सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

बजारमा एक खर्ब घट्यो पैसा : राष्ट्र बैंक भन्छ, ‘कतै हराएको छैन’

सम्भव छ नेपालमा नोटबन्दी ?
शुक्रबार, १० चैत २०७९, १६ : ०५
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । पछिल्लो पटक बजारमा तरलता अभाव गहिरिँदै जाँदा पैसा हराएको आशङ्का गरिएको छ । उद्योग व्यवसायी तथा व्यापारीहरूले, राजनीतिज्ञले वा सर्वसाधारण जनताले बैंकमा नभएर पैसा घरमै राखिदिँदा क्यास साइकल (पैसाको चक्र)मा नै प्रभाव परी तरलता अभावको सिर्जन भएको बताइएको छ । तर केन्द्रीय बैंक भने पैसा कतै नहराएको दाबी गर्छ । 

‘क्यास फ्लोलाई एउटै सूचकले मात्र हेर्न हुँदैन । कति पैसा बजारमा चलनचल्तीमा छ र कति सिस्टममा फर्कियो ? त्यसलाई हामीले गहिरोसँग अध्ययन गर्न आवश्यक छ । बैंकमा जम्मा भएको र तपाईं हामीले दैनिक घरखर्च चलाइरहेको पैसा चलनचल्तीकै पैसा हो । यसलाई हराएको भन्न मिल्दैन,’ राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने । 

पछिल्लो तथ्याङ्कअनुसार ६ खर्ब २८ अर्ब रुपैयाँ क्यास बजारमा चलनचल्तीमा रहेको छ । यो अघिल्लो वर्षको तुलनामा १५.९२ प्रतिशतले कमी हो । आर्थिक वर्ष २०७८/७९ को असोज ३१ मा यस्तो नगद प्रवाह बजारमा ७ खर्ब २८ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको थियो । तर यो क्रमशः घट्दै ६ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ । यद्यपि यो पूर्णरूपमा सिस्टम बाहिरको पैसा भने होइन । 

‘बैङ्किङ सिस्टमा आउजाउ गरिरहेको पैसा नै चलनचल्तीको पैसा हो । दुई चार करोड, अर्ब रुपैयाँ तलमाथि हुनु स्वाभाविकै हो । तर यसैलाई आधार मानेर बजारमा पैसा होल्ड भयो, लुकाइयो भन्न मिल्दैन,’ प्रवक्ता भट्टले भने । बरु पछिल्लो समय बजारमा तरलता सहज हुँदै गएको अवस्थामा धमाधम पैसा बैंकमा फर्किरहेको बुझिने उनको भनाइ छ । 

‘पैसा हरायो कि हराएन, लुकाइयो कि लुकाइएन ? यो अर्को पाटो हो तर हामीले हेर्ने भनेको बजारमा तरलता सहज छ कि छैन भन्ने हो । वित्तीय बजारका तीन चारवटा सूचकले क्रमशः तरलता सहज हुँदै गएको पाउँछौँ । ठूलो परिमाणले घटेको अन्तरबैंक ब्याजदर, बैंकहरूको कर्जा सापटीको दर र सीडी रेसियोले यो देखाउँछ,’ प्रवक्ता भट्टले रातोपाटीसँग भने । 

उसो त पछिल्लो पटक ८.५ प्रतिशत पुगेको अन्तरबैंक ब्याजदर घटेर अहिले ७ प्रतिशतमा झरेको छ । यस्तै बैंकहरूले केन्द्रीय बैंकसँग लिने कर्जा सापटी एसएलएफ, एसएलआर दुवै घटेको अवस्था छ । दैनिक÷ओभरड्राफ्ट÷ओभरनाइट सुविधा घटेर १८–२० अर्बमा झरेको छ भने बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पुस मसान्तसम्ममा ८६.५३ प्रतिशत कायम भएको छ । 

दुई महिनाअघिसम्ममा ९० प्रतिशत माथि पुगिसकेको सीडी रेसियो ८६ प्रतिशत कायम हुनुले बजारमा तरलता निकै सहज अवस्थामा छ भन्ने देखाउने प्रवक्ता भट्टको भनाइ छ । तर केही असहज वातावरणका बीच पछिल्लो समय बैंकहरूले कर्जा लगानीमा सजगता अपनाउँदा आम उपभोक्ता ऋणीहरूले पनि ब्याजदर घट्ने आशामा ‘वेट एन्ड सी’को अवस्थामा बसिदिँदा बैंकमा तरलता थुप्रिन पुगेको उनको भनाइ छ । केन्द्रीय बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थामा ७ अर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ । 

नोटबन्दीको हल्ला निराधार
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले सिस्टम बाहिर ठूलो परिमाणमा पैसा लुकाइएको हुनसक्ने आशङ्का व्यक्त गर्दै ‘ककसले सिरानीमुनि पैसा लुकाइराखेका छन्, खोज्न आवश्यक छ’ भन्ने अभिव्यक्ति दिएसँगै यसको सर्वत्र चर्चा भएको थियो । खासगरी नेता तथा व्यापारीहरूले नै पैसा लुकाउँदा बजारमा तरलता अभावको सिर्जन भएको अनुमान थियो । बैङ्किङ च्यानलबाट पैसा बाहिरिने तर फिर्ता नहुँदै गर्दा बैंकहरूलाई तरलता व्यवस्थापनमा निकै सकस परेको थियो । 

तर विस्तारै वातावरण सहज बन्दै जाँदासमेत बढेको ब्याजदर नघटेपछि सोही भाष्यलाई उचाल्दै व्यवसायीहरूले अहिले नोटबन्दी (नोट अपचलन) सम्मको मुद्दा उठाउन थालेका छन् । ठूलो परिणाममा पैसाको अपचलन भएको निष्कर्ष निकाल्दै व्यवसायीहरूले पुराना रु. ५०० र रु. १००० दरका नोटको चल्ती बन्द (नोटबन्दी) गरी नयाँ जारी गर्नुपर्नेसम्मको माग राखेका छन् । बुधबार जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घले राष्ट्र बैंकलाई उद्धृत गर्दै ५०० र १००० दरका नोटबन्दी गर्न सरकारसँग माग गरेको छ । यस्तै माग केहीसमय यता धेरै सङ्घ संस्थाहरूले राखेका छन् । आर्थिक समस्याको समाधानको पहिलो उपाय नोटबन्दी हुन सक्ने उनीहरूको विचार छ । 

तर यो कति सम्भव ?
राष्ट्र बैंकका प्रवक्ता समेत रहेका निर्देशक डा. गुणाकर भट्ट नोटबन्दीको हल्ला निराधार भएको तर्क गर्छन् । ‘अहिलेको आवश्यकता नोटबन्दी होइन, वातावरण सहजताको हो । आर्थिक असहजताको आन्तरिक तथा बाह्य कारण त्यसको न्यूनीकरणको हो । तर हामी आफूआफूभित्रै रुमल्लिरहेका छौँ । यसबाट बाहिर निस्कनुपर्छ’ प्रवक्ता भट्टले भने, ‘पैसा हराएको छैन, नोटबन्दी आवश्यक छैन । नोटबन्दीको हल्ला निराधार हो ।’  यद्यपि सरकारले चाह्यो भने आवश्यकता हेरी नोटबन्दी गर्न सकिने उनले रातोपाटीसँग बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप