सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

राजा वीरेन्द्रले चाहेको र माधवभक्तले परिकल्पना गरेको ‘व्युटीफुल सिटी’ वीरेन्द्रनगर कस्तो थियो ?

अहिले वीरेन्द्रनगरको सौन्दर्य हराएको पाइयो, नेपालगन्ज, बुटवल जस्तो देखिने भयो : माधवभक्त माथेमा
शनिबार, ०६ फागुन २०७९, १५ : २७
शनिबार, ०६ फागुन २०७९

सुर्खेत । सुर्खेत उपत्यका अर्थात् हालको प्रदेश राजधानी वीरेन्द्रनगर ०२९ सालभन्दा पहिला ‘चौहानचौर’ भनेर चिनिन्थ्यो । ०२९ सालमा तत्कालीन राजा वीरेन्द्र सुर्खेत ‘सवारी’ भएपछि राजालाई ‘चौहानचौर’ निकै मन प¥यो । त्यसपछि वीरेन्द्रनगर नाम राखियो भने ०३३ सालमा नगरपालिका बनाइएको थियो । कचौरा आकारको यो उपत्यकामा ०२३ सालदेखि बसोबासको प्रारम्भ भएको पाइन्छ । त्यसभन्दा पहिले  नगरपालिकाको मैदानी भाग (उपत्यका  क्षेत्रमा) औलो लाग्ने हुँदा जिल्ला सदरमुकाम साबिक गढी गाविसमा रहेको थियो । उपत्यकामा फाट्टफुट्ट थारु र राजी समुदायको बसोबास रहेको थियो । औलो उन्मुलन भए पश्चात् उपत्यकामा बसोबास गर्न थालियो र सबै सरकारी कार्यालयहरूलाई स्थानान्तरण गरी सदरमुकाम तोकिएको थियो ।

औलो उन्मुलन पश्चात् सुर्खेत जिल्लाका विकट पहाडी क्षेत्र लगायत दैलेख जिल्ला र कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट बसाई सरेर आउनेहरू बढेको जानकारहरू बताउँछन् । ०२४ सालतिर अमेरिकाबाट आएका स्वयंसेवकहरूले उपत्यकामा बाटोको रेखाङ्कन गरेका थिए । ०२२ सालमै विमानस्थल स्थापना भई नियमित उडान र ०३८ मा रत्न राजमार्ग सडक निर्माण कार्य सम्पन्न भएको थियो । पछि साबिक कर्णाली अञ्चलमा उपभोग हुने सम्पूर्ण सामग्री वीरेन्द्रनगरबाट जान थाले भने वीरेन्द्रनगर पश्चिम नेपाल कै प्रमुख व्यापारिक एवं शैक्षिक पर्यटकीय केन्द्र समेत बन्यो ।  

वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकाल ०३३ सालमा आएर वीरेन्द्रनगरलाई ‘वीरेन्द्रनगर नगरपालिका’ बनाइएको बताउँछिन् । यद्यपि नगरको रूपमा विकास बिस्तारै भएको अलि पछि हो । उपत्यका भित्र पर्ने कटकुवा, गोठीकाडा र जर्बुटा गाउँ पञ्चायत भित्र पर्ने केही भागलाई मिलाएर वीरेन्द्रनगर नगरपञ्चायतका रूपमा स्थापित गरियो थियो । स्वर्गीय राजा वीरेन्द्रबाट देशको सन्तुलित कासको निम्ति चार विकास क्षेत्रमा विभाजन गर्दा वीरेन्द्रनगर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम घोषणा गरिएको थियो भने पछि मध्य पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकामका रूपमा रह्यो । वीरेन्द्रनगरको भौतिक विकास योजना राजा वीरेन्द्रकै निर्देशनमा एक उच्चस्तरीय प्राविधिक टोलीद्वारा तयार गरी १६ माघ ०२९ मा ‘वीरेन्द्रनगरको सहरी गुरुयोजना’ स्वीकृत गरी कार्यान्वयनमा आएको बुझिन्छ । कतिपयले राजा वीरेन्द्रको चाहना वीरेन्द्रनगरलाई ‘पेरिस जस्तो सुन्दर सहरको’ रूपमा विकास गर्ने थियो भन्ने गरेका छन् । राजा वीरेन्द्रले ०२९ सालमा अध्यादेशमार्फत नगर विकासको अवधारणा अघि बढाए पनि वीरेन्द्रनगरको सहरी गुरुयोजना बनाउने व्यक्ति थिए, योजनाविद् माधवभक्त माथेमा । उनी भने कुनै देशको सहरसँग तुलना नगरिएको र वीरेन्द्रनगरको धरातलमा टेकेर ‘गुरुयोजना’ बनाइएको बताउँछन् । अहिले पनि उनले नै बनाएको गुरुयोजनामा रहेर वीरेन्द्रनगरको विकास र परिवर्तनका रेखाहरू कोरिँदै छन् ।  यद्यपि माथेका त्यतिबेला ‘सुन्दर सहर’ बनाउने योजनामा भने केही फरकपना आएको बताए । माथेमा तीन दशकपछि वीरेन्द्रनगर आएका छन् । उनी वीरेन्द्रनगर आएको बेला ‘त्यो बेलाको वीरेन्द्रनगर’ को विषयमा रातोपाटीले उनीसँग कुराकानी गरेको छ । 

bhaktamathema

तपाईं सुर्खेत कहिले आउनुभयो ? त्यो बेला वीरेन्द्रनगर कस्तो थियो ?

—धेरै पछि आउँदा म कहाँ आएको छु भन्ने लागिरहेको छ । अहिले वीरेन्द्रनगर एक सहरका रूपमा विकास भएको छ । म सुर्खेत आउने योजना एक्कासि बनेको थियो । भर्खर अमेरिकाबाट ‘अर्बन प्लानिङमा मास्टर्स’ सकेर काठमाडौँ आएको थिएँ कोठामा नपस्दै प्रमुख इञ्जिनियरले सुर्खेत जानुपर्‍यो भनेर चिठी थमाएपछि यो सुर्खेत भन्ने ठाउँ कहाँ रहेछ भन्ने अन्योल भयो । म २८ वर्षको थिए, हुन्छ मैले जान्छु भनेँ । त्यतिबेला धेरै मान्छेलाई वीरेन्द्रनगर कहाँ छ ? भन्ने थाह थिएन, मैले २ महिनासम्म खोज्दै हिँडे । अन्तिममा राष्ट्रिय योजना आयोगमा तत्कालीन हर्क गुरुङलाई सोध्दा, वीरेन्द्रनगर पश्चिममा छ भन्नुभयो । त्यसपछि संयुक्त राष्ट्रसङ्घ विकास परियोजनाको जहाजमा १५ हजारमा चाटर्ड गरेर हाम्रो टोली यहाँ आएको थियो । पछि ०२९ साल पुसमा यही बस्ने भनेर आएका थियौँ । हामीले त्यो बेला तीन चरणमा विकास गर्ने गरी योजना बनाएको थियौँ । पूर्वको ईत्राम खोलादेखि पश्चिम खोर्के खोलाको बीचको भागलाई सरकारी लगानीमा सहरी विकास गर्ने, त्यसभन्दा उता भैरवस्थानदेखि ढोडेखालीसम्मको भागलाई स्थानीयको लगानीबाट विकास गर्ने र रत्न राजमार्ग भन्दा तल्लो भागलाई सरकारी स्वामित्वमा कृषि क्षेत्रका रूपमा विकास गर्ने योजना बनेको थियो ।  त्यो बेला पनि वीरेन्द्रनगर खडेरी खालको थियो ।

गुरुयोजना चाहिँ कसरी बनाउनुभयो ? 

— हामीले खार्के लाइनदेखि रत्न राजमार्गलाई जोड्ने गरी मात्रै सुरुवाती गुरुयोजना बनाएका थियौँ । हामीले सरकार (राजा)लाई चढाउँदा खेरी त्यो बुझाएका थियौँ । पछि क्याबिनेटबाट निर्णय भएपनि सबै भ्यालीलाई नै बनाउने कुरा भयो । आधा भूभागलाई  हामीले ‘एग्रिकल्चर’ एरिया भनेर राखेका थियौँ । त्यो बेला नै १०० वर्ष पछिको परिकल्पना गर्नु उपयुक्त थिएन । हामीले २५ वर्षको अवधिलाई भनेर गुरुयोजना बनाएका थियौँ । प्रशासनिक केन्द्र बनाउनुपर्ने भएकाले हामीले अहिले समय चाहिँ लाएका थियौँ । त्यो बेला विभिन्न सरकारी मन्त्रालय र अर्ध–सरकारी विभागहरूको अफिसहरू विशेषगरि खाद्य, कृषि, इञ्जिनियरिङ लगायतका कार्यालयहरू राख्ने भनेर तयार गर्‍यौँ । भोलि गएर जनसङ्ख्या वृद्धि हुने उद्देश्यसहित हामीले योजना बनाएका थियौँ । गुरुयोजना बनाउने बेला नै वैकल्पिक गुरुयोजनाको परिकल्पना गरिएको थियो ।  अहिलेको विमानस्थल बाहेक देउती बज्यै क्षेत्रमा पूर्व–पश्चिम पर्नेगरि विमानस्थल विकल्पका रूपमा हेरेको भए पनि त्यहाँ विमानस्थल बनाउँदा मानिस विस्थापित हुने सम्भावना बढी भएपछि सफल हुन सकेन । उपत्यका ठुलो भएकाले नेपालगञ्जलाई यो क्षेत्रको हवाई हब बनाउने बारेमा पनि सोचिएको थियो । पहिलेको योजना सफल नहुँदा अबको समयमा संरचना विकास गरेर वीरेन्द्रनगर उपत्यकामा ठुला विमान चलाउने सम्भावना कम देख्छु । 

 तपाईंको नेतृत्वमा कति जना हुनुहुन्थ्यो, अनि जग्गा–जमिनको अवस्था के–कस्तो थियो ? 

— इत्रामतिर अलि बस्ती थियो । राजमार्गभन्दा तल्लो भाग त पुरै कृषि क्षेत्र थियो । सुरुमा एउटा ‘प्लानिङ’ टिम भन्ने थियो । त्यसपछि नगर विकास समितिको कार्यालय बन्यो । त्यहाँ पनि इञ्जिनियरहरु थिए भने मेरो टोलीमा पनि इञ्जिनियर, आर्किटेक्स लगायता सबै थिए । तर धेरैजसो साथीहरू यहाँ आउन सक्नुभएन । यहाँ आउनेमा म र विशेषगरि मेरो साथी प्रदीप भट्टराई थियौँ । त्यो समयमा विस्थापित परिवारलाई घडेरी व्यवस्थापन गरिदिने कुरा पनि योजनामा थियो। सीमित घडेरी केही परिवारलाई वितरण गरिएको थियो । त्यो बेला बिगाहको ६ हजार थियो । नगर गुरुयोजना बन्नुभन्दा पहिला एउटा घडेरीको ३ सय मूल्य थियो । पछि नगर गुरुयोजना बन्दाखेरि त्यसको ‘इम्प्याक्ट’ पर्‍यो र अहिले बजारक्षेत्र रहेको ठाउँमा घडेरीको ६० हजार थियो । म ०४३ सालसम्म यहाँ बसेको थिएँ ।

त्यो बाहेक अन्य अवस्था ? 

— हेर्नुस् त्यो बेला सवारी साधन, इँट्टा, बयलगाडा, सिमेन्ट केही पनि थिएन । सुर्खेतमा आउँदै गर्दा जताततै भोकमरी थियो । सुरुमा सरकारी लगानीमा सहरको विकास गर्ने योजना बनेको थियो ।

राजा वीरेन्द्रले तपाईंलाई के भन्नुभएको थियो, गुरुयोजना बनाउनुभन्दा पहिला ?

— उहाँ (वीरेन्द्र) सँग मेरो कहिल्यै भेट भएको थिएन । जब ०२९ माघ १६ गतेतिर हुनुपर्छ सायद जब वीरेन्द्रनगरको गुरुयोजना यस्तो बन्छ ? भनेर ‘प्रिजेन्टेशन’ गरेको थिएँ । राती २ बजेसम्म वीरेन्द्रनगरको बारेमा छलफल भएको थियो । आर्थिक, सामाजिक रोल के हो ? जनतालाई कसरी सहभागी गराउने भन्ने विषयमा छलफल भएको थियो । राजालाई मन परेर होला ओके गर्नुभयो । त्यसपछि नगर योजना सदर भयो र क्याबिनेटमा गएको थियो । त्यतिबेला नेपालको ग्रामीण क्षेत्र निकै पिछडिएको थियो । निकै ‘च्यालेञ्ज’ थियो । 

राजा वीरेन्द्रले ‘पेरिस’ जस्तो सुन्दर सहर बनाउन निर्देशन दिनुभएको थियो भन्ने पनि भनिन्छ नि ? 

— त्यो थिएन । वीरेन्द्रनगरलाई यहाँको मौलिक सहरका रूपमा विकास गर्ने योजना बनेको थियो । म सुर्खेत आउँदा यहाँ ठुलो भोकमारी थियो, गरिबीको महसुस गरेँ । जसका कारण नेपाल बाहिरका सहरको परिकल्पना गरेर योजना बनाइन् । 

तर राजाले निकै मन पराएको र सुन्दर सहर बनाउन चाहनु भएको कुरा त सत्य हो नि ? 

— हो, त्यो बेला वीरेन्द्रनगर निकै रमणीय थियो । 

सुन्दर सहर बनाउनका लागि यहाँ रोपिएका रुखहरू, गुलमोहर लगायतका बिरुवाहरूको जोहो चाहिँ कसरी गर्नुभएको थियो ?

— यसमा निकै दुःख थियो । अहिलेका गुलमोहर फूलका बिरुवाहरू भारतको लखनउबाट १०० रुपैयाँमा किनेर ल्याएका थियौँ । ‘अर्वट ट्रि’ सहरमा लगाउने बिरुवा । रुख लगाउनको लागि निकै विचार गर्नुपरेको थियो । खासै सहयोग मिलेन, कल्किफूल, असारेफूल नेपालगन्जबाट ल्याएका थियौँ । रुखको विशेषता भनेको वातावरणलाई राम्रो बनाउन थियो ।

राजाले सुन्दर सहर बनाउने सपना जस्तै छ त अहिलेको वीरेन्द्रनगर ? 

— त्यतिबेलाको रमणीय स्थान अहिले गयो, सौन्दर्य हराएको पाइयो । अहिले नेपालगन्ज, बुटवल जस्तो देखिने भयो । वीरेन्द्रनगरलाई चिनाउने चिज भएन । राजाले चाहेको ‘व्युटीफूल सिटी’ बन्न अझै धेरै काम गर्नुपर्छ । यद्यपि नगरपालिकाको दोष चाहिँ होइन । तर अहिले बनिरहेका घरहरू कुन खालको बनाउने विचार गर्नुपर्थ्यो । केन्द्रबाट आउनुपर्ने ‘टेक्निकल इन्पुट’ पुगेन ।  

अहिले भौतिक विकास चाहिँ भएको छ । तर नगर योजना सञ्चालन कसरी भएको छ ? भन्ने कुरा बुझ्न पाएको छैन । 

 

***

गुरुयोजना भन्दा बाहिर गएर काम गरेका छैनौँ : नगरप्रमुख ढकाल

माथेमाले वीरेन्द्रनगर गुरुयोजना बनाएको ठिक ५० वर्ष भयो । माथेमाले २५ वर्षका लागि गुरुयोजना बनाइए पनि अहिलेसम्म त्यसैको जगमा रहेर वीरेन्द्रनगरको विकास भइरहेको नगर विकास समितिका अध्यक्ष एवं नगरप्रमुख मोहनमाया ढकाल बताउँछिन् । ‘हामीले त्यही ‘प्लान’ ठिक छ भनेर स्वीकार गरिसकेका छौँ,’ ढकाल भन्छिन्,‘ यसलाई अझ व्यवस्थित गर्न हामी लागिरहेका छौँ ।’ तर त्यो बेलाको नगर विकास समितिको जग्गा भने अतिक्रमण भइरहेको छ । अहिले नगरपालिकासँग निकै कम मात्र जग्गा रहेको छ । नगरप्रमुख ढकालले नगर विकासको जग्गालाई संरक्षण गर्ने नीति बनाएर अघि बढिएको बताइन् । 

बढ्दो सहरीकरणसँगै वीरेन्द्रनगरको अवस्था अव्यवस्थित बनिरहेको सरोकारवालाहरूले बताउने गरेका छन् । प्रदेश राजधानी बनेपछि दिनप्रतिदिन यहाँको जग्गाको भाउ बढिरहेको छ भने सार्वजनिक शौचालय, टेम्पो पार्किङ, अव्यवस्थित सडकहरू अहिलेका लागि प्रमुख समस्या हुन् । साथै वीरेन्द्रनगरमा खानेपानीको प्रमुख समस्या रहेको छ । 

नगरप्रमुख ढकाल भने ‘प्लान’ अनुसार नै फरक तरिकाले अघि बढाउने योजना रहेको बताउँछिन् । उनले भनिन,‘हाम्रो पहिलो अभियान सरकारी जग्गाको संरक्षण हुनेछ, बजार क्षेत्रको पार्किङलाई व्यवस्थापन गर्न जोड दिएका छौँ । हिजो जुन उद्देश्यले गुरुयोजना बनाइएको थियो, त्यसअनुसार गर्छौ भनेर हामीले प्रतिबद्धता गरेका थियौँ, त्यसै गरिरहेका छौँ ।’ साथै ‘प्लानिङ’ एरियाका बाटोहरू खोल्ने कामहरू भइरहेको ढकालले बताइन् ।

ढकालका अनुसार वीरेन्द्रनगरलाई कसरी विकास र व्यवस्थित गर्ने भन्ने विषयमा ६ महिना अध्ययन अनुसन्धान भइरहेको छ । ‘पुरानो गुरुयोजनालाई कायम राख्नेगरि अहिले नगरपालिकाले भूउपयोग नीति बनाएको छ,’ ढकालले भनिन,‘अब नयाँ प्लटिङ गर्दा १० मिटरको बाटो बनाउनुपर्ने, खोला किनारमा कुनै पनि व्यक्तिगत संरचना बनाउन नमिल्ने व्यवस्था गरिएको छ ।’ 

गुरुयोजनाबारे ढकाल भन्छिन्,‘ तत्कालीन अवस्थामा राजाको प्रत्यक्ष शासनकालमा काठमाडौँदेखि निकै टाढा रहेको ठाउँलाई गुरुयोजना बनाएर जानुपर्छ भनेर जानु नै सकारात्मक पक्ष थियो । यद्यपि कतिपय कुराहरू अझै पनि अनुत्तरित छन् ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप