मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

राष्ट्रपतिमा शीर्ष नेताको आ–आफ्नै रणनीति, निर्णायक भूमिकामा प्रचण्ड

मङ्गलबार, ०९ फागुन २०७९, २० : २९
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौ । भावी राष्ट्रपतिका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गरी फागुन २५ गते चुनाव गराउने कार्यतालिका बनेको छ । राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न चार दिनमात्रै बाँकी रहँदा नेताहरुको दौडधुप बाक्लिएको छ ।

संसद्को ठुलो दल नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम चर्चामा छ । कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चाले समेत राष्ट्रपति निर्वाचनमा आफूहरुलाई साथ दिने कांग्रेस नेताहरुको दाबी छ ।

तत्कालीन पाँच दलीय गठबन्धन बिउँताएर राष्ट्रपति आफ्नो पोल्टामा पार्न कांग्रेस नेताहरु लागिपरेका छन् । यो गठबन्धन भत्काएर आफू सरकारमा जाने कांग्रेसको रणनीति छ ।

पार्टीका वरिष्ठ नेता पौडेल राष्ट्रपतिको उम्मेदवार हुने भन्दै कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सहयोगका लागि औपचारिक प्रस्ताव गरिसकेका छन् । गत आइतबार राति वरिष्ठ नेता पौडेलसहित कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला लगायतले प्रचण्डसँग भेट गरी राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न औपचारिक प्रस्ताव गरेका हुन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टी बैठक बसेर छलफल गरेपछि मात्रै राष्ट्रपतिका विषयमा स्पष्ट पार्न सकिने बताएका थिए । कांग्रेस नेताहरु राष्ट्रपतिमा प्रधानमन्त्रीबाट सहयोग पाउनेमा आशावादी देखिएका छन् । त्यसैले कांग्रेस नेताहरुले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवार नै विजयी हुने दाबी गरिरहेका छन् ।

यस्तै, एमालेले राष्ट्रपतिका विषयमा आधिकारिक उम्मेदवार अघि सारेको छैन । गत पुस १० गते एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भएको भद्र सहमतिमा प्रधानमन्त्री माओवादी केन्द्रलाई र राष्ट्रपति एमालेलाई दिने समझदारी भएको एमाले नेताहरुको दाबी छ । उक्त सहमतिलाई प्रचण्डले कार्यान्वयन गर्नुपर्ने उनीहरु बताउँछन् ।

उता, माओवादीले पुस १० गतेको परिस्थितिमा धेरै बदलाव आइसकेकाले सबै दलको सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, संसद्को पूर्ण कार्यकाल र शान्ति प्रक्रियाका सबै काम टुंगो लगाउनेगरी सबै दलको सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने माओवादी केन्द्रको धारणा छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिका विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई दिइसकेको छ ।

एमालेलाई सभामुख पद दिइसकेका कारण शक्ति सन्तुलनका हिसाबले पनि अब राष्ट्रपतिमा एमालेबाहेकको शक्तिलाई महत्त्व दिनुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड देखिएका छन् । संसद्को वर्तमान समीकरण तरल देखिएका कारण पनि पाँच वर्षसम्म संसद टिकाउन एमाले बाहेकबाट राष्ट्रपति बनाउन आवश्यक रहेको माओवादी नेताहरुको भनाइ छ । यदि कांग्रेसबाटै राष्ट्रपति भएमा संसदलाई पूरा कार्यकाल लग्न सकिने र शान्ति प्रक्रियाका बाँकी काम सक्ने प्रचण्डको योजना छ ।

केही अघि संसदमै सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन ठिक थियो भन्नेगरी अभिव्यक्ति दिएपछि प्रधानमन्त्री प्रचण्ड झन् झस्किएका छन् । त्यसैलै प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएका हुन् ।

यसअघि एमालेबाट राष्ट्रपतिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल लगायतको नाम चर्चामा थियो । तर एमालेकै नेता राष्ट्रपति हुने अवस्था नदेखेपछि अध्यक्ष ओलीले विभिन्न विकल्पमा छलफल अघि बढाएका छन् । यद्यपि कसलाई उम्मेदवार बनाउने भन्नेबारे उनले आधिकारिक निर्णय गरिसकेका छैनन् । एमाले सचिव टोपबहादुर रायमाझीले राष्ट्रपतिमा पार्टीबाट कसलाई् अघि सार्ने भन्ने विषयमा निर्णय भइनसकेको बताए । ‘राष्ट्रपतिका विषयमा पार्टीबाट कुनै निर्णय भएको छैन । अहिलेसम्म को राष्ट्रपति हुने भन्ने विषयमा परिदृश्य स्पष्ट छैन,’ रातोपाटीसँग कुरा गर्दै रायमाझीले भने, ‘तपाई भन्नुहुन्छ भने अब राष्ट्रपति को बन्छ भन्नेमा प्रधानमन्त्रीसहित कुनै पार्टीका अध्यक्षलाई नै थाहा छैन ।’

एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिमा प्रस्ताव गरेपछि परिदृश्य बदलिएको छ । यदि नेपाल राष्ट्रपति बनेमा एकीकृत समाजवादीलाई आफ्नो पार्टीमा समाहित गर्ने र कांग्रेसलाई राष्ट्रपतिमा रोक्ने ओलीको दोहोरो नीति छ । एकीकृत समाजवादीबाट नेपाललाई राष्ट्रपतिमा अघि सारिएपछि सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल सशंकित भएका छन् । आफूलाई भावी राष्ट्रपतिको रुपमा अघि सारेको अवस्थामा पुनः नेपाललाई ओलीले राष्ट्रपति बन्न प्रस्ताव गरेपछि उनी झस्किएका हुन् ।

अध्यक्ष नेपाल आफै पनि पार्टीलाई बलियो बनाउन सक्ने अवस्था नदेखेपछि राष्ट्रपति बनेर सेटल हुनेतिर लागेका छन् । २०६४ सालमा राष्ट्रपति प्रस्ताव गर्दा ‘बेला भएको छैन’ भनेर अस्वीकार गरेका उनले अब राष्ट्रपति बन्न प्रस्ताव आएमा स्वीकार गरेर जाने मानसिकता बनाएको स्रोत बताउँछ ।

राष्ट्रपतिको चुनावमा माओवादी निर्णायक

संसद्को पहिलो शक्ति कांग्रेस, दोस्रो शक्ति एमाले र तेस्रो माओवादी केन्द्र छ । भावी राष्ट्रपति कसलाई बनाउने भन्नेमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड निर्णायक अवस्थामा छन् । उनको पार्टीबाट राष्ट्रपति बनाउने अवस्था नभए पनि कांग्रेस, एमाले लगायत अन्य दलबाट राष्ट्रपति बनाउनेमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवस्थामा उनी छन् । त्यसैले, कांग्रेस, एमाले लगायतका दलले राष्ट्रपतिमा सहयोग गर्न उनलाई आग्रह गरिरहेका छन् ।

तर, प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर जाने अडान लिएका छन् । सबै दललाई स्वीकार्य हुनेगरी राष्ट्रपति बनाउनुपर्नेमा उनको जोड छ । गत सोमबार माओवादी पदाधिकारी बैठकले राष्ट्रपतिका विषयमा निर्णय गर्न प्रचण्डलाई अख्तियारी दिएको छ । गणतन्त्र, संघीयता, धर्ननिरपेक्षता, समानुपातिक समावेशी, संक्रमणकालीन न्याय निरुपण र संसद्को पूर्ण कार्यकाल हुने गरी राष्ट्रपति चयन गर्नुपर्ने माओवादी केन्द्र पदाधिकारी बैठकको निर्णय छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप