आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
भूकम्प

वंशावलीदेखि शिलालेख र सुवर्णपत्रमा भूकम्प

मङ्गलबार, १२ वैशाख २०८०, १३ : ५७
मङ्गलबार, १२ वैशाख २०८०

हामीसँग तीनवटा भूकम्पको गहिरो स्मरण छ– वि.सं. १९९०, २०४५ र २०७२ को भूकम्पको । संयोग यस्तो छ– यी तिनै भूकम्पपछि देश र जनता जागेको र ठूला परिवर्तन (प्रजातन्त्र, बहुदल र संविधान जारी) भएको देखिन्छ ।

यो संयोगसँग मानव मनोविज्ञानमा आउने परिवर्तन मिल्न जान्छ । अकस्मात्को विपत्ले तत्काल मानिस स्तब्ध भए पनि क्रमशः भावनात्मक र बौद्धिक रूपमा ऊर्जावान् हुन थाल्छन् । शोकलाई शक्तिमा बदलेरै मानिसले जीवनको सौन्दर्यमा रङ भर्दै आएको छ । र, विविध विपत्बाट जोगिनकै लागि मानिस सभ्यतातर्फ उन्मुख हुँदै आएको देखिन्छ । 

विपत्पछि शासकले सोच्न थाल्छन्– प्राकृतिक र राजनीतिक विपत्हरू आइलाग्न सक्छन्, ती विपत्सँग जुध्न हामी तयार अवस्थामा रहनुपर्छ, विपतसँग मुकाबिला गर्न सबै नागरिक बलियो हुनुपर्छ । यस्तै, विपत्पछि आममान्छेलाई लाग्न थाल्छ– प्राकृतिक घटनाले सानो–ठूलो भन्दैन, आखिर अन्याय किन ? अत्याचार किन ? राजनीतिक घटनामा भने मानिसले आफ्नो बौद्धिक क्षमता अनुरूप प्रतिक्रिया जनाउन थाल्छन् ।

१९९० को भूकम्पपछि राणाशासकले विकास–निर्माण गर्ने र जनतालाई केही अधिकार दिनेतर्फ सोच्न थालेका थिए । यद्यपि, २००७ सालको परिवर्तनको पछाडि विश्व परिवेश पनि प्रमुख कारक थियो । अर्थात् भर्खरै भएको दोस्रो विश्वयुद्ध पनि एक खालको विपत् नै थियो ।   

लामो समय दलहरूले संघर्ष गरे, तर २०४५ सालको भूकम्पपछि (०४६ मा आएर) बहुदल आयो । जनयुद्ध, जनआन्दोलन हुँदै दुईपटक संविधानसभाको निर्वाचन हुँदा पनि संविधान बन्न सकेको थिएन, भूकम्पपछि तातिएका दलहरू एउटा निष्कर्षमा पुगे । 

नेपालमा भूकम्प

भूकम्पको इतिहास खोतल्दा– शासकका दरबार, शासकले बनाएका देउताका मन्दिर, सम्पदा आदि भत्केको चर्चा बढी पाइन्छ । 

विश्वमा भूकम्पका सम्बन्धमा थुप्रै लिखित वा अलिखित इतिहास भेटिन्छन् । सन् १५५६ जनवरी २३ मा चीनको साङ्क्षी क्षेत्रमा गएको भूकम्पबाट आठ लाख ३० हजार मानिसले ज्यान गुमाएको भनिन्छ, विवरण पाइए अनुसार सबैभन्दा बढी मानिसले ज्यान गुमाएको भूकम्प यही हो । 

भूकम्पसम्बन्धी नेपाली इतिहास खोतल्दा– लिच्छविकालीन अभिलेखले नेपालका धेरै विषयमा प्रकाश पार्छन् तर त्यस बेलाका भूकम्प थाहा हुँदैन । यद्यपि लिच्छविकालमा शिलालेख पाइन्छन्, त्यसबेला बनेका ढुंगाका मूर्ति पाइन्छन् तर मन्दिर र भवन पाइँदैनन् । मानगृह, कैलाशकूट, भद्राधिवासजस्ता दरबारको उल्लेख शिलालेखमा पाइने तर तिनको अस्तित्व नदेखिनाले त्यतिबेला पनि ठूला भूकम्प गएको अनुमान गर्न सकिन्छ । शिलालेखमा नभए पनि वंशावलीहरूमा निकै भूकम्पको जानकारी उल्लेख छन् ।

‘अपर्णा–४’ पुस्तकमा इतिहासकार ज्ञानमणि नेपालको ‘नेपालमा महाभूकम्प’ शीर्षकको आलेख छापिएको छ । जसअनुसार, वि.सं. १९९० को भूकम्पको स्मृतिमा जुद्धसडक भूगोलपार्कको शिलालेखमा र पाटनको शारदास्तम्भको शिलालेखमा वि.सं. १८९० भूकम्पको उल्लेख छ । 

इतिहासकार नेपालका अनुसार, १८९० को महाभूकम्प गएको २२ वर्षअघि १८६८ मा नेपालको सुदूर पश्चिमाञ्चलमा महाभूकम्प जाँदा धेरै घर, गढी, किल्ला भत्किएका थिए ।

चाँगुनारायण मन्दिरको भण्डारभित्र राजा यक्ष मल्लकी पनातिनी राय मल्लकी नातिनी देविका देवीको सुवर्णपत्र राखिएको छ, जुन अभिलेखले १६औँ शताब्दीमा गएको भूकम्पले यहाँका घर, देवताका मन्दिर भत्केको सूचित गर्छ । त्यतिबेला चाँगुनारायणको मन्दिर भत्केर बिग्रिएको थियो, त्यसको जीर्णोद्धार वि.सं. १५६४ असारमा देवकीले गराइन् भन्ने कुरा त्यस सुवर्णपत्रमा लेखिएको छ । 

रमेशजंग सिजापतिले आफ्नो पुस्तक ‘नेपालमा महाभूकम्प’मा वंशावलीमा उल्लिखित भूकम्पबारे चर्चा गरेका छन् । द गोपालराजवंशावली अनुसार, १२८० सालको पौषशुक्ल प्रतिपदाका दिन भुइँचालो गएको उल्लेख छ । यस्तै, १३१२ सालको आषाढशुक्ल तृतीया सोमबार पनि ठूलो भूकम्प गयो । १५ दिनदेखि एक महिनासम्म देश छाडी बाहिर रहनुप¥यो । अभय मल्लको राज्यमा अनेक देवल घर भत्के । अभय मल्लसमेत तीन भागमा एक भाग प्रजाको मृत्यु भयो । वि.सं. १४०१ आश्विन शुक्ल सप्तमीको दिन तीन प्रहर जाँदा ठूलो भूकम्प गयो । यसको भोलिपल्ट ग्वल (देउपाटन)मा श्रीजयारि मल्लदेवको अस्त भयो ।

१९९० सालको भूकम्प

१९९० सालको भूकम्पका सम्बन्धमा ब्रह्मशम्शेर जंगबहादुर राणाको विवरणात्मक पुस्तक ‘नेपालको महाभूकम्प (१९९० साल)’ प्रकाशित छ । 

उनले भूकम्प आउँदाको प्रसंग यसरी उल्लेख गरेका छन्, ‘१९९० माघ २ गते दिनको २ बजी २४ मिनेट २२ सेकेन्ड जाँदा अकस्मात् जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै भूकम्पको सुरु भयो । जमिन तल र माथि हुँदा धमाधम घरहरू लड्न थाले । अग्लाअग्ला बुर्जा गजुरहरू पनि खसे । धुलोले अन्धकार भयो । ८–१० हात अगाडि पनि देखिन नसक्ने भयो । सहरको धुलोले गर्दा टुँडिखेल जस्तो खुला जग्गामा पनि धुलोको कुइरीमण्डल हुन गयो । सबै मानिसहरू खुला जग्गातिर भाग्न थाले । धरारा (धरहरा) र घण्टाघर दुवै करौँतीले काटेका रुखझैँ चिराचिरा पर्न गई दुई टुक्रा भई ढले । खेत र सडकहरू चिराचिरा भई फाटिन गए । चिरा परेका ठाउँहरूबाट पानी निस्कन थाल्यो । सबै खोलानालामा बाढी आयो ।’ 

उनका अनुसार, त्यस बखत तीन सहर (काठमाडौँ, पाटन र भक्तपुर)मा करिब ९५०० सिपाही थिए । उनीहरू उद्धारमा लागे । वीरगन्जमा रहेको एक मात्र टेलिफोन लाइन टुट्न गएको थियो, त्यसैले खबर प्रवाह हुन सकेन । 

त्यतिबेला भूकम्प आएसँगै चोरीका घटना बढेका थिए । अब यस्तो हुन्छ, उस्तो हुन्छ भन्ने अन्धविश्वासका अनेक किसिमका हल्ला चल्न थाले, जनताले पत्याउँथे पनि । चोरीका घटना रोक्न जंगी उर्दी जारी गरियो । उर्दीमा उल्लेख थियो– 

माघ ५ देखि बेलुकाको ८ बजेभन्दा अघि र बिहान तोप चलेपछि मात्र घरबाहिर निस्कन पाउने । सो टायमभन्दा ढिलो वा अगाडि बाहिरा भेटाएमा कडा सजाय हुनेछ । चोरलाई मारिदिए केही बात लाग्दैन ।) पिकेट (अखडा)का सिपाहीहरूलाई शंका परेको मानिसलाई तीनपटक सोध्नू, केही जवाफ दिएन वा भाग्न लाग्यो भने पक्रने कोसिस गर्नु, सो नसके गोली पिलाई मारिदिनू । 

ब्रह्म शम्शेर लेख्छन्, ‘भूकम्पले सडकहरू चिराचिरा पर्न गए । भादगाउँ, साँखु, चापागाउँ, गोदावरीतिर मोटर चल्न नसक्ने भयो । मुख्यमुख्य पुलहरूमा थोरै मात्र नोक्सान भएकाले भादगाउँ र साँखुको सडकमा माघ ६ र ९ गतेदेखि मोटर चल्ने भयो । भीमफेदी–वीरगन्जको बाटोमा केही नोक्सान नभएकाले मोटर चल्न बन्द भएन ।’

भुइँचालो आएका बखत प्रधानमन्त्री जुद्धशमशेर सिकारका लागि फौजका साथ पश्चिम महाकालीतिर गएका थिए । त्यहाँ सिकार गरिरहेका बेला हात्तीमा सवारले भूकम्पको धक्का महसुस गरेनन् । क्याम्पमा बसेकाले अलिकति धक्का महसुस गरेपछि खबर बुझ्न थालियो । भारतको बिहारतिरबाट नराम्रा खबर आएपछि जुद्धशमशेरले माघ ९ गते कालीतटको ढकनाबाघमा मण्डप खडा गरी विधिपूर्वक १००० गाई दान गरे । 

भुइँचालो गएको २० दिनपछि (माघ २२ मा) जुद्धशमशेर काठमाडौँ आइपुगे । उनले टुँडिखेलमा भाषण गरेका थिए– 

‘भाइ हो !

बडो अफसोसको कुरा छ कि मैले कस्तो नेपाल छाडेको थिएँ, अहिले कस्तो देख्नुपर्‍यो । के लाग्यो, दैवी विपत्तिलाई सहनैपर्दो रहेछ । यत्तिकै नभए पनि यस्तै विपत्ति ठीक सय वर्ष अगाडि नेपालले भोगेको थियो । त्यस बेलामा बिग्रेको सहर, बस्तीको जीर्णोद्धार गरी फेरि जस्ताको तस्तो गराएझैँ अहिले हामी सबैले हिम्मत नहारी उत्साह बढाई भएको नोक्सान चाँडो मेट्ने उपायमा तन, मन, धन लगाउनुपर्छ ।’ 

ब्रह्मशम्शेरका अनुसार, त्यतिबेला राज्यभर भूकम्पले आठ हजार ५१९ जनाले ज्यान गुमाए । हिन्दुस्थान (बिहार)पट्टि भने सात हजार १८८ (पुरुष ३८५० र महिला ४६६९) ज्यानको मात्र नोक्सान प¥यो भनी छापामा आएको थियो । 

भूकम्प थामिएको केहीबेरमा गम्भीर घाइतेदेखि साधारण घाइतेले अस्पतालहरू भरिन थाले । ‘थोरै डाक्टर कम्पाउन्डरले भ्याउनै मुस्किल भयो । भीड ज्यादै भएकाले त्रि–चन्द्र मिलिटरी अस्पताल (जहाँ पल्टनियाँ जवानको ओखती हुन्छ) पनि दुनियाँदारहरूको निमित्त खोलाउनुपर्‍यो,’ ब्रह्मशम्शेरले लेखेका छन्, ‘गिन्ती गर्दा राज्यभरमा (प्रथम–चिकित्सा लगायत) जम्मा १६ हजार ५०० जना जतिको औषधि भयो ।’ 

प्रधानमन्त्री जुद्धशमशेरले भूकम्पपीडित सहाय ऋणका रूपमा ५० लाख रुपैयाँ दिएका थिए । उनले १९९० फागुन १८ गते ‘भूकम्प पीडितोद्धारक–फन्ड’ खोलेका थिए । यसमा कम्पनी रुपैयाँ र नोट गरी २६२०० र मो. रु. १० लाख ७५ हजार जति जम्मा भएको थियो । 

भूकम्पको खबर थाहा हुनासाथ विदेशीले सहानुभूति प्रकट गरेका थिए । भारतीय कवि रवीन्द्रनाथ ठाकुर र पं. मदनमोहन मालवीयले पनि सहानुभूतिको तार पठाएका थिए । 

भूकम्पको शिक्षा 

पृथ्वीको सतहमा चलायमान अवस्थामा रहेका प्लेटहरू आपसमा जुध्दा, एक प्लेट अर्को प्लेटभित्र घुस्दा कम्पन उत्पन्न हुन्छ, जसलाई हामी भूकम्प भन्छौँ । चलायमान प्लेटका कारण सानातिना कम्प पृथ्वीमा भइरहेकै हुन्छ । भूकम्पलाई रेक्टर स्केलमा मापन गरिन्छ, सामान्यतः ७ रेक्टरभन्दा माथिको भूकम्पलाई विनाशकारी मानिन्छ । सामान्यतः हामीकहाँ ५० देखि सय वर्षको हाराहारीमा ठूला भूकम्प आएको देखिन्छ ।

भूकम्पले प्राकृतिक संरचना र मानवीय संरचनामै असर गर्छ, फलतः मानिसको निधन हुन पुग्छ । हाम्रा घर, संरचना, भवन बलिया छन् भने भूकम्पले उत्रो असर गर्दैन ।

हामीकहाँ २०४५ सालमा ६.९ रेक्टरको भूकम्पले सात सय २१ जनाको ज्यान लिएको थियो भने ६४ हजार एक सय ७४ घर भत्केका थिए । २०७२ को भूकम्पले आठ हजार ८५६ जनाको ज्यान लिएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए । यस्तै, करिब पाँच लाख घरमा पूर्ण क्षति र तीन लाख घरमा आंशिक क्षति पुगेको थियो । 

इतिहासदेखि शासक र शासकका मान्छेहरू बस्ने वा उपभोग गर्ने संरचना सकेसम्म बलियो बनाउने अभ्यास हुँदै आयो । अहिले हामी विज्ञानको युगमा छौँ । भूकम्प प्रतिरोधात्मक संरचना के हो, प्राकृतिक विपत् (बाढी–पहिरो, हावाहुरी, महामारी आदि) के हो भन्ने सम्बन्धमा हामी जानकार छौँ । हामीकहाँ बर्खा लाग्दा गरिब जनताकै अधिकांश बस्ती वा घरमा बाढी–पहिरोले क्षति पुर्‍याएको, डुबानमा परेको, आगलागीमा परेको देखिन्छ । जहाँसुकै सडक वा अन्य संरचना बनाउने नाममा भू–संरचना बिगार्दा पनि मानवीय क्षति बढिरहेकै छन् । राज्यले भूकम्प लगायत विपत्बाट जनतालाई जोगाउन भूकम्प प्रतिरोधात्मक घर–संरचना बनाउने, स्वास्थ्य क्षेत्रमा जोड दिने लगायत योजना ल्याउन आवश्यक छ । १९९० सालदेखिका भूकम्प, प्राकृतिक विपत् र  पछिल्लो कोरोना महामारीले हामीलाई यही सिकाएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप