शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘साना तथा मझौला उद्यम प्रवर्द्धनमा नेतृत्वदायी भूमिका खेल्नेछु’

मेरा ३ वटा एजेन्डा छन्, यिनै एजेन्डा पूरा गर्नेछु : रामचन्द्र संघई
शुक्रबार, २४ चैत २०७९, १० : २९
शुक्रबार, २४ चैत २०७९

यही चैत २९ गते नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुँदैछ । महासंघको भावी अध्यक्षका रूपमा तय गरिएको वरिष्ठ उपाध्यक्ष पदका लागि अन्जान श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ गरी कुल ३ जना चुनावी दौडमा छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघईसँग चुनावी एजेण्डा लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, रामचन्द्र संघईसँग गरेको कुराकानीको सम्पादित अंशः–

वरिष्ठ उपाध्यक्षका अन्य प्रत्यासीभन्दा ढिला गरी प्यानल घोषणा गर्नुभयो । यसबिचमा टिम निर्माणमा व्यस्त हुनुभयो ?

औपचारिक प्यानल सार्वजनिक गर्न ढिला भए पनि प्यानल घोषणा त सबैभन्दा पहिले मैले नै गरेको हो । टिम निर्माणको ‘होमवर्क’मा केही समय पक्कै लागेको हो, यसलाई स्वीकार्नै पर्छ । यसबिचमा सबै साथीहरुसँग छलफलको क्रमलाई तीव्रता दिएर अघि बढेको थियौं । म त २० वर्षदेखि महासंघमा निरन्तर लागेको छु । सबैसँग राम्रै सम्बन्ध छ । टिम निर्माण गर्ने भन्ने कुरा त त्यति सहज छैन नि । तर, सबैभन्दा छिटो उम्मेदवारी दर्ता र सबैभन्दा पहिला अनौपचारिक टिम घोषणा मैले नै गरेको हो । 

आफ्नो प्यानलबाट चुनाव लड्ने उपाध्यक्षहरूको सूची दर्ता नै गरिसक्नुभयो ? सदस्यहरू पनि तय भइसकेका हुन् ?

सदस्यमा पनि पूरै प्यानल बनाउने भन्ने कुरा त्यति उपयुक्त देखिँदैन । जसले जिते पनि भोलि त मिलेरै काम गर्ने हो । उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघलाई थप सशक्त र मजबुत बनाउनु पनि छ । सबैको भावना समेटनु पनि पर्छ । त्यसैले सदस्यमा केही साथीहरुलाई समेटे पनि पूरै प्यानल बनाउने मेरो सोच छैन । सक्षम साथीहरुले जितुन् र महासंघ बलियो होस् भन्ने मेरो मनसाय छ । यही कारण, केन्द्रीय सदस्यहरुमा पूर्ण प्यानल निर्माण गरिएको छैन ।

यसअघि अर्कै प्यानलबाट खुलेका उम्मेदवार एकाएक तपाईको प्यानलमा आउनुभयो । यसको ‘बिहाइन्ड द सिन’ के हो ?

त्यो त ‘ओपन सेक्रेट’ छ नि । जित्ने टिमप्रतिको आकर्षण हो यो । मेरो प्यानलले चुनाव जित्ने निश्चित छ । तपाईले भन्नु भएको ज्योत्सनाजी मेरो प्यानलमा एशोसियटतर्फको उपाध्यक्ष बन्नुको कारण पनि यही नै हो । उहाँ पहिले अर्कै टिमबाट उठ्ने कि भन्ने कुरा आएको थियो । तर ती सबै हल्लामात्र थिए । जुन बेला निर्णय गर्ने अन्तिम क्षण थियो, उहाँले मेरो प्यालनमा आउने र यही प्यानलबाट चुनाव लड्ने निर्णय लिनुभएको हो । मेरो प्यालन बलियो टिम हुनुबाहेक यसमा अन्य केही तथ्य छैन ।

आसन्न निर्वाचनमा बैंकविरुद्धको आन्दोलनको प्रभाव राम्रै पर्ने देखिएको छ नि, हैन ?

त्यस्तो त म देख्दिनँ । बैंक पनि सरकारको नीति नियममा चल्ने निकाय हो । मनलागी गर्ने छुट कसैलाई पनि हुँदैन । तरलताको समस्या र उच्च व्याजदरको जुन कुरा छ, त्यो त समझदारीमा टुंगोमा पुग्ने बिषय हो । ब्याजदर घटाउने विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले समेत सरोकारवाला निकायबिच छलफल थालिसक्नु भएको छ । घटाउन निर्देशन दिइसकेको अवस्था छ । राष्ट्र बैंकले पनि राजनीतिक फाइदा, बेफाइदाको विषय बनाएर बैंकविरुद्ध भइरहेको आन्दोलनलाई राम्रो मानेको छैन । यसलाई राजनीतिक विषय बनाउनु त समग्र अर्थतन्त्रलाई नै घाटाको विषय हो । यो कुरा सबै उद्योगी व्यवसायी साथीहरुले बुझ्नुभएकै छ । यही कारण, बैंक ब्याजदरविरुद्धको आन्दोलनले आगामी निर्वाचनमा ठूलो प्रभाव राख्दैन ।

वरिष्ठ उपाध्यक्षमा आकांक्षा देखाएकामध्ये ३ जनाले उम्मेदवारी दिनुभएको छ । सहमतिका लागि केही प्रयास भयो ?

महासंघको वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष चन्द्र ढकालज्यूले त्यसको पहल त गर्नुभएको छ । तर त्यसले अहिलेसम्म सार्थकता पाएको भने छैन । तै पनि समय त छ नि ! अर्थतन्त्र र समग्र उद्योगी व्यवसायी समस्यामा परेको बेला सर्वसम्मत नेतृत्व चयन हुन सक्दा त सुनमा सुगन्ध भनेझै हुन्छ । 

महासंघलाई सबै उद्यमी व्यवसायीहरुको गैरराजनीतिक साझा राष्ट्रिय संस्थाका रूपमा विकसित गर्ने उद्देश्यले अध्यक्षको प्रत्यक्ष निर्वाचन नगर्ने र अघिल्लो कार्यकालमा निर्वाचित वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्षमा पदोन्नति हुने वैधानिक पद्धति हामीले बसालेका छौं । यो पद्धतिलाई संस्थागत र दिगो बनाउने र क्रमशः वरिष्ठ उपाध्यक्ष लगायतका पदमा पनि सर्वसम्मतिको अभ्यासलाई विस्तार गर्दै लैजानु उपयुक्त हुन्छ भन्ने मैले महसुस गरेको छु ।

निर्वाचन नै भएको खण्डमा पनि त्यसलाई स्वस्थ र मित्रवत प्रतिस्पर्धाका आधारमा अघि बढाउनु पर्छ भन्ने मेरो मान्यता छ । 

महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिँदैगर्दा तपाईका एजेन्डा के–के छन् ?

मेरा स्पष्ट तीन वटा एजेण्डा छन् । त्यसलाई समेटेर मैले प्रतिवद्धता पत्रसमेत सार्वजनिक गरिसकेको छु । पहिलो, संगठनात्मक सुधार र समन्वय हो । दोस्रो, सरकारसँग उद्योगी व्यवसायीका समस्या समाधानको पहल । तेस्रो, आर्थिक विकास र अर्थतन्त्र सुधार नै मेरा मुख्य एजेन्डा हुन् । यिनै एजेण्डामा केन्द्रित रहेर भिजन पेपर सन् २०३० को प्रतिवद्धता पूरा गर्ने मेरो लक्ष्य छ । नेपाल उद्योग वाणिज्य महासंघको साख अझै उचो बनाउने, जिल्लानगर उद्योग वाणिज्य संघहरूलाई सक्षम र सबलीकरण गर्ने, नेपालमा उद्योगमैत्री वातावरण निर्माण लगायतका एजेन्डा समेत छन् । 

यस्तै, व्यवसायीका हकहितका विषयवस्तु, नीति निर्माणमा गरिने पैरवी, नेपालमा उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण, वैदेशिक लगानी भित्र्याउने वातावरणको निर्माणजस्ता विषयहरु नै मेरो प्राथमिकताका विषय रहने छन् ।

वरिष्ठ उपाध्यक्ष निर्वाचित भएपछि महासंघमा कसरी काम गर्नुहुनेछ ? भावी अध्यक्षकारुपमा तपाई नै किन ?

म निर्वाचित भएको अवस्थामा सबैलाई समेटेर, सबैको भावना बुझेर काम गर्छु । म उद्यम व्यवसायलाई नै आफ्नो लक्ष्य र उद्देश्य राख्ने, यही क्षेत्रको उन्नति प्रगतिमा रमाउने, उद्योगी व्यवसायीका समस्या राम्रोसँग बुझ्न र महशुस गर्न सक्ने व्यक्ति हुँ । म अहिले त्रिवेणी ग्रुप अन्तर्गत उत्पादनमुलक, सेवामुलक र कृषिजन्य दर्जनौं उद्योग सञ्चालन गरिरहेको छु । करिव १८ हजार श्रमिक परिवार यी सबै उद्योगहरुमा आवद्ध छन् । मुलुकको कुल जीडीपीको अढाईदेखि तीन प्रतिशतको प्रत्यक्ष÷अप्रत्यक्ष योगदान त्रिवेणी ग्रुपको छ । साना तथा मझौला उद्यम व्यवसायमा पनि म संलग्न छु । साना तथा मझौला उद्यमी व्यवसायी साथीहरुले भोग्नु परिरहेका समस्याबारे म पूर्ण जानकार छु । म विगत २० वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा निरन्तर क्रियाशील छु ।

पूर्व अध्यक्ष रविभक्त श्रेष्ठको पालादेखि म महासंघमा काम गरिरहेको छु । साथीहरुले नै निर्वाचित गरेर पठाएको एशोसिएटतर्फको उपाध्यक्षका रूपमा तथा रोजगारदाता परिषद्को सभापतिका रूपमा मैले शेखर गोल्छा नेतृत्वको कार्यसमितिमा अहिले काम गरिरहेको छु । त्यसैले उद्योगी व्यवसायीका समस्या के छन्, त्यसको समाधान कसरी गर्ने भन्ने बिषयमा म पूर्ण जानकार छु । 

व्यवसायीको हकहितका पक्षमा निरन्तर लाग्ने छु । रोजगारी सिर्जना, उत्पादन वृद्धिलाई प्राथमिकता दिने छु । सरकारसमक्ष उद्यमी व्यवसायीका समस्या समाधानमा पहल गर्ने छु ।

आउँदो निर्वाचनमा तपाईले जित्ने आधार के–के हुन् ?

महासंघमा मेरो निरन्तरको लगाब, उद्यमी व्यवसायीको सद्भाव एवं समर्थन र इमानदारिता नै मेरो जितका आधार हुन् । यसबाहेक मैले जित्ने मूख्य आधार भनेको मेरो टिम हो ।

अध्यक्ष निर्वाचित बनेपछि तपाईले गर्ने कामका लागि को–कोसँग सहकार्य गर्नुहुन्छ ?

महासंघका अग्रज तथा पूर्वअध्यक्षज्यूहरु सबैको अनुभव सल्लाह र सुझाव लिएर म अघि बढ्ने छु । सबै उद्यमी व्यवसायीहरुले अपनत्व महसुस गर्ने गरी सबैसँग समन्वय र सहकार्य गरेर काम गर्नेछु ।

अन्त्यमा, उम्मेदवारी घोषणाका क्रममा साना तथा मझौला उद्योग व्यवसाय प्रवर्द्धनमा जोड दिने बताउनुभएको थियो । कसरी गर्नुहुन्छ ?

हो, साना तथा मझौला उद्योगी व्यवसायीहरुले भोग्नु परेका समस्या मैले राम्रैसँग बुझेको र महसुस गरेको छु । उद्यमशीलताको विकास र विस्तारमा साना तथा मझौला उद्यमी व्यवसायीको योगदान अतुलनीय छ । तर उहाँहरुका स–साना समस्यासमेत समाधान हुन नसक्दा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आइरहेका छन् । जोखिम मोलेर उद्यम गर्न चाहनेहरुलाई प्रोत्साहन मिल्न सकेको देखिँदैन । साना तथा मझौला उद्योग व्यवसाय प्रबर्द्धनका लागि छुट्टै कानुन आवश्यक छ । यसका लागि पहल गर्नेछु ।

महासंघकै पहलमा सरकारले स्टार्टअप व्यवसायलाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म ऋण दिन ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’ स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको छ । स्टार्टअपले सहुलियतपूर्ण ब्याजमा र बिना धितो कर्जा पाउने बाटो खुलेको छ । अब सरकारले तोकेको मापदण्डमा परेका स्टार्टअपले अधिकतम ७ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयासम्म बिना धितो कर्जा पाउनेछन् । यसले उद्यमशीलता विकासमा थोरै भए पनि टेवा पुग्ने विश्वास मैले लिएको छु । यसको सफल कार्यान्वयनका लागि सरकारलाई निरन्तर घच्घच्याउने काम गर्नेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप