आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निष्क्रिय कर्जा : पहिचान र निराकरण

बुधबार, २० वैशाख २०८०, ०९ : ११
बुधबार, २० वैशाख २०८०

१. विषय प्रवेश

बैङ्क वित्तीय क्षेत्र र समग्र अर्थ बजारमा निष्क्रिय कर्जाको बारेमा चर्चा परिचर्चा हुने गरेको छ । यसै सन्दर्भमा निष्क्रिय कर्जा के हो, यस्ता कर्जा वृद्धि हुनका कारण के हुन सक्छन् ? र, त्यसको निराकरण कसरी गर्न सकिन्छ ? कर्जाहरू निष्क्रिय हुनु अगाडि के कस्ता पूर्व लक्षण र चरित्र देखा पर्छ भन्ने सन्दर्भमा यो लेख केन्द्रित छ । 

२. कर्जाको वर्गीकरण 

सामान्यतया कर्जाको ब्याज, किस्ता र साँवा भुक्तान गर्ने समय तालिकालाई कर्जाको भाखा भनिन्छ । यस्तो भाखा नाघेको अवधिको आधारमा कर्जालाई सक्रिय र निष्क्रिय वर्गमा विभाजन गरेता पनि अन्य गैरवित्तीय र गुणात्मक परिसूचक पनि आधार मानेर कर्जा सक्रिय हो वा होइन भनेर छुट्याउनु पर्ने हुन्छ । 

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार मूलतः भाखा नाघेको आधारमा मात्र कर्जाको वर्गीकरण नगरी अन्य आधार पनि साथसाथै परिपालन गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ  । भाखा नाघेको आधारलाई मात्र ख्याल गर्दा ३ महिना भन्दा कम अवधिलाई सक्रिय कर्जा र सो भन्दा बढीले भाका नाघेमा निष्क्रिय कर्जाको वर्गीकरण गरिएको छ । 

भाखा नाघेको आधारमा मात्र नभएर अन्य गैरवित्तीय र गुणात्मक परिसूचकलाई पनि कर्जा वर्गीकरणको आधारको रूपमा लिनुपर्ने हुन्छ, जुन यसअनुसार सूचीबद्ध गर्न सकिन्छ । 

क) ऋणीले अन्य वित्तीय संस्थामा उपभोग गरेको कर्जाको गुणस्तर, भुक्तानी नियमितता र सो कर्जाको वर्गीकरण ।

ख) व्यवसाय सञ्चालनको अवस्था, नाफा नोक्सान, खुद सम्पत्ति र पुँजी संरचना ।

ग) वित्तीय सूचकको अवस्था, नगद प्रवाह, मौज्दात विवरण, दायित्व भुक्तानी आदि ।

घ) ऋणी सम्पर्कमा नहुनु, बेपत्ता हुनु, कर्जा दुरुपयोग, कालो सूची, धितो सुरक्षणको अवस्था, भगिनी संस्था बीचको कारोबार, प्रोमोटरले लिएको पेस्की ।

ङ) पुनर्संरचना तथा पुनर्तालिकीकरण गरिएका कर्जाहरू ।

च) ऋण सम्झौताअनुरूप सर्त बन्देजहरू उलङ्घन भएको अवस्था ।

छ) कर्जासँग सम्बन्धित कागजात अद्यावधिक नभएको, मुद्दा मामिला परेको ।

३. निष्क्रिय कर्जाका कारक तत्त्वहरू 

निष्क्रिय कर्जाका कारक तत्त्वलाई मूलतः हामीले तीन वर्गमा विभाजन गर्न सक्छौँ, जसलाई बैङ्क तथा वित्तीय संस्था सम्बद्ध, व्यवसाय वा ऋणी सम्बद्ध  तथा बाह्य कारणहरू भन्न सकिन्छ । 

३.१ बैङ्क तथा वित्तीय संस्था सम्बद्ध कारण

पहिलो कारण केलाउँदा बैंकले ग्राहकको वित्तीय आवश्यकतालाई सही तवरबाट खुट्याउन नसक्दा, जोखिमको पहिचान गर्न नसक्दा, गलत निर्णय गर्दा निष्क्रिय कर्जा हुन्छ । 

त्यस्तै, ग्राहकको वित्तीय चरित्र, क्षमता र स्व पुँजी जुटाउने सम्भावना साथै तत्परता समेतलाई ध्यान दिएर ग्राहक छनोट गर्नुपर्ने हुन्छ, जसमा कमी कमजोरी हुन गएमा निष्क्रिय कर्जाको वृद्धि हुन जान्छ ।

व्यावसायिक योजना, प्राविधिक पक्ष, बजार विश्लेषण, कानुनी अड्चन आदिको बारेमा राम्ररी अध्ययन नभई वा गलत निष्कर्षको आधारमा लगानी भएको सन्दर्भमा कर्जाहरू निष्क्रिय हुन पुग्छन् । 

व्यवस्थापन र परामर्शदाताले व्यवसायको वित्तीय सम्भाव्यताअनुसार भविष्यमा नाफा हुने, लगानीको प्रतिफल राम्रो हुने, नगद प्रवाह ऋणको   किस्ता ब्याज तिर्न सक्ने भन्ने प्रतिवेदन तयार पार्छन् । त्यस्तो व्यवसायमा निहित जोखिम तत्त्व, अनुमानको आधारहरूको स्वतन्त्र र सूक्ष्म विश्लेषणको आवश्यकता पर्दछ । यस्ता पक्षमा कमी कमजोरी भएर गलत कर्जा निर्णय हुन गएमा कर्जा निष्क्रिय हुन पुग्दछ । 

कर्जा प्रवाह पूर्वका सम्पूर्ण क्रियाकलाप ठिक हुँदाहुँदै पनि कर्जा प्रवाहपश्चात् बैंकले गर्नुपर्ने नियमित निरीक्षण नहुनु, कर्जा दुरुपयोग भएको वा हुन सक्ने सम्भावना तुरुन्त थाहा पाउन नसक्नु र थाहा भएता पनि त्यसको तत्काल सुधारका उपाय अवलम्बन गर्न नसक्नुले पनि कर्जा निष्क्रिय हुन पुग्दछ ।

त्यस्तै, ग्राहकको आर्थिक कारोबारको अनुगमन, धितो पर्याप्तता, बैंकमा भएको खाताको कारोबारको प्रकृति, अन्य पक्षलाई भुक्तान गर्नुपर्ने दायित्वको भुक्तानी नियमित भए नभएको ख्याल नगर्दा पनि कर्जा निष्क्रिय हुन पुग्दछ ।

३.२ व्यवसायी वा ऋणी सम्बद्ध कारण 

ऋणी वा व्यवसायीसँग सम्बन्धित कारण जसलाई आन्तरिक कारण पनि भन्ने गरिन्छ, जसले गर्दा निष्क्रिय कर्जाको वृद्धि हुन पुग्दछ । 

व्यवसायको वृद्धि आक्रामक रूपले गर्नु, संस्थापक, साझेदार, व्यवस्थापन बीचमा सुमधुर सम्बन्ध नहुनु, निर्णयहरू पारदर्शी र सहभागीमूलक नहुनु, आन्तरिक द्वन्द्व सिर्जना हुनु, सुशासन कायम नगर्नु, व्यावसायिक निरन्तरता, उत्तराधिकारीको व्यवस्था नहुनु, नियम कानुनको परिपालना नहुनु आदिले पनि निष्क्रिय कर्जाको वृद्धि हुन पुग्दछ ।

साथै, व्यवसायमा वित्त अनुशासन कायम नराख्नु, सेवा तथा बस्तु उत्पादन लागत उच्च, पुँजी अपर्याप्त, अधिकतम बैङ्क कर्जाको प्रयोग तथा लामो समयको निमित्त लिएको उधारो र सोको भुक्तानीमा ढिलाइ आदिले असर गरी कर्जा निष्क्रिय हुन पुग्छ ।  

गुणस्तरीय उत्पादन तथा सेवा प्रवाह गर्न नसक्नु, पूर्वाधारमा कमी कमजोरी रहनु, अद्यावधिक प्रविधिको उपयोग गर्न नसक्नु, उत्पादनका साधनहरूको प्रभावकारी प्रयोग नहुनुले पनि कर्जा निष्क्रिय हुन्छ ।  

गुणस्तरीय सेवा तथा बस्तुको उत्पादन एक पाटो हो भने अर्को महत्त्व पाटो वितरण र बजारीकरण हो । बजार व्यवस्थापन गर्नु, उधारो व्यवस्थापन गर्नु, मूल्य व्यवस्था, वितरणको व्यवस्था लगायत आपूर्ति प्रबन्ध मिलाउन नसकेको खण्डमा सम्पूर्ण व्यवसायको वित्तीय व्यवस्था हुन सक्दैन ।

३.३ निष्क्रिय कर्जाको निमित्त बाह्य कारण 

बैङ्क तथा वित्तीय संस्था र ग्राहकको नियन्त्रण भन्दा बाहिरका तत्त्वको कारणले पनि निष्क्रिय कर्जा वृद्धि हुन पुग्दछ ।

व्यवसायको नाफा नोक्सान, नगद प्रवाह अप्रत्याशित र अनपेक्षित प्रक्षेपण हुन गई कर्जाको निष्क्रियता वृद्धि हुन पुग्दछ । 

व्यवसायमा घटबढ भइरहने र त्यसको सामना गर्न सक्ने क्षमताको तुरुन्तै विकास र तत्परता नहुँदा बिक्रीमा कमी आउने, लागतमा बढोत्तरी हुने, उत्पादनका साधन र स्रोतको मूल्य वृद्धि हुन जाने भएकोले निष्क्रिय कर्जा  बढ्न पुग्दछ । 

त्यस्तै, सरकारी नीति नियममा बारम्बार फेरबदल र अस्थिरता, आयात निर्यात नीतिमा फेरबदल, भन्सार करमा परिवर्तन भएमा पनि निष्क्रिय कर्जा   बढ्न पुग्दछ ।

प्राकृतिक रूपमा आउने विपत्ति जस्तो कि वातावरणमा हुने परिवर्तन, कोभिड जस्तो महामारीका कारणले समग्र व्यावसायिक अवस्था बिग्रिदा निष्क्रिय कर्जा  बढ्यो । 

कुनै पनि योजना तथा परियोजना पूर्वनिर्धारित समय सीमाभित्र सम्पन्न नहुनु, मूल्य वृद्धिको कारणले लागतमा बढोत्तरी हुनुले पनि समयमा व्यावसायिक उत्पादन सुरु हुन नसक्ने, आय सिर्जना हुन नसक्ने भई निष्क्रिय कर्जा  बढ्न जान्छ । 

अदालतबाट आदेश र परमादेश जारी हुने, विभिन्न मुद्दा मामिलाको सामना गर्नुपर्ने, नियामक निकायबाट निश्चित समयावधि व्यतीत नगरी लिलामी प्रक्रिया सुरु गर्न नसकिने अवस्थामा पनि निष्क्रिय कर्जा बढ्छ ।

४. अन्त्यमा 

अकस्मात् असल र सक्रिय कर्जा केही अन्तर्निहित कारण र लक्षण विनै निष्क्रियमा जाने भन्ने हुँदैन । सक्रिय कर्जा निष्क्रियमा परिवर्तन हुनु भन्दा अगाडि केही लक्षण देखिन्छ, जसलाई पूर्व चेतावनीमूलक सूचक भनिन्छ । निष्क्रिय कर्जाका कारणहरू राम्ररी र सही तवरले खुट्याउन सकेपछि त्यसको व्यवस्था, समाधानका उपाय, विभिन्न विकल्प अवलम्बन गर्न सकिन्छ । 

कर्जा असुलीको निमित्त कानुनी उपायको अवलम्बन भन्दा समझदारीको बाटो खोज्नु सर्वोत्तम उपायको रूपमा स्वीकार गर्नुपर्दछ । ऋणीबाट कुनै पनि सकारात्मक भूमिकाको पहल नहुनु, असहयोग हुनु र विकल्पको निमित्त तत्परता नभएको अवस्था आई सबै विकल्पका बाटाहरू बन्द हुँदा मात्र असुलीको कानुनी प्रक्रिया अवलम्बन गर्न बैङ्क बाध्य हुन पुग्दछ । 

लेखक बैंकर हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिप्रसाद आचार्य
हरिप्रसाद आचार्य
लेखकबाट थप