मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसी सहकारी घोटाला प्रकरण : अध्यक्ष शर्मासहित ८ जनाविरूद्ध मुद्दा दायर

६ देखि ८ वर्षसम्म कैद सजाय र ५० करोड ६८ लाख बिगो मागदाबी
मङ्गलबार, २१ चैत २०७९, २१ : २९
मङ्गलबार, २१ चैत २०७९

विराटनगर । बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गर्ने विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकविरुद्ध ठगी मुद्दा दायर भएको छ ।

सहकारी ऐन विपरीत बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा मंगलबार मुद्दा दायर गरेको हो ।

फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष  शर्मा, सञ्चालक समितिका सदस्यहरु बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई,  छविलाल विश्वकर्मा, पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर भएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका लेखा परीक्षण गर्ने सीए शितल चन्दलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाउने निर्णय गरेको छ । उनले गरेको कामकारवाही विधिसंगत देखिएपछि चन्दको हकमा मुद्दा नचलाउने निर्णय गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरी शर्मा काफ्लेले जानकारी दिए ।

बुधबारदेखि प्रतिवादीहरुको बयान सुरु हुनेछ । बयान सकिए सोहीदिन थुनछेक बहस हुनेछ । बहसपछि अदालतले आदेश गर्नेछ ।

सहकारीका अध्यक्ष शर्मासहित सञ्चालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसमध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७२८  रुपैयाँ ठगी गरेको देखिएको छ ।

अध्यक्ष शर्माले १६ करोड  ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको श्रेस्तामै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।

उनीहरुलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम बिगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरुलाई र बिगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई बिगो बमोजिम जरिवाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता काफ्लेले जानकारी दिए ।

सहकारीका सञ्चालकहरुले ३ हजार ६३ जना सर्वसाधारणको निक्षेप एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । तुलसीको चार वटा शाखा छ । विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीमा विराटनगरका १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८६२ रुपैयाँ निक्षेप जम्मा गरेका छन् ।  

हालसम्म मोरङका बचतकर्ताले मात्र उजुरी दिएका छन् । झापा, सिरहा र गाइघाट शाखा अन्तर्गतका बचतकर्ताको उजुरी आउन बाँकी छ । बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत भएको देखिएको प्रहरीले जनाएको छ ।

संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी जाहेरवालाहरूले आफ्नो तथा बालबच्चा सहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा ठुलो रकम बचत गरेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप