शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

बर्डफ्लु सङ्क्रमणको उच्च जोखिममा को–को पर्छन् ?

शुक्रबार, २७ माघ २०७९, १३ : १५
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । माघको दोस्रो साता काठमाडौँ उपत्यकामा बर्डफ्लु (HPAI, H5N8) भेटिएको पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौँको महानगरपालिका तारकेश्वर, नागार्जुन, कीर्तिपुर र भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रका पोल्ट्रफार्मका पन्छीहरूको पीसीआर परीक्षण गर्दा बर्डफ्लु भेटिएको पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डाक्टर चन्द्र ढकालले बताए ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा बर्डफ्लु पुष्टि भएपछि मासु तथा अन्डा खाँदा असुरक्षित भइन्छ कि भन्न त्रास फैलिएको छ । 

बर्डफ्लु खाद्यजन्य रोग नभएकाले अन्डा तथा मासुबाट सिधै मानिसमा सरेको यथेष्ट प्रमाण नभेटिएको डा. ढकालले बताए । यस्तै विश्व स्वास्थ्य सङ्गठनले पनि पन्छीको मासु तथा अन्डा खाँदा राम्ररी पकाएर खाएमा सुरक्षित हुने बताएको छ । पशुपन्छीको अन्डा तथा मासु राम्रोसँग सफा गरेर पकाएर खाएमा सुरक्षित रहिने विभागका डा. ढकालको पनि दाबी छ । 

शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले पन्छीको अन्डा तथा मासु सफा गरेर ७० डिग्रीसम्मको तापक्रममा पकाएर खाएमा बर्डफ्लु रोगबाट सुरक्षित रहन सकिने बताउँछन् ।

अन्डा र मासु खान डराउन पर्दैन तर सफा गरेर ७० डिग्रीभन्दा बढी तापक्रममा मज्जाले पकाएर खाएमा सुरक्षित रहने पशु सेवा विभागका ढकाल बताउँछन् । उनी भन्छन्, “अरू बेलामा पनि पशुपन्छी बिरामी भएको थाहा पाए मासु, अन्डा खान हुँदैन ।”

डा. पुन मासुका परिकार राम्रोसँग नपकाई खाँदा सङ्क्रमणको जोखिम हुने बताउँछन् ।

कसलाई छ उच्च सङ्क्रमणको जोखिम   

पहिलो– बर्डफ्लु सङ्क्रमणको जोखिम फार्ममा काम गर्ने श्रमिक तथा कृषकलाई हुन्छ । पन्छीको प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरू जोखिममा हुन्छन् । 

दोस्रो– ढुवानीकर्ता अर्थात् हाँस, कुखुरा ओसारपसार गर्ने तथा बेचबिखनका लागि हिँड्नेहरू पनि जोखिममा रहन्छन् । 

तेस्रो– वधशालामा काम गर्नेहरूमा पनि सङ्क्रमणको जोखिममा छन् । सङ्क्रमित पन्छी काट्ने तथा सरसफाइ गर्ने हुनाले उनीहरू पनि जोखिममा हुन्छन् ।

चौथो– केही अध्ययनहरूले पन्छी किनबेच हुने ठाउँमा पुगेका मानिसलाई बर्डफ्लु सङ्क्रमण भएको देखाएको छ । त्यसैले उच्च जोखिम क्षेत्रमा हिँडडुल गर्नेहरू पनि सङ्क्रमणको उच्च जोखिममा रहन्छन् । 

बर्डफ्लु सङ्क्रमण हुँदाका लक्षण  

–टाउको दुख्ने 

–खोकी लाग्ने,

–ज्वरो आउने 

–हाछ्युँ आउने

–मांसपेशी दुख्ने आदि ।

यी लक्षण बर्डफ्लु भाइरस सङ्क्रमण भएको तीन दिनदेखि देखिन सुरु गर्छ ।

वर्डफ्लूलगायत सङ्क्रमणजन्य रोग फैलन नदिन पशु विभागका डा. ढकालको सुझाव यस्तो छ :

–फार्मको वरिपरि जैविक सुरक्षाका विधि अनिवार्य अवलम्बन गर्नुपर्छ । 

–घरपालुवा पन्छी हाँस, कुखुरा आदिलाई जङ्गली तथा अन्य चराको सम्पर्कमा आउन नदिन खुला पन्छीपालनलाई  निरुत्साहित गर्नुपर्छ ।

–सम्पूर्ण पन्छीपालक कृषकले फार्म परिसरमा नियमित रूपमा निसङ्क्रमण गर्ने तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

–पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नुपर्छ ।

 –पन्छी फार्म, पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको सम्बन्धित पशु सेवाका निकायमा जानकारी दिनुपर्छ ।

नेपालमा बेलाबेलामा किन देखिन्छ बर्डफ्लु ?

उपयुक्त वातावरण नभएमा बेलाबेलामा बर्डफ्लु देखिने समस्या रहन्छ । पशुपन्छीमा रोगप्रतिरोधी क्षमता कम हुँदा यस्ता खालका सङ्क्रमणजन्य रोगले आक्रमण गरिरहने विभागका ढकाल सुनाउँछन् । रोग देखिइसकेपछि रोकथाम तथा नियन्त्रण गरिन्छ तर उन्मूलन गर्न चाहिँ नसकिने उनी बताउँछन् ।

बर्डफ्लु रोग लाग्नै नदिनका लागि जैविक सुरक्षाका विधि अपनाउन ढकालको सुझाव छ । 

कतिपय रोग पन्छीका लागि मात्रै घातकता हुन्छ भने कतिपय रोग मानवका लागि पनि घातक हुन सक्ने भएकाले सचेत रहन उनको सुझाव छ । उनी भन्छन् ‘विभागले रोग नियन्त्रणको प्रयासको प्रयास गरिरहेको छ तर उन्मूलन गर्न भने सकिँदैन ।’

विभिन्न फार्महरूमा कसरी बर्डफ्लु सङ्क्रमण भयो भन्ने विषय अध्ययन अनुसन्धानले पत्ता देखाउने भएकाले सम्बन्धित निकायले सो कार्य गरिरहेको उनले बताए ।

पशु सेवा विभाग के गर्दै छ ?

बर्डफ्लु रोग देखा परेका ठाउँमा तत्काल नियन्त्रण गरी सघन निगरानी (सर्भिलेन्स) कार्य नियमित रूपमा सञ्चालन गरिएको छ । विभिन्न स्थानबाट नमुना सङ्कलन गरी तत्काल परीक्षण गर्ने कार्य भइरहेको उनले बताए । बर्डफ्लु पुष्टि भएका क्षेत्रबाट अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहका निकायहरूको जनशक्ति परिचालन गरिएको छ । 

सहजीकरणका लागि पशु सेवा विभाग, प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौँडा, भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र ललितपुर र तत्तत् पालिकाबाट पशु चिकित्सकहरूको विज्ञ टोली खटाइएको विभागले जनाएको छ । 

नियन्त्रणका क्रममा रोग देखिएका क्षेत्रका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरी नियन्त्रण गरिएको विभागको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप