बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
विश्व अटिजम सचेतना दिवस

होसियार ! साना बाबुनानी समयमै बोलेनन् भने हुन सक्छ अटिजम

आइतबार, १९ चैत २०७९, १४ : ५०
आइतबार, १९ चैत २०७९

काठमाडौं । नेपालमा अटिजमका बिरामीको पहिचान दर विगतको तुलनामा बढेको चिकित्सकहरूले बताएका छन् । कन्तिबाल अस्पतालको बालमनोरोग विभागमा मात्रै उपचार गराउन आउनेमध्ये ४० देखि ५० प्रतिशत बालमनोरोगी हुने अस्पतालका बालबालिका तथा किशोर किशोरी मनोचिकित्सक डाक्टर उत्कर्ष कार्की बताउँछन् ।

उपचारका लागि अस्पतालमा पुग्ने मनोरोगीको संख्या बढेसँगै अटिजमका बिरामीको पहिचान दर पनि बढ्न थालेको उनले बताए । सय जना बाल मनोरोगीमध्ये ६/८ जना अटिजमसम्बन्धी समस्या भएका बालबालिका उपचारका लागि ल्याउने गरेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘विगतको तुलनामा पछिल्लो समय चेतना विकास र परीक्षण गराउने दर केही बढेकाले अटिजमका बढेजस्तो देखिएको छ ।’

बालबालिकाको विकाससम्बन्धी समस्या हुुनुलाई अटिजम भनिन्छ । विकाससम्बन्धी समस्या हुँदा सामाजिक अन्तरक्रिया गर्न गाह्रो हुन्छ । डा.कार्कीका अनुसार एक वर्षदेखि तीन वर्षसम्म पहिचान गर्न सकिन्छ । यस अवधिमा पहिचान गरिएमा उनीहरूको बानी व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ ।

विभिन्न अध्ययनका अनुसार ५४ जना बच्चामध्ये १ जनामा अटिजम हुने गर्छ  । नेपाल कति अटिजमका बिरामी छन् भनेर यकिन आँकडा छैन । यद्यपि नेपालमा तीन लाख बालबालिकामा अटिजम भएको आकलन गरिएको उनले बताए । 

पहिचान गर्न ढिलाइ

नेपालमा अटिजमका रोगीको संख्या बढे पनि ढिला गरी पहिचान हुने डा.कार्की बताउँछन् । समुदायमा कुनै बालबालिका बोल्नुपर्ने उमेरमा पनि बोलेन भने कुनै बालबालिका ढिला बोल्छन् भन्ने बुझाइका कारण अटिजमको पहिचान ढिला हुने गरेको उनी सुनाउँछन् ।

‘धेरैजसो अभिभावकले बालबालिकालाई ढिलो बोल्यो भनेर अस्पताल ल्याउने गर्नु हुन्छ । जाँच गर्दा ती बालबालिकालाई अटिजम भएको प्रमाणित हुन्छ,’ उनले भने, ‘गाउँघरतिर कोही केटाकेटी ढिला बोल्छन् भनेर सल्लाह दिने चलन छ, अझै केटीभन्दा केटा ढिला बोल्छन् समेत भनिन्छ । यद्यपि त्यस्तो हुँदैन । त्यस्तो समस्या देखिएमा तत्काल अस्पताल लैजानुपर्छ ।’

Capture

बालबालिकालाई अभिभावकले उमेर पुगेको धेरै पछिसम्म पनि बोल्न नसकेको भनेर अस्पताल पु¥याउँदा ती बालबालिकाको सामाजिक विकासमा पनि ढिलाइ हुने उनको भनाइ छ ।

मानिसको अनुहारमा हेरेर नहास्ने, यताउती मान्छे हिँड्दा नजर उतैतिर नलैजाने, आँखामा आँखा जुधाउन नसक्ने, औँलाले पोइन्ट गर्न नसक्ने, एक वर्षको हुँदा बडी ल्याङ्ग्वेज प्रयोग गरेर मन परेको कुराहरु औंलाले देखाउन तथा बाइबाइ गर्ने, परिवारका ठूला मान्छेले गरेको कार्यहरू दो¥याउने जस्ता कार्य नगरेका बालबालिका अरुसँग घुलमिल हुन नसक्ने र त्यस्तो अवस्थामा अटिजम हो कि भनेर शंका गरेर बेलैमा अस्पताल लैजानुपर्र्ने उनले बताए ।

यस्तै अटिजम भएका बालबालिकाहरु एउटै खालको खेल खेल्ने गर्दछन् भने बोल्दा पनि एउटै खालका कुरा गर्दछन् । उनका अनुसार सानो आवाज सुन्न गाह्रो हुने वा सामान्य आवाज मतलब नै नगर्ने, प्रेसर कुकर तथा मिक्सचरको आवाज सुन्दा कान बन्द गर्ने, दैनिक कार्यगर्दा आउने आवाजहरूले उनीहरूलाई गाह्रो बनाउने गर्छ । अटिजम भएका बालबालिकालाई खेल्न, बोल्नमात्रै नभएर खानपानमा पनि समस्या हुने उनले बताए ।

कुनै बालबालिकाले बिस्कुट, चिप्सहरू मज्जाले खाने तर गिलो खानेकुरा नखाने गर्छन् भने त्यसको विपरीत अटिजम भएका केही बालबालिकाले गिलो खाने कुरा खाने तर दरो खाने कुरा नखाने पनि गर्छन् ।

यस्तै, कसैलाई शरीरलाई छुने कपडा मन पर्दैन भने कसैलाई उलन मात्रै मन पर्ने हुन्छ । खुट्टाको औंलाले टेकेर हिँड्ने, नयाँ वातावरणमा घुलमिल हुन गाह्रो हुने जस्ता लक्षणहरू पनि देखापर्ने डा.कार्कीले बताए । अटिजम भएका बालबालिकाको लक्षण उमेर अनुसार परिवर्तन हुँदै जाने उनको भनाइ छ ।

अटिमजको लक्षण सानो उमेरको तुलनामा क्रमशः हराएर जाने भएकाले स्कुल जाने समय भएका बालबालिकामा कम हुने उनले बताए । तर ठुलो हुँदा पनि उनीहरूले सानामा जस्तै साथीहरू बनाउन नसक्ने, थप अन्य मानसिक समस्याहरू देखिने, उदासिनता बढ्ने र सामाजिक अन्तरक्रिया गर्न निरन्तर समस्या भइरहने उनको भनाइ छ ।

बालबालिकामा यस्ता लक्षण देखिएमा समस्या हुन सक्छ–

–६ महिना हुँदासम्म बच्चा नहास्ने

–अनुहारमा नहेर्ने

–एक वर्ष उमेरका बालबालिकाले बा–बा नभन्ने वा हातको इसाराले बाइबाइ नभन्ने ।

–१८ महिनासम्म एउटा शब्द उच्चारण गर्न नसक्ने । जस्तैः आमा बाबा

–२४ महिनाको अवधिमा दुई वटा शब्द जोडिएका वाक्य बोल्न सकेनन् । जस्तैः ‘आमा खाना’ भन्न सकेनन् भने शंका गर्नुपर्छ ।

–१८ देखि २४ महिनासम्म सामान्य विकास भएको हुन्छ । भाषा र सामाजिक विकासमा सिकेका कुरा फेरि विकास नहुने, हराएर जाने लक्षण भएमा तत्काल अस्पताल लैजान उनको सुझाव छ ।

किन हुन्छ अटिजम ?

डा. कार्कीले बालबालिकाको विकाससम्बन्धी समस्या एउटै कारणले नभई धेरै कारणले देखा पर्ने बताए । अटिमज हुनुमा जैविक अर्थात् वंशाणुगत कारण पनि हुने उनको भनाइ छ ।

वंशाणुगत छारे रोगको समस्या पनि हुन सक्ने उनले बताए । यद्यपि गर्भावस्थामा आमाले छारे रोग लगायतका औषधि चिकित्सकको सल्लाहमा सेवन नगरेमा बच्चालाई समस्या हुन सक्ने डा. कार्की बताउँछन् । 

गर्भवती अवस्थामा मधुमेह भएमा, बच्चा महिना पुग्नुभन्दा अघि जन्मिएमा, बच्चा कम तौलको जन्मिएमा, बालबालिकालाई रुबेला रोग सङ्क्रमण भएमा अटिजम हुने सम्भावना हुने डा. कार्कीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप