मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष केदारनाथ शर्मा र सचिव सविना न्यौपानेको मनोमानीले डुब्यो तुलसी सहकारी

बचत फिर्ता दिन सक्नेमा आशङ्का
बुधबार, १० फागुन २०७९, १२ : २१
बुधबार, १० फागुन २०७९

विराटनगर । विराटनगरस्थित तुलसी बहुमुखी सहकारीले हजारौँ सर्वसाधारणको करोडौं बचत रकम हिनामिना गरेको घटना बाहिरिएसँगै बचतकर्ताले रकम फिर्ताका लागि हारगुहार गरिरहेका छन् । तर, उक्त सहकारी कसरी र कसले डुबायो भन्ने विषयको खोजविन हुन बाँकी नै छ । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतमा छन् । सदस्यहरू तविलाल विश्वकर्मा, निर्मला भट्टराई, बन्टी अधिकारी सम्पर्कविहीन छन् ।

यस्तै उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने पक्राउ परेका छन् । सदस्य आदित्यराज भट्टराई, प्रमुख प्रबन्धक मन्दिप खवास र प्रबन्धक सुरुचि पोखरेल भने स्थानीय प्रशासनको सम्पर्कमै छन् तर उनीहरूलाई पक्राउ गरिएको छैन । प्रहरीलाई अध्यक्ष शर्माले सम्पर्क गरेर फागुन १७ गते आउने बताएका छन् । बचतकर्ता, कर्मचारीसहित जिल्ला प्रहरी कार्यालय मोरङमा भएको छलफलमा शर्माले आफू १७ गते नेपाल आउने जानकारी दिएको स्रोतको दाबी छ ।

स्रोतले भन्यो, ‘१७ गते आउँछु । २ सय प्रतिशत आउँछु भनेका छन् । भारतको नासिकमा छु भनेका थिए । उनले शिखर अर्गनाइजेसनको मेरो ५१ प्रतिशत शेयर बिक्री गरेको छु, त्यहाँबाट २ सय ५० करोड भारु आउँछ भनेर प्रहरीलाई आश्वस्त पारेका छन् ।’ तर, अहिलेसम्म सरकारी निकाय सहकारी विभाग वा अन्य निकायले बचतकर्ताको डुबेको १ सय ४५ करोड रकमको विषयमा गम्भीरता पूर्वक लिएको देखिएको छैन ।

‘छानबिनमा जानु आवश्यक छ । अहिलेसम्म मुद्दा चलाउने, सञ्चालकलाई पक्राउ गर्ने काम सरकारी निकायबाट भएको छैन । सञ्चालकले तिर्ने भनेर कुनै प्रतिबद्धता जनाएको छैनन्,’ विराटनगरका बचतकर्ता युवराज पौडेलले भने । सहकारीका सञ्चालक र कतिपय ठुला बचतकर्ताले पनि रकम छानबिनमा अवरोध गरिरहेको धेरैको आशङ्का छ । ठुला बचतकर्ताहरूले धेरै खेलोमेलो गरिरहेको स्रोतको भनाइ छ । उक्त सहकारीमा कतिपय ठुला बचतकर्ताले दुई नम्बरी पैसा बचत गरेको पनि बताइन्छ । केही दिन अगाडि विराटनगरकी उपप्रमुख शिल्पा निराला खरेलले सहकारीमा कालो धन लगानी भइरहेको आफूले थाहा पाएको बताएकी थिइन् ।

निर्णय प्रक्रिया किर्ते हुन्थ्यो

झन्डै ६ महिना अगाडि दमक शाखाको कर्मचारीको स्वार्थ टकराब देखियो । जुनियर कर्मचारीको दबाबमा परेर दमक शाखाकी कर्मचारी ऋतु थापालाई राइस मिलमा सरुवा गरियो । उनै थापाले सहकारीमा पैसा नभएको र बचत रकम नरहेको हल्ला गर्न थालिन् । त्यसपछि यो कुरा बाहिरियो ।

सबै काम भने विराटनगर–३ स्थित कर्पोरेट अफिसबाट हुन्थ्यो । सहकारीको सचिव सविना न्यौपाने आफै अफिसमा बसेर काम गर्थिन् । माइन्यूटमा पनि आफै हस्ताक्षर गर्थिन् । अडिट पनि उनैले गराउँथिन् । चेकमा हस्ताक्षर पनि उनले नै गर्थिन् । कर्मचारीहरूले पैसा नभएको जानकारी दिँदा ‘तिमीहरूको काम व्यवस्थापन हेर्ने हो, पैसा जुटाउने सञ्चालकको काम हो, हामी जुटाउँछौँ’ भन्थिन् ।

७ जना सञ्चालक समिति सदस्यमध्ये ५ जना ‘डमी’ रहेको स्रोत बताउँछ । अफिसमा केदारनाथ र सविना श्रीमान्–श्रीमतीको रूपमा प्रस्तुत हुन्थे । सहकारीमा साढे ४ महिना अगाडि पनि बचत रकम नभएको बारेमा कुरा उठेको थियो । त्यस बेला बसेको बैठकमा कर्मचारीले ‘लिक्विडिटी कम भयो । अहिले आर्थिक तरलता चरम सङ्कटमा गयो । १४५ करोड मार्केटको पैसा थियो । अहिले १० लाख रुपैयाँ पनि सहकारीको खातामा छैन, लगानी रोकौँ’ भनेका थिए । तर, सचिव सविनाले कसैको कुरा सुनिनन् । उनले ‘पैसा ल्याउने जिम्मा सञ्चालक समितिको हो । तिमीहरू डिपोजिट बढाउ’ मात्रै भनिन् ।

उनी ‘लगानी गरेर कमाउने हो, दिने हो’ भन्थिन् ।  खाता सञ्चालनका लागि अध्यक्ष शर्मा, सचिव न्यौपाने र प्रमुख प्रबन्धक मन्दिप खवासको हस्ताक्षरमात्रै चल्छ । सहकारीले बचत फिर्ता गर्न नसक्नु भनेको अवैध तरिकाले इन्टर कम्पनी लगानी गर्नु नै हो । सहकारीले अवैध तरिकाले नटराज एग्रोमा ६ करोड, तुलसी मोटर पम्पमा ३२ करोड, तुलसी राईस मिलमा ३५ करोड, तुलसी अनुसन्धान केन्द्रमा पनि ठुलो रकम लगानी गरेको छ । तर, संस्थाको लेखा परीक्षण रिपोर्टमा ४० लाख मात्रै लगानी देखाइएको छ ।

Tulasi Sahakari (4)

शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष पनि उनै केदारनाथ शर्मा हुन् । उक्त ग्रुपले विभिन्न ३२ वटा कम्पनी खोलेको छ । केदारनाथ शर्माकै छोरा काल्स शर्मा उक्त ग्रुपको उपाध्यक्ष छन् । ग्रुपले तुलसी मोटर पम्प, तुलसी राइस एण्ड च्यूरा प्लान्ट, तुलसी कृषि अनुसन्धान केन्द्र, गाईघाट खाँबु, गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर, गाईघाट, दमक र लेटाङ, नटराज एग्रो प्रा.लि., गोर्खा टि एण्ड कफी इ.प्रा.लि., तुलसी स्वरुम तथा उपकार ब्रान्डका विभिन्न खाद्य सामग्री उत्पादन र विक्री गर्दछ ।

अडिट रिपोर्टमा यी उद्योगहरूमा जम्मा लगानी ४० लाख देखाएको छ । अरू लगानी बैङ्कको ऋण भनिएको छ । तर, सबै सर्वसाधारणले बचत गरेको पैसा त्यहाँ लगानी भएको स्रोतको दाबी छ । सहकारीकै स्वामित्वमा भने पानी उद्योग र राइस मिल मात्रै हो । अन्य उद्योगहरू केदारनाथ शर्माको एकल हो । अन्य उद्योगमा गैर कानुनी तरिकाले गरेको लगानी फिर्ता नआएपछि समस्या भएको स्रोत दाबी गर्छ । ‘यहाँ सहकारीलाई व्यक्तिको बनाएर चलाइयो, त्यसपछि समस्या आएको हो,’ बचतकर्ता सन्तोष आचार्य बताउँछन् ।

विराटनगर शाखामा ११ दिन अगाडि बचतकर्ताले अत्यधिक दबाब दिएपछि कर्मचारीले अब हामी यसरी सक्दैनौँ भनेर आन्दोलन गरे । सो क्रममा कर्मचारीहरूले सचिव न्यौपानेलाई प्रश्न गरे– इन्टरकम्पनीमा लगानी गरेको पैसा किन आएन ? जिरो ब्यालेन्समा टेलर चला भन्दा कसरी चलाउनु ? जवाफमा सचिव न्यौपानेले भनिन्– सबै पैसा मैले खाएँ, के गर्छौं ?

सरकारी निकायले पनि आधिकारिक छानबिन गर्न चासो देखाएको छैन । पैसा घटेपछि सूचना दिइएको कर्मचारीहरू बताउँछन् । ‘सधैँ सञ्चालकबाट पैसा आउँछ भन्थे । यस पटक पैसा आएन,’ उनीहरू भन्छन् । सहकारीको समस्याको विषयमा सहकारी विभागलाई पनि जानकारी थियो । तर, अनुगमनको नाममा आउने र जाने मात्रै भयो ।

d2

अध्यक्ष शर्मा र सचिवबीच पहिले राम्रो सम्बन्ध, अहिले खटपट

अध्यक्ष केदारनाथ शर्मा र सचिव सविना न्यौपानेबीच पहिले एकदमै राम्रो सम्बन्ध रहेको उनीहरू निकटस्थ बताउँछन् । कोभिडको समयपछि भने सम्बन्धमा खटपट भएको बताइन्छ । न्यौपानेले तुलसी सहकारीबाट करोडौं रुपैयाँ आफ्ना भाइ सागर न्यौपानेलाई हस्तान्तरण गरेर बिर्तामोडमा एसमार्ट खोलेकी थिइन् । उनकी आमा सुधा न्यौपाने पनि २०७५ सालसम्म तुलसी सहकारीको सदस्य नै थिइन् ।

तुलसीबाट मार्टले लिएको ८ लाख रुपैयाँको वैध ऋण पनि फिर्ता भएको छैन । न्यौपानेले लगेको एसमार्टमा लगाएको पैसा कुन बाटोबाट गयो भन्ने खोजीको विषय रहेको स्रोत बताउँछ । त्यही मार्टको विषयलाई लिएर अध्यक्ष शर्मासँग न्यौपानेको सम्बन्ध त्यतिबेलादेखि नै बिग्रिएको कतिपय बताउँछन् ।

d1

उनले ४५ करोडभन्दा बढी पैसा अपचलन गरेको हुनसक्ने स्रोत बताउँछ । शर्माले अत्याधिक कर छली गरेको पनि स्रोतको दाबी छ । ‘सहकारीले निक्षेपकर्ताको ब्याज भुक्तानी पनि १० महिनामा गर्थ्यो । त्यो पनि निवेदन दिएपछि । सहकारी कुनै सिस्टमले चलेको थिएन,’ बचतकर्ता सन्तोष आचार्य बताउँछन् ।

न्यौपानेको पहिलो श्रीमान् गणेश घिमिरे हुन् । उनीसँग सम्बन्ध बिच्छेद भएपछि न्यौपानेले शर्मासँग निकट सम्बन्ध राखेकी थिइन् । त्यही निकटताको फाइदा उठाउँदै सचिव न्यौपानेले सहकारीको पैसा आफूखुसी प्रयोग गरेको स्रोतले दाबी गरेको छ । उनले आफ्नो छोरा आरभ घिमिरेलाई क्यानडा अध्ययनका लागि पठाउन लागेको स्रोतले जानकारी दियो ।

लेखा परीक्षण प्रतिवेदनमा के छ ?

तुलसी सहकारीको विराटनगर शाखाको आधिकारिक लेखापरीक्षक चार्टर्ड एकाउन्टेन्ट जे एन प्रतिहास्त एण्ड एसोसिएट्सले दिएको २०७८ साल असार ३१ गतेसम्मको विवरणमा कतिपय शङ्कास्पद टिप्पणी गरिएको छ । उक्त विवरण अनुसार त्यस बेला सहकारीमा बैङ्क तथा वित्तीय संस्थामा रहेको मौज्दात ३३ करोड २४ लाख ६७ हजार १४४ रुपैयाँ तथा नगद र नगद सामान ३ करोड ७४ लाख १० हजार ८६ रुपैयाँ रहेको उल्लेख छ ।

संस्थाको कूल सम्पत्ति तथा दायित्व १ अर्ब ४६ करोड ५ लाख १९ हजार ५७० रहेको उल्लेख छ । नाफा मात्रै संस्थाको ७३ लाख १० हजार ९६९ रहेको देखाइएको छ । लगानी भने विभिन्न चार वटा संस्थामा ४० लाख ११ हजार मात्रै रहेको उल्लेख छ भने कर्जा तथा सापटी रकम ३१ करोड २३ लाख ६० हजार १८० रुपैयाँ रहेको उक्त लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । संस्थाको स्थिर सम्पत्ति भने ४ करोड १३ लाख ६३ हजार १५७ रुपैयाँ रहेको छ ।

राय व्यक्त गर्न अस्वीकारेको आधार भन्ने अनुच्छेदमा ‘राय व्यक्त गर्न अस्वीकारको लागि वर्णन गरिएको विषयवस्तुको महत्त्वको कारणले हामीहरू लेखा परीक्षणमा राय दिनको लागि आधार प्रदान गर्न पर्याप्त तथा उपर्युक्त लेखा परीक्षण प्रमाणहरू प्राप्त गर्न असमर्थ भएका छौँ । त्यसैगरी ती वित्तीय विवरणहरु माथि हामी राय व्यक्त गर्दैनौँ,’ भन्ने उल्लेख छ ।

राय व्यक्त गर्न अस्वीकारको आधारमा पनि कतिपय विवरण दिन असमर्थ रहेको जनाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले सहकारी संस्थाको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान अनुरूप तयार गर्नुपर्ने प्रावधान राखेको भए पनि सहकारी संस्थाको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान अनुरूप तयार गरिएको छैन । परिणाम स्वरूप हामी यस संस्थाको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान अनुरूप तयार नगरिएको हुँदा सोको संयुक्त असर वित्तीय विवरणमा निर्धारण गर्न हामी असमर्थ भएको छौँ र सोको असर सारयुक्त/सारभूत र अनुशरणीय हुन सक्दछ ।’

अन्य कानुनी तथा नियमनकारी व्यवस्थामाथिको प्रतिवेदनमा दिएको ५ वटा निर्णयमा भने सबै कुरा ठिकठाक रहेको उल्लेख छ । जसमा हिसाबकिताब दुरुस्त रहेको, संस्थाको हिसाबकिताबहरू प्रचलित कानुन बमोजिम ठिकसँग राखिएको, सञ्चालक समिति वा संस्थाको कुनै पनि कर्मचारीले सहकारी ऐन विपरीत काम काज वा सदस्यहरूको हित विपरीत काम नगरेको उल्लेख छ । सोही निर्णयमध्ये अन्तिम निर्णयमा भने ‘लेखा परीक्षणका टिप्पणीमा औँल्याइएका टिप्पणीको आधारमा यस संस्थाको वित्तीय विवरणहरूमाथि राय व्यक्त गर्दैनौँ’ भन्ने उल्लेख छ ।

लेखा टिप्पणीको ४ नम्बर बुँदामा भने सहकारीले सदस्यहरूसँग बढीमा ३ वर्षसम्मको बचत निक्षेपमात्र सङ्कलन गर्न पाउनेमा तीन वर्षभन्दा बढी अवधिको सुपर रिक्युरिङ र डबल स्किम बचत सङ्कलन गरेको उल्लेख छ । कर्जा तथा सापटीमा संस्थाको सञ्चालक समिति, लेखा समिति, ऋण उपसमितिका पदाधिकारीहरूले लिएको ऋणको विवरण सहकारी कार्यालयमा पेस नगरेको, पूँजीकोषको १० प्रतिशतभन्दा बढी पनि एउटै सदस्यलाई ऋण प्रवाह गरिएको, सङ्घ संस्थालाई ऋण प्रदान गरेको टिप्पणीमा उल्लेख छ ।

विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौँको कारोबार गर्दै आएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था अहिले सङ्कटमा छ । सहकारीको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू बन्द छन् ।

तुलसी सहकारी विराटनगरको ठुलो सहकारी हो । यस सहकारीको विराटनगरमा मात्रै ५ हजार बढी बचतकर्ता छन् । विराटनगरका ५ हजार जनाबाट मात्रै झन्डै ६६ करोड बचत जम्मा भएको सहकारीका कर्मचारीहरू बताउँछन् । झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोल बजारमा पनि शाखा कार्यालय रहेको सहकारीको जम्मा निक्षेप (बचत) रकम मात्रै १ सय ४५ करोड बराबर रहेको बताइन्छ । सहकारीले ४८ करोड ऋण लगानी गरेको छ । शेयर पूँजीमात्रै १० करोड रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप