने ठानेर नै प्रधानमन्त्री प्रचण्ड हतारिएका छन् । प्रचण्डले मंगलबार मात्रै नेपाल र यादवसँग छलफल गरिसकेका छन् । छलफलमा दुवै पार्टी सरकारमा आउन सकारात्मक समेत देखिएका छन् । जसपा र एकीकृत समाजवादीबाहेक प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति र जनमतलाई समेत समेट्न सके सत्ता गठबन्धनमा प्रचण्ड बलियो हुने मनोविज्ञानमा छन् ।

सत्ता गठबन्धनभित्र राष्ट्रपतिका सवालमा समेत एकमत छैन । प्रचण्ड ओलीबीच पटक पटक वार्ता भएपनि ठोस सहमति जुट्न सकेको छैन । एमाले अध्यक्ष ओलीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार बस्दैछ । राष्ट्रपतिमा एमालेको अलवा काँग्रेसले पनि दावी गरेको छ । कांग्रेस उम्मेदवारलाई माओवादी केन्द्रले समेत साथ दिने सङ्केतहरू नेताहरुको अभिव्यक्तिबाटै पुष्टि हुन्छ । हालको सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्ड थप बलियो बने यो सत्ता समीकरण नै हेरफेर हुने सम्भावनालाई समेत नर्कान नसकिने विश्लेषण हुन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप